Skip to content
BikashChamling


मेरो कलम
कुनै बृद्धले टेक्दै हिडेको लौरो
ढुङ्गाहरूका कापमा फसिने
लम्की नसम्झिनु,

नयाँ नियुक्त कर्मचारी
कार्यालयभित्र छिर्नासाथ
हाकिमको अगाडि
थर थर काप्ने खुट्टा नसम्झिनु,

मेरो कलम
कुनै चोट खाएर लडिरहेको
घाउका निल डाम घोची घोची
झस्काइरहने कुख्यातहरूका
बिरोद्धमा उभिदिने
आवाज हो,

त्यसैले म
भावनामा डुबेर गुलाबको फूललाई
प्रेमिकाको ओठ लेख्न जान्दिनँ,
काडाले घोचेपछिको मुर्छानामा
चोटको गहिराइबाट चुहिने
रगतको प्रथम थोपा
कविताको शीर्षक लेख्ने छु!

सम्झिनु होस !
वायुमण्डलमा उँडी हिँड्ने आगोको झिल्का शब्द हो
घामको ओठबाट खसालेका
तातो रातो ज्वाला मसी हो
जसले षड्यन्त्र र
झुटको सन्दुक लुकाउने बास घारिमा
आगो सल्काउँछ ।
निदाउन दिँदैन चोरको मुटु
लुकी -लुकी मेरो घरको छानामा
रातभरि ढुङ्गा हानिरहन्छ,

बाटोमा भेट्दैपछि औला उज्याउँदै
मलाई देब्रे बाटो देखाउँछ
अह! कदापि हिँड्दिनँ
किन कि! म जे देख्छु
त्यही सत्य लेख्छु ।

©विकाश चाम्लिङ
२७/७/२०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *