जमिनदार मखनलाल चौधरी गाउँमा मनग्ये हरुवाचरुवा, हलीगोठाला आदि राखेर तराईको आफ्नै अलिशान हवेलीमा बस्छन् । उनीले धेरै परिवारलाई आश्रय दिनुका साथै उनीहरुको रोजीरोटीको समस्या पनि टारिदिएका छन् । भलाद्मी, दयालु र न्यायका कठोर पक्षपाती समाजसेवी चौधरी गाउँका सबैका प्रिय मुखिया मानिन्छन् । शान शौकत र सम्पतीको छेलोखेलो भएर पनि बुढेसकालमा बिदुर भएका चौधरी आफ्ना सन्तान दुईजना जवान छोराहरुसँग बसेर जिन्दगीको गाडी गुडाउँदै छन् ।

चौधरीले आश्रय दिएका मध्ये सतार कान्छोको परिवार पनि मेलापात र बनिबुतो गरेर जीवन गुजारा गर्दै चौधरीकै कोठेबारीमा एउटा झुप्रो बनाएर बसेको छ । सतार परिवारमा बुढाबुढी र दुईवटी जवान छोरीहरू छन् जो प्रायजसो चौधरीको खेतमा काम गरेर जीवन निर्वाह गर्छन् । उता जमिनदार पनि धेरै नोकरचाकर राखेर आफ्नो हवेलीमा राजसी ठाँटले बस्छन् । जमिनदार असल र राम्रो मिजासका भए पनि हरुवा-चरुवा, कामदार र गाउँलेहरुले छोटे चौधरी भनेर सम्बोधन गरिने जमिनदारका दुई छोराहरू बाबुको सम्पतीले मातिएर पढाई–गुनाई बीचमै छोडी हरबखत मोजमस्तीमै ब्यस्त हुन्छन् । छोराहरू बेइलमी र फन्टुस भएको देखेर चौधरीलाई आफ्नो सेखपछि यिनीहरुको भविष्य कस्तो हुने होला भन्ने चिन्ताले हरबखत सताइरहन्छ । होटेलमा गएर मिठो मिठो खानु, तास खेल्नु र भटभटे चढेर दिनभर बेलक्ष्य भौन्तारिनु नै चौधरीका छोराहरुको दिनचर्या हुन्छ ।

एक दिन खेतको बाटो भएर भटभटे चढेर घर फर्किदै गरेका छोटे चौधरीहरुको नजर खेतमा काम गरिरहेका सतार कान्छाका छोरीहरू धनियाँ र लक्षिमिनियामाथि पर्छ । कसैको डरभर नभएका ती बैँशालु केटाहरुले भटभटे बाटैमा रोकेर धनियाँ र देउकीलाई जिस्क्याउन थाल्छन् । गाउँका मुखियाका छोराहरुले आफूहरुलाई जिस्क्याएको देखेर केटीहरू अक्क न बक्क पर्दै डर र लाजले रातोपिरो हुन्छन् ।

एकदिन अचानक चौधरीको हवेलीमा माली र भान्से काम गर्ने कामदारहरुको जरुरत पर्छ । चौधरीले कामदार खोज्ने जिम्मा आफ्ना विस्वासपात्र सतार कान्छोलाई दिन्छन् । के खोज्छस् कानो आँखा भने झैँ कान्छोले आफ्ना जवान छोरीहरुले दिगो काम नपाएको बेलामा मालिकको हवेलीमा काम गर्ने मौका पर्दा यो अवसरलाई उम्किन नदिन यसको प्रस्ताव चौधरीसामु राख्छ र चौधरीले पनि उसको प्रस्तावलाई सजिलै स्वीकार गर्छन् । धनियाँ र लक्षिमिनिया हवेलीमा काम गर्न सुरु गर्छन् । आफ्नो हवेलीमा आफूले खेतमा जिस्क्याएका केटीहरुको उपस्थिति देखेर छोटे चौधरीहरू अक्क न बक्क पर्छन् र केटीहरू पनि उनीहरुलाई देखेर अनजान भय र शर्मले शिर निहुराउँछन् । गरीबीले थिचिएका आफ्ना मजबुरीको अर्को बिकल्प नभएपछि धनियाँ र लक्षिमिनिया छोटे चौधरीहरुको हवेलीमा कामदारको रुपमा काम गर्न वाध्य हुन्छन् ।

आजकल घुमक्कड र उरन्ठ्यौला छोटे चौधरीहरू पहिलाको जस्तो बरालिदैनन् । घरमा सिङ्को पनि नभाच्ने ती अल्लारे केटाहरू कहिले फुलबारीमा त कहिले भान्सा कोठामा गएर कामदारलाई सघाउ–पघाउ गर्ने गर्छन् । उनीहरुमा अचानक आएको बदलाव देखेर कामदार केटीहरुले उनीहरुको आफूहरुसँग हिमचिम बढाउने अभिप्राय भएको सजिलै बुज्छन् तर बाबु चौधरीलाई आफ्ना छोराहरुको व्यवहारमा आएको परिवर्तनले दंग पार्छ । आफ्ना छोराहरुको घरप्रतिको लगाव देखेर उनीहरुको भविष्यको बारेमा हरदम चिन्तित भैरहने चौधरीको मनमा खुशीको तरंग पैदा हुन थाल्छ ।

आजकाल त उनका छोराहरुले बरालिन छोडेर आफ्ना बुढा बाबुको पनि हेरचाह गर्न थालेका छन् जसले गर्दा पत्नी वियोगले बिक्षिप्त बनेका चौधरीलाई बुढेसकालमा छोराहरुको सामिप्यताले केही हदसम्म खुशी छरिदिएको छ । अर्कातिर चारैजना दौन्तरीहरुको हरदम देखादेख र भेटघाट भैरहने हुनाले छोटे चौधरीद्वय र धनियाँ–लक्षिमिनियाबीच हाँसखेल र ख्यालठट्टाको सिलसिला बढ्दै जान थालेको छ ।

माघ महिनाको चिसो दिनमा माई खोलामा बर्सेनी माघे सक्रान्ती मेला लाग्छ जुन बेला प्रायशः गाउँका तन्नेरीहरू बडो उत्सुकताका साथ मेला भर्न जान्छन् । वर्ष दिनमा आउने रमाइलो चाड मान्न धनियाँ र लक्षिमिनिया पनि रिमिक्कै परेर आफ्ना दौन्तरीहरुसँग सक्रान्ती मेलामा जान्छन् । उता छोटे चौधरीहरू पनि आ–आफ्ना भटभटेमा चढेर शानका साथ मेलामा पुग्छन् । मेलामा रोटेपिङ, नाचगान आदिमा रमाइरहेका धनियाँ–लक्षिमिनियालाई दिन ढल्न लागेको पत्तै हुँदैन र बेलुकीपख उनीहरू हस्याङ–फस्याङ गर्दै घरतिर फर्किन लाग्दा अचानक उनीहरुको जम्काभेट छोटे चौधरीहरुसँग हुन्छ । छोटे चौधरीहरुलाई देख्ने बित्तिकै ती दिदीबहिनीहरू लाजले भुतुक्कै हुन्छन् र उनीहरुसँग विमुख हुन खोज्छन् तर ती केटाहरुले केटीहरुलाई सँगै खाजासाजा खाएर उनीहरुलाई भटभटेमा घर पुर्याइदिने प्रस्ताव राख्छन् ।

पहिला त केटीहरुले उनीहरुको प्रस्तावलाई ठाडै अस्वीकार गर्छन् तर आफ्ना मालिकका छोराहरुले भनेको नमान्दा हवेलीको कामबाट हात धुनुपर्ने हो कि भन्ने डरले अन्ततः उनीहरुसँगै खाजा खाएर उनीहरुको भटभटेमा चढेर घर फिर्न राजी हुन्छन् । घर परिवारबाट टाढा र अदेख भएको अवस्थामा जवानीका उन्माद बोकेका बैंशालु तरुणतरुनीहरू भोजनालयमा बेफिक्र भै खाजा खान्छन् । भोजनालयमा छोटे चौधरीहरुले सक्रान्तिको सगुन खानुपर्छ भनी फकाई फुस्ल्याई पारेर ती केटीहरुलाई मदिरा पनि पिलाउँछन् र आफूहरू पनि पिउँछन् ।

मदिरापानले मन्द मन्द रुपमा लठ्ठिएका दुई जोडी युवकयुवतीहरू रातको अँध्यारो चिर्दै जंगलको बाटो हुँदै भटभटेमा घरतिर फर्कन्छन् । उनीहरू जंगलको बीचतिर पुगेपछि अचानक मुसलधारे पानी पर्न थाल्छ । उनीहरू भटभटेबाट उत्रिएर एउटा रुखको फेदमा ओता लाग्न पुग्छन् । फलस्वरुप मदिराको मन्द नशा र जवानीको उन्मादको तापले रापिएका छोटे चौधरीहरुले ती दिदीबहिनीलाई जबर्जस्ती बलत्कार गर्न पुग्छन् । राति मासो बीच जंगलमा भय र दर्दले चिच्याइरहेका ती बलत्कृत युवतीहरुलाई त्यहीं छोडेर छोटे चौधरीहरू कुलेलम ठोक्छन् ।

आधारातमा सुनसान जंगलभित्र चिच्याइरहेका बलत्कृत युवतीहरुको चिच्याहट केवल रुख र झाडीमा प्रतिध्वनि भएर बिलाउँछ ।

संयोगबस बिहानीपखको मिर्मिरे उज्यालोमा त्यही बाटो भएर गोरुगाडा चढी एकहुल गाउँलेहरू मेलाबाट घरतिर फर्किदै हुन्छन् अनि झाडीभित्र कोही चिच्याइरहेको सुनेर आवाज आइरहेको स्थान पहिल्याउँदै जाँदा झरीले चुटेर निथ्रुक्कै भिजेका र रगतपच्छे भएका दुईवटी युवतीहरुलाई भेट्छन् । आफ्नै गाउँमा बस्ने सतार कान्छाका छोरीहरुको यस्तो दुर्दशा देखेर तिनीहरुले उनीहरुमाथि कोही यौनपिपासुले आफ्नो हवस पुरा गरेर तिनीहरुलाई बलत्कार गरेको रहेछ भनेर सजिलै लख काट्छन् । ती गाउँलेहरुले ती विवश नारीहरुलाई उद्दार गरेर उनीहरुको घरसम्म पुर्याई सतार कान्छाको जिम्मा लगाउँछन् ।

आन्तरिक दर्द र सामाजिक त्राशले बिक्षिप्त भएका ती अवलाहरू खानपिन गर्न छोडेर हरबखत रुने र निद्रामा पनि कहालीने व्यथाले जर्जर हुन्छन् । जति केरकार गरे पनि अपराधीको नाम बताउन डराउने आफ्ना सन्तानको यस्तो दुर्दशा देखेर सतार कान्छाकान्छी भित्रभित्रै टुट्छन् । सोझो सतार कान्छोलाई लाटो रिस उठ्छ र उसले आफ्ना छोरीहरुको जिन्दगीसँग खेलवाड गर्ने नरपिसाचलाई कडा सजाय दिलाउने प्रण गर्छ । उसका शुभचिन्तक गाउँलेहरुले पनि अपराधी पत्ता लगाएर कठोर सजाय दिनुपर्छ भन्दै कान्छालाई गाउँप्रमुख मखनलाल चौधरीको अध्यक्षतामा कचहरी डाक्नुपर्ने सल्लाह दिन्छन् ।

भोलिपल्ट सम्पूर्ण गाउँलेहरू उल्टिएर कचहरीमा भेला हुन्छन् जसमा बलत्कृत केटीहरुलाई पनि उपस्थित गराइन्छ । कचहरीमा ती ब्यथित दिदीबहिनी आफ्नो झुकेको शिरलाई गम्छाले छोपेर रोइरहेका हुन्छन् । सतार कान्छो रिसले चुर भई एकोहोरो चौधरीलाई हेरिरहेको हुन्छ र गाउँलेहरू अपराधीलाई पत्ता लगाएर सजाय दिलाउनै पर्छ भन्ने अठोट बोकेर धनियाँ र लक्षिमिनियालाई एकटकले हेरिरहेका हुन्छन् ।

कचहरीमा चौधरीले बलत्कृत नारीहरुलाई पीडकको हुलिया बताउन आदेश दिन्छन् । तर ती बिक्षिप्त अवलाहरू केही नबोली पिलपिल मात्रै गरिरहन्छन् । सभामा सबै मौन हुन्छन् केवल त्यहाँ ती पीडित केटीहरुको सुँक्क सुँक्क गरेको आवाज मात्रै सुनिइरहन्छ ।

“ए छोरीहरू हो ! रोएर मात्रै अपराधी पत्ता लाग्छ? जे सत्य हो त्यो भन नत्र हामीले न्याय कसरी पाउछौं ?” आकस्मत छोरीहरुलाई घच्घचाएर सभाको मौनता चिर्दै सतार कान्छो कुर्लिन्छ ।

धनियाँ र लक्षिमिनियाका आँसु सुकेका आँखाहरुबाट क्रोधको ज्वाला निक्लिन्छ । उनीहरूलाई देखेर सबैजना बेचैन हुन्छन् ।

“हामीहरुलाई ललाई फकाई बलत्कार गर्ने अपराधीहरू यिनै हुन्,” धनियाँ आफ्नो चोर औंलोले ईशारा गर्दै भर्खरै कचहरीमा आइपुगेका छोटे चौधरीहरुलाई देखाउँदै चिच्याउन थाल्छे ।

“यी पशुहरुले हामीलाई मदिरा पिलाएर हाम्रो अस्मिता लुटे,“ लक्षिमिनिया पनि चौधरी पुत्रहरुलाई ईशारा गर्दै कुर्लिन थाल्छे ।

उनीहरूको कुरा सुनेर सभामा खासखुस चल्न थाल्छ । छोटे चौधरीहरू आफ्नो पोल खोलिएको सुनेर सभाबाट भाग्न खोज्छन् । तर गाउँलेहरुले उनीहरुको कठालो समाउँदै उनीहरुलाई सभाध्यक्ष चौधरीसामु पेश गर्छन् ।

“मालिक ! हामी निमुखालाई न्याय दिनुपर्यो,“ सतार कान्छो चौधरीको खुट्टा समाउँदै गिड्गिडाउन थाल्छ ।

सभामा सहभागी गाउँलेहरू चौधरीको फैसला सुन्न आतुर हुन्छन् । छोराहरुको कर्तुत सुनेर चौधरीलाई कुनै पहाडले थिचेको जस्तो महसुस हुन्छ अनि कसैले घाँटी थिचेर आफ्नो श्वास रोकिएको जस्तो लाग्छ । चौधरीले आफ्ना छोराहरुतिर हेर्छन् । उनीहरू आत्मग्लानिले शिर निहुराएर बसिरहेका हुन्छन् । फेरी चौधरीले गाउँलेतिर फर्केर हेर्छन् । उनीहरूको आँखामा चौधरीले आफूबाट न्यायको अपेक्षा राखिएको देख्छन् ।

असमाञ्जस्यताको भुँवरीमा रुमालिदै चौधरी कुर्सीबाट जुरुक्क उठ्छन् र आफ्ना छोराहरुमाथि कोर्राको वर्षा गर्न थाल्छन् । बाबुको कुटाईको असहनीय पीडाले छट्पटाइरहेका छोटे चौधरीहरुले “हामीबाट भूल भयो, हामीलाई माफ गर्नुहोला” भन्दै चौधरीको पाउ समाउन पुग्छन् ।

छोराहरुलाई दन्डित गरेपछि चौधरी कुर्सीमा केही क्षण आँखा बन्द गरेर थचक्क बस्छन् । गाउँलेहरुले चौधरीलाई हेर्दै अब उनीबाट कस्तो न्यायिक निर्णय आउने होला भनी खासखुस गर्न थाल्छन् । चौधरी कुर्सीबाट जुरुक्कै उठेर “हे सतार कान्छा ! मेरा नालायक छोराहरुले तेरा छोरीहरुलाई ब्याभिचार गरेछन् । उनीहरूको कुकृत्य माफी गर्न लायकको छैन । सानोठुलो जात नभनीकन अब म मेरा छोराहरुको बिहे तेरा छोरीहरुसँग गरिदिन्छु” भन्दै गाउँलेहरुलाई न्यायको निर्णय सुनाउँछन् ।

न्यायमूर्ति चौधरीको मुखबाट यस्तो असोचनीय निर्णय सुनेर धनियाँ र लक्षिमिनिया मुसुक्क मुस्काउँछन् । सतार बुढाबुढीले हर्षाश्रु बहाउँछन् र गाउँलेहरू खुशीले ताली बजाउँछन् ।

केही महिनापछि चौधरी हवेलीमा चौधरी पुत्रद्वय र सतार पुत्रीद्वयको धुमधामका साथ विवाह हुन्छ । विवाहमा कथित दलित जात र उच्च जातले रमाई रमाई सहभोज गर्छन् । गाउँमा चौधरीको प्रतिष्ठा अँझै उचो हुन्छ र आजकल न्यायका अडिग पक्षपाती र गरीबलाई सधैं सहायता गर्ने जमिनदार चौधरीलाई गाउँलेहरुले देवता समान मान्छन् ।

इति

राजेश अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *