Skip to content

महोदयज्यू, अब कहिले हो त मुन्टो हल्लाउने


ललीपप देखाउने
कहिले फकाउने कहिले फुल्याउने
महोदयज्यू
अब कहिले हो त मुन्टो हल्लाउने

कहिले छुमन्तरले
पर तल हूलमै मिसाउने
कहिले रातो दलेर
नजिक माथि समानान्तर बसाउने
कोरोना नै बिर्सेर
लामै कानेखुसी गरेर भुल्याउने
महोदयज्यू
अब कहिले हो त मुन्टो हल्लाउने

असम्भव बाटोबाट
कोहीलाई कल्पनाको टुप्पामा पुर्याउने
तुरून्तै जमिनमा पछारेर
अर्कोलाई आफ्नै पक्षमा सूर्याउने
दिन्छुझैँ गरी चखाउने
कहिले जुधाउने कहिले उल्याउने
महोदयज्यू
अब कहिले हो त मुन्टो हल्लाउने

नमान्ने आफै चाउरिने
झुके, पछि लागिराख्ने गराउने
अगुवा नै चिप्लेपछि
कराउने सबै चुपचाप हराउने
आधी बितिसक्यो
अब आधी त यसैगरी झुल्याउने
महोदयज्यू
अब कहिले हो त मुन्टो हल्लाउने

बिरालाको घाँटीमा
अब कल्ले हो त घंटी लगाउने
महोदयज्यू
अब कहिले हो त मुन्टो हल्लाउने ।

– राकेश कार्की
लस एञ्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *