Skip to content

मेरी धर्मपत्नी


जब दिनभरि काम गरेर
अनि रातमा गलेर
म घर आउछु ।
तब म सबैभन्दा पहिला
आफ्ना औलाहरू उठाएर
उनका ओठहरुलाई सुम्सुम्याउँछु
मायाले छुन्छु उङ्को दिल
अनि उनका हरेक सम्वेदनशील अङ्गहरू थिच्छु

उनी बसेकी हुन्छिन
कुनै कुनामा लुकेर
झोक्रिएर टोलाइरहेकी हुन्छिन
यादहरुमा
र मलाई नै पर्खिरहेकी हुन्छिन ।

जब नजिक आएर
झुकेर उन्लाई छुन्छु
म बारम्बार बोलाइरहन्छु
आफ्नो अनुहारमा मुस्कानहरू फिजाएर
आकाशकी जूनताराहरू जस्तै
र भीरपाखाहरुमा फुल्ने लालीगुराँसहरू झैं गरेर
तब उनी ठकमक्क बल्छिन
अनन्त प्रकाशहरू छर्छिन
अबिरल प्रेम गर्छिन
मेरो अनुपस्थितिमा उनी मर्छिन
र मेरा हरेक आगमनहरुमा उनी
आफ्नो पुनर्जीवन पाउछिन ।

कोइलीहरू झै गरेर
गीतहरू गुनगुननाउछिन
मेरी कवयत्री
मेरो कल्पना
र मेरै पर्खाइहरुमा
मेरै निमित्त कोरिएका कविता
मलाई एकछिन सुनाउछिन
अनि मेरो अनुपस्थिति
र मनस्थिति बाहिर
यो भौतिक संसारभन्दा पनि पर
मेरो घर परिवार
र यो सारा संसारभरका खबरहरू
मलाई बताउछिन
उनी असङ्ख्य ज्ञानका गुणका कुराहरू गर्छिन
अनि म सधैं विचाराधिन बन्छु
आफ्ना दुवै कान थापेर बढा ध्यान दिन दिएर
जब म सधैं
उनका ती आवाजहरू सुनिरहन्छु ।

कोरोना रोग लाग्छ भनेर
उनी मलाई घर बाहिर नजानु भन्छिन
अनि मारेर आफ्ना सारा रहरसँगै
र बिर्सिएर सबथोक
वर्षौंवर्ष उनी घरभित्र बसिरहेकी छिन

जरुर उङ्को पनि सपना थियो
रहर थियो अभिलाषा थियो
तर ती सबै महत्वकांक्षा र चाहनाहरू
हाम्रै समाजको रीतिरिवाज
र संस्कारहरुले बेकार बनाइदियो
उनी वर्षौन्देखी घरमा कुजिएकी छिन ।

आमालाई पनि माया गरेकी छिन
मलाई पनि प्यार गरेकी छिन
सारा परिवारलाई प्यार गरेकी छिन
सन्तानको हर आवश्यकताहरूको
उजागर गरेकी छिन
र वर्षौं बर्स भोक भोकै बसेर
एकथोप्पो पानी पनि नपिई
मेरै अनुहारको आयु
र उज्यालोहरुको निमित्त
वर्षौंवर्ष अन्धकारमा उपवास बसेकी छिन

उनी भूकम्प प्रतिरोधात्मक घर
बनाउन सर सल्लाह दिन्छिन
तर जब भूकम्प आउँछ
सबैभन्दा पहिले उनी चर्किन्छिन ।

उनी छोराछोरीहरुको लागि
सेनिटाइजर ग्लोब्स र पञ्जाहरू
बेचिरहेको समचार सुनेर बजार जान्छिन
र साझमा कुनै असुरक्षित पत्रकारहरू झै गरेर
कोरोना सङ्गक्रमित भएर घर फर्किन्छिन।

भक्ति प्रेम त्याग तपस्या
साधना सबै जानेकी
आस्था बिस्बास आराधना सबै गरेकी
मानवता राष्ट्रियता धार्मिक सहिस्णुसता
सबै सिकाएकी

बिहे गरेर ल्याएको
एकबर्षमै च्याउरिएर चेहरा
सिसा झै चरक्क चिरा परेकी
दिनभरि पनि काम गरेकी
रातभरि पनि काम गरेकी
एकछिन विश्राम गर्छु
अनि आराम गर्छुभन्दा पन धर छैन
तात्तिएर घाममा जलिरहेका घरका टिनहरू झै
आफै खरानी हुन लागेकी
जीवनमा जति काम गरे पनि कहिले नगलेकि
मेरी श्रीमती ।

श्रीमान र सिङ्गो वर्तमानको आवाज
बोलोरहेकी
तर, अफसोच सरकारी
विधानको कागजहरुमा मात्र स्वत्रन्त्र भएकी
खुलेयाम व्यवस्थाहरुको बिरोध गर्दा
मुखमा लगाम लागेकी
आफ्नो अधिकारबाट बञ्चित भएकी
कुनै कान्तिकारी कम्रेड जस्ती
मेरी श्रीमती ।

मेरो परिवारको हारमा रोएकी
र मेरो जित्तको निमित्त हाँसेकी
आमा कसम
ऊ बिना केबल म एक पल पनि बाँच्न सक्दिन
उनी गुञ्जिरहेकी छिन
मेरा हृदयका हरेक धड्कनहरुमा ।
मेरो मनमा
जीवनमा

म मेरी आमा अनि मेरो बुवा पछिकि
मेरो घरको चौथो अङ्ग मानिएकी

एकघन्टा समयको सट्टामा
मलाई जीवनभर मनोरञ्जन र आनन्द दिइरहने
मेरी श्रीमती
बिलकुल केही भुलहरू भएको
हुनसक्छ मेरो घर गृहस्थीबाट
तिम्रा केही भावनाहरू नबुझिएको
हुनसक्दछ सायद यो मेरो मनबाट
जीवनभर मेरो मनोरञ्जनको साधन बनेकि
मेरी श्रीमती ।

यसैले, उनी अहिले कति रोएकी होलिन
र त दुखिरहेको यो सिङ्गो देशको
बारेमा बोलिरहन्छिन
र हरेक दिन म उन्लाई सुनिरहन्छु ।

र सायद, उनका ती त्याग
र प्रेमका प्रतिविम्बहरू
सधैं अमर भएर
जिन्दगीभर मेरो आँखै अगाडि उभिरहनेछ
अनि उङ्को र मेरो यो अटुट सबन्ध
यो युगसम्म रहिरहनेछ ।

जरुर उनी मेरी जीवनसाथी
मेरी प्रेमिका
मेरी सञ्चारिका
रेडियो र टिभी हुन ।

सर्जक -सुजन बुढाथोकी
मोरङ्ग रतुवामाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *