कालो बादलको छाती चिरेर
निस्केको सुन्दर शरच्चन्द्र जस्तै
अनुभूतिको गहिराइबाट निस्किन्छन्
जीवनका अनेकन छायाहरू
अनि लिपिदिन्छन्
आफ्ना शीतल किरणहरुले
साहित्यको विशाल धर्ती
त्यसैले त
साहित्य
जीवन भोगाइको कलात्मक अर्पण हो
चित्रभित्रै विचित्र चरित्र पस्कने दर्पण हो
अनि छायाको जीवन समर्पण हो
म तलाउको छेउमा पुग्छु
छाया मलाई पछ्याउँदै आउँछ
छाया प्रकाश र म
त्रिआयाममा एकाकार हुन्छौँ
जीवनको उचाइ छायाको गहिराइ
र प्रकाशको गति पाएर तेस्रो आयाममा
म जीवनको सम्पूर्णता प्राप्त गर्दछु
छायामा शून्यता बाँचेको छ
त्यसकै छातीमा मौनता नाचेको छ
म सुन्दै छु शून्यताको आवाज
छाया नबोलेरै धेरै बोलिरहेको पाउँछु
जीवनका शाश्वत रहस्य खोलिरहेको पाउँछु
अनि म
बुझ्छु
छाया जीवनको असल मित्र हो
छाया सतहमा देखिने चित्र हो
छाया गहिराइमा व्यक्तिको चरित्र हो
छायाले बाह्यान्तरिक प्रतिविम्ब पस्कन्छ
छायाले जीवनको क्षणभङ्गुरता जनाउँछ
छायाले ब्रह्मसत्यं जगन्मिथ्याको भाव झल्काउँछ
हो
तिमी जतिसुकै बोक्रा लगाऊ
तिमी जतिसुकै कोक्रा लगाऊ
तिम्रा छोक्रे अनुहारको
नाङ्गो वास्तविकता
तिम्रो क्रुर यथार्थ
अनि तिम्रो मौसमी मान्छेवाद
विना टलक
विना जलप
जस्ताको तस्तै
छायाकै क्यानाभासमा कोलाज बन्दछ
मान्छे हो
तिमीले पहिला आफ्नो अनुहार छायामै हेरेका थियौ
तिमीले पहिला तिमीलाई देखेको छाया
र
छायाले तिमीलाई पहिला देखेको तिमी
आकाश पातालको अन्तर छ
जति अन्तर भए पनि
मान्छेलाई मान्छेको अनुहार चिनाउने छाया
खरायो र सिंहको कथामा
सिंहलाई लडाउने इनारको छाया
चतुर्दन्तलाई सत्यको पाठ पढाउने छाया
विलियम वर्डस् वर्थलाई मायाले बेरेर
रोमान्टिसिजम जन्माउने छाया
यो सबै तिम्रै सार हो
यो सबै तिम्रै संसार हो
छाया तिमी अपरम्पार छौ
छाया तिमी ब्रह्माणकै उपहार हौ ।
मायाकुमारी रिजाल
फलेवास–७,
