निक्कै सुन्दर छ शहर,
निक्कै धुमधाम छ शहरमा
तर म त गाउँमा बस्छु
त्यसैले जान्न मन लाग्यो —
शहरमा एक थान जिन्दगीको मूल्य कति पर्छ हँ ?
गाउँमा त एक थान जिन्दगी
एक मुठी निउरोका सागभन्दा पनि सस्तो छ
एक पेरुँगो घोँगीभन्दा पनि मूल्यहीन छ
एक अँगालो बेतको चोयाभन्दा पनि कमसल छ
शहरमा एक थान जिन्दगीको कति पर्छ हँ ?
छैन गाउँमा विकास,
भएको एउटा बाटो त्यसै अलपत्र छ
सिँहदरबार आएको गाउँमा
एक दुई जना सिँह झैँ गजक्क परेका छन्
गाउँमा न विकास छ न योजना
न त कमिशन न मोलमोलाई
सुन्छु शहरमा त एउटै परियोजनामा
पचहत्तर करोडको खेल हुन्छ रे
हाँसी ठट्टा रमाइलोमा पनि
पानी जहाज र रेल हुन्छ रे
त्यसैले गाउँमा मानिस
एक मुठी निउरोको लागि
एक पेरुँगो घोँगीको लागि
मर्न तयार छन्
गाउँमा आउने सिटामोल शहरले खान्छ रे
गाउँमा हुने विकास परियोजना शहरले पचाउँछ रे
बडो गज्जब हुन्छ होला शहर,
सबै खान र पचाउन सक्ने
गाउँमा जीवन अकाल मर्छ
साँच्चि शहरमा जीवन कति हजार वर्ष हुन्छ हँ ?
गाउँमा त जीवन सर्पले डसेर मर्छ
खोलामा डुबेर मर्छ
बाघले घिसारेर मर्छ,
भोकले पिल्सिएर मर्छ
अभावमा झिल्सिएर मर्छ
साँच्चि शहरमा जीवन कसरी बाँच्छ हँ ?
