Skip to content

आफन्त र पराईहरू


गाउँदेखि सहर,
सहरदेखि देश
देशदेखि विदेश गएर
अलिक दिन बसेपछि मात्र
आफ्नो र पराई बारे थाहा लाग्छ ।

पराईहरू हेर्दा
जति नै राम्रो भए पनि
जति नै मिलनसार भए पनि
जति नै इमान्दार भए पनि
जति नै आफ्नोपन जनाए पनि
पराई, पराई नै हो,
आफ्नो जस्तो कहाँ हुन्छ ?

आफ्नोहरूको बोली खस्रो भए पनि,
आनीबानी चाम्रो भए पनि,
बाझ्दै जुझ्दै गरे पनि
एक अर्काको अनुहारमा
हिलो छेप्ने काम गरे पनि
तँ सानो म ठुलो भनेर घमण्ड देखाए पनि
सुख, दुखमा साथ दिने,
बिहेमा जन्ती जाने,
मर्दामा मलामी जाने,
हामीलाई माथिल्लो गाउँको
हर्के, धने, र रामे नै चाहिँन्छ,
तल्लो गाउँको
जेठा, माइला र साईंला नै चाहिन्छ,
तातो, तातो चिया र आलुदम बाढ्ने
सुखमा पनि,
दुखमा पनि काम सघाउने
गाउँको चेलीबेटी नै चाहिन्छ ।
विदेशका सहरहरू
जति नै चिरिच्याट्ठ, झिरिझ्याट्ट भए पनि,
जति नै अनुशासित भए पनि,
जति नै विकसित भए पनि,
जति नै सुसज्जित भए पनि,
ती सबै उनीहरूकै लागि हुन्
हाम्रो लागि कहाँ हुन्छ ?

जति नै फोहोर मैला र दुर्गन्ध फैलिए पनि
भ्रष्टाचार र अनुशासनहीन भए पनि
मलाई मेरो सहर मन पर्छ,
उकाली ओह्राली, भत्केको गोरेटो भए पनि
विकासको मुख नदेखे पनि
मलाई मेरो गाउँ र
मेरो गाउँवासीहरू नै मन पर्छ,
किनभने, एक दिन न एक दिन
मेरो गाउँको धरतीमा
मैले पाइलो टेक्नु पर्छ,
तिर्खा लाग्दा
पँधेरोकै पानी पिएर
मैले तिर्खा मेटाउनु पर्छ,
मेरो गाउँकै धरतीमा मैले
अन्तिम श्वास फेर्नु पर्छ ।
यसोसले,
आफ्नो भन्ने आफ्नै हुन्छ,
पराई, पराई नै हुन्छ ।

बी बी ठकुरी
मिल्टन, कनाडा
रचनाकाल – 26 अगस्त 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *