Skip to content

आमाजस्ती श्रीमती


धेरै कला जानेकी,
गला पनि भएकी
सहरको भाका नटिपेकी
क्रिम, पाउडर लाउनै नपर्ने
हेर्दै गोरी र राम्री देखिने
पँधेरोबाट पानी बोक्न लाज नमान्ने
घर सजाउन जानेकी,
डाडुपन्यु चलाउन सिक्दै गरेकी
जीऊ डाल सानो भए पनि
निधार ठुलो भएकी केटी
अठाह्र पुगेकी
गाउँकी केटी
मेरो जीवनसंगिनी बन्न पुगिन् ।

बिहे गर्दा त्यसबेला
पति पत्नी हुनुबाहेक
बिहेको भावनात्मक सम्बन्ध के हुन्छ
मलाई थाहा थिएन,
वैवाहिक जीवनको घाम छाँया हेर्ने
मैले प्रयास गरेकै थिइन,
बुबा मुमालाई एउटी बुहारी खाँचो थियो
उनीहरूको इच्छा पूरा गर्न
वाध्य भएर मैले बिहे गरेँ ।

बिहे गरेको
केही वर्ष पछि छोरा छोरीहरू जन्मे,
हुर्के, बढे,
आ-आफ्नो घर बसाए,
यसै क्रममा
नयाँ नयाँ इष्टमित्रहरू जोडिँदै गए,
पुरानाहरू घट्दै गए ।

आँधी-हुरीमा,
पीर, मर्कामा,
भुइँचालो र महामारीमा पनि
साथ नछुटेको,
विश्वास नटुटेको,
आँट भरोसा दिने,
मैले कमेज लाउँदा
टाँक उसले लगाइदिनु पर्ने,
बिर्सेको कुरा सम्झाउनु पर्ने,
औषधी र तातो पिरो हेर्नु पर्ने
हिजोआज उनी
आमा जस्ती भएकी छन्,
मेरो जीवनको
वैशाखी नै भएकी छन्,
यदि कुनै दिन
त्यो वैशाखी भाचिन्छ भने
साँच्चै म, अधुरो हुनेछु,
म, टुहुरो हुनेछु ।

बी बी ठकुरी
मिल्टन, कनाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *