गर्मीमास । दिनभर जंगलमा आरा काटेर साँझपख लखतरान भएर घर आइपुग्दा आफ्नी स्वास्नीलाई घरमा नदेखेपछि हर्कमान रिसले भाउन्न हुन्छ । घरको चप्पा चप्पा छान मार्दा पनि केही खानेकुरो हात नलागेपछि स्वास्नीले बजार लगेर बेच्न ठिक्क पारेका खोयाबिर्के रक्सीका बोतलहरुमध्येका तीन बोतल रक्सी थकाई र भोकप्यासले रन्थनिएको हर्कमानले एकै सासमा तुर्याउँछ । फलस्वरुप नशाले उसलाई अनियन्त्रित बनाउँछ ।

झमक्कै साँझ परेपछि निधारमा ठुलो कोठी भएकी उसकी स्वास्नी फुलमाया पनि दूधमुखे छोरी मिठीमायालाई ढाडमा बोकेर हस्याङ–फस्याङ गर्दै घरमा टुप्लुक्क आइपुग्छे । साँझ छिप्पिदा पनि स्वास्नी घरमा नआएको देखेर रिसले तातिरहेको हर्कमान फुलमायाले घरको दलिन नटेक्दै उमाथि खनिन थाल्छ ।

“ए बाइफाले! घरमा भाततिहुन गर्न छाडेरे कता बरालिन मुन्टेकी थिइस हँ?” मातेर रल्लु भएको हर्कमानले फुलमायाको जगटा लुछ्दै उसलाई तथानाम गाली गर्न थाल्छ ।

दिनभरि छोरीलाई पिठ्युँमा च्यापी टिमाई खोलाको बगरमा गिटी कुटेर भर्खर घर फर्किएकी थकित फुलमाया पनि लोग्ने आफूमाथि बेफ्वाँकमा खनिएको देखेर आवेगमा आउँछे । क्रोधले रङ्किएकी फुलमाया पनि हातमा बोकेको हतौडा उज्याउँदै पोई माथि जाइलाग्छे । दुवैजनाको घम्साघम्सीले गर्दा खोला किनारमा रहेको सुकुम्बासी बस्तीको त्यो सानो झुप्रोमा रडाको मच्चिन्छ ।

बाबुआमाको रणसंग्राम देखेर अबोध मिठीमाया कहालीएर रुन थाल्छे । मर्दा पर्दा चाहिने छिमेकी–छिमेकीबीच सुमधुर सम्बन्ध भएको मतवाली जातका गुजुमुज्ज परेका उन्नाइस–बिस धुरी झुप्राहरुले भरिएको मध्ये तराईमा अवस्थित त्यो गरीबहरुको बस्ती बिसौं शताब्दीको आदिम संसार झैँ भान हुन्थ्यो ।

साँझपखको रडाको सुनेर छिमेकीहरू हर्कमानको घरमा भेला हुन्छन् र बाझिरहेका जोईपोइलाई छुट्याएर सम्झाई–बुझाई गर्न थाल्छन् । भोकप्यासले रोइरहेकी मिठीमायालाई थुप्थुपाएर फुल्याउँदै पल्लाघरे दमिनी कान्छीले दुवैलाई दर्होगरी झपार्छे । माथ्लाघरे बान्तवा काहिँलो र तल्लाघरे सुब्बेनी साँहिली लगायतका अरु छिमेकीहरुले फकाई–फुल्याई गरेपछि मात्र उनीहरू मथ्थर हुन्छन् ।

झगडा साम्य भएपछि फुलमाया सुँक्सुँकाउँदै चुलोचम्को गर्न थाल्छे, हर्कमान छोरीलाई पिठ्युँमा बोकेर आँगनमा निस्कन्छ र छिमेकीहरू आ–आफ्ना घरतिर लाग्छन् । बोलचाल हुनु त परै जाओस झगडा परेको दिनदेखि बुढाबुढीको काटोछिनो नै छ ।

असारमासको बर्खे झरीका बहुलठ्ठी प्रहारहरुलाई सुकुम्बासी बस्तीका झुप्राहरुले थाम्न सक्दैनन् । अर्कातिर टिमाई खोलाको बाढी पसेर बस्तीको जनजीवनलाई अस्तव्यस्त बनाउँछ । अन्धमुस्टी रातसँगै झरी र बाढीको चपेटामा परेको घडीमा अनजान मिठीमाया बाबुको छातीमा टाँसिएर भुसुक्कै निदाउँछे । बाढी र वर्षाको तान्डव्यले गर्दा घरको न घाटको भएका बस्तीवासीहरू उभिएरै रात काट्न वाध्य हुन्छन् । आधारातमा भएको मेघगर्जनको हुङ्कारले मिठिमाया नराम्ररी तर्सिन्छे र ‘आमा आमा’ भन्दै कहालीएर रुन थाल्छे ।

अन्धकारको साम्राज्यभित्र हर्कमानले बाख्रालाई घाँस हाल्न खोरमा जाँदा बाढीको छालमा परेर बगेकी फुलमायालाई यताउती नियाल्छ तर उसलाई कतै देख्दैन । आमाको सामिप्यता नपाएपछि मिठीमाया झन झन च्याँठिएर रुन थाल्छे । स्वास्नीसँग बोलचाल नभए पनि छोरीको रोदनले उसको पुत्रीमोही मनलाई पगालिदिन्छ परिणाम स्वरूप हर्कमान चिच्याउँदै फुलमायालाई पुकार्न थाल्छ । वरिपरि खोज्दा पनि स्वास्नीलाई नदेखेपछि ऊ छोरीलाई एउटा बर्कोले लपेटेर झरीमा रुझ्दै हतार हतार घर बाहिर निस्किन्छ । उसका पुकारहरुलाई मेघ, वर्षा र बाढीका फुकारहरुले निलिदिन्छन् । जलमग्न अन्धकारको साम्राज्यमा आधा शरीर डुबेको हर्कमान छोरीलाई छातीमा टाँसेर फुलमायालाई खोज्न यत्र तत्र भौन्तारिरहन्छ तर उसको खोजाई निस्फल बन्छ ।

छोरी बोकेको हर्कमानलाई बाढीको छालले बगाएर किनाराको एउटा ढिस्कोमाथि पुर्याइदिन्छ । गर्जिरहेको आकाशमा बिजुली चम्किदा शिशु डरले झस्किन्छे र कोकोहोलो गर्दै बाबुको छातीमा कसिएर लेपासिन्छे । बिजुलीको रोशनीमा टल्किएका अकल्पनीय नजाराहरुले हर्कमान द्रविभुत हुन पुग्छ । बाढीले उसको बस्तीलाई पुरै तहस–नहस परिसकेछ । बस्तीका मानिस र चौपायाहरू आर्तनाद गर्दै बाढीका छालहरुमा तैरिरहेका हुन्छन् । अनिस्ट भएको शिकार हर्कमानलाई फुलमायाको मायाजडित चिन्ताले सताउँछ र ऊ भक्कानिन थाल्छ ।

बिहानीको आगमनसँगै असमंजस हर्कमान आफ्नी अबोध छोरीलाई थुप्थुपाउँदै क्षितिजतिर रुञ्चे नजरहरू दौडाइरहन्छ । दोपहरतिर वर्षाको बिश्रामसँगै बाढीको फुर्तीमा पनि सुस्तता आउँछ । सर्बहारा हर्कमान आफ्नो तहसनहस भएको बस्तीको अन्तिम दर्शन गरेर पत्नी वियोगको पीडाबाट छल्किएको आँशुको घुट्को पिउँदै अनिश्चित गन्त्ब्यतिर लम्किन्छ ।

वर्षामास लागेसँगै तल्लो टिमाई खण्डका गाउँलेहरुलाई बाढीले बगाएर ल्याएका रुख, मुढा, दाउरा आदि बटुल्न भ्याइ नभ्याई हुन्छ । बिगत झैँ यसपाली पनि दाउराको जोहो गरिरहेका गाउँलेहरू भेलले बगाएर ल्याएका रुख र ठुट्टा बटुल्न तँछाड–मछाड गरिरहेका हुन्छन् । ठुट्टाठुट्टी बटुल–बाटुलमा तल्लिन गाउँलेहरुले भेलमा लत्ता कपडा, भाँडाकुडा, चौपाया र घायल मानिसहरू बगिरहेका भेट्छन् । बाढीको बहावसँगै कोही मानिस मृत, कोही अंगभंग भएका, कोही बेहोस भएका र कोही ‘बचाऊ बचाऊ’ भन्दै चित्कार गरिरहेका हुन्छन् ।

त्यस्तो दर्दनाक दृश्य देखेर गाउँलेहरुबीच हल्लिखल्ली मच्चिन्छ । यस्तो गाउँलेहरू बिश्मित हुँदै बाढीमा बगिरहेका मानिसहरुको उद्दारमा होमिन्छन् । घटनाबारे तत्कालै प्रहरीलाई खबर गरिन्छ र प्रहरीगण, स्वास्थ्यकर्मीसँगै अरु थुप्रै मानिसहरू भेला भएर उद्दारकार्यमा खटिन्छन् । मृत मानिस र जनावरहरुलाई एकै ठाउँमा भेला पारिन्छ र घाइते मानिसहरुलाई उपचारार्थ तत्कालै नजिकैको अस्पतालमा पुर्याइन्छ ।

त्यो हृदयबिदारक दुर्घटनाको कारुणिक दृश्यपानले आतिएर आकाशमा ताराहरू पिलपिल गर्दै रुन्छन् र बादल अश्रुधारा बहाउँदै घनघोर वर्षा भएर बर्सिन्छ । नजिकैको जंगलमा फ्याउरा र झ्याउँकिरीहरू उराठलाग्दो गरी कराइरहन्छन् ।

भोलिपल्ट दोपहरमा प्रहरीको रोहबरमा ब्यथित गाउँलेहरुले लासहरुलाई सामुहिक दाहसंस्कार गर्नुका साथै मरेका पशुहरुलाई खोला किनारमा खाल्टो खनेर पुर्छन् । उता अस्पतालमा जीवनमरणको दोसाँधमा रूमलिरहेका पीडितहरुमध्ये कोही मुर्दा समान अचल हुन्छन् र कोही दर्दले आर्तनाद गरिरहेका हुन्छन् । उपचारकै क्रममा धेरैले देहत्याग गर्न पुग्छन् र बाँचेका मध्ये पनि कोही बिक्षिप्त बन्छन् र कसैको स्मरणशक्ति गुम्छ । सघन उपचारपश्चात शारीरिक अवस्था ठिक भएर पनि स्मरणशक्ति गुमेकी एक महिलालाई अस्पातलले घर जान बिदा दिन्छ । होशहवास नभएकी ती महिलालाई न कसैले जिम्मा लिन आउछन् न उनीलाई आफ्नो घर ठेगाना बताउन सक्ने ल्याकत हुन्छ त्यसकारण अस्पताल प्रशासनले उनीलाई एउटा परोपकारी आश्रममा राखिदिने व्यवस्था मिलाउँछ ।

सत्र वर्षअघिको त्यो भयानक रातमा रहस्यको गर्भमा बिलाएकी फुलमायाको वियोगमा तड्पिरहेका बाबुछोरीका मनमा उनीसँग पुनर्मिलन हुने सपनाका त्यान्द्राहरू सबै टुटिसकेका थिए । यस दौरानमा हर्कमान सानोतिनो ब्यापार व्यवसाय गरेर घरजग्गा जोड्न सफल भएको हुन्छ । निस्वार्थ सेवाको भावनाले ओतप्रोत हर्कमानले आफ्नै खर्चमा वियोग भएकी आफ्नी जीवनसंगिनी फुलमायाको नाममा ‘फुलमाया आश्रम’ नामक एउटा संस्था सञ्चालन गरेको छ जहाँ बेसहारा, वृद्धवृद्धाका साथै अनाथ बालबालिकाहरुले आश्रय पाइरहेका छन् र त्यसको हर्ताकर्ता उसकी क्याम्पस पढ्दै गरेकी छोरी मिठीमाया हुन्छे ।

आज फुलमाया आश्रम स्थापनाको सत्रौं वर्षगाँठको अवसरमा आश्रममा विशेष चहलपहल देखिन्छ । अन्य आश्रम, अस्पताल, प्रहरी चौकी आदिबाट आएका निम्तालुहरू प्रांगणमा अवस्थित फुलमायाको पूर्ण कदको प्रतिमा वरिपरि बसेर हर्षोल्लास गरिरहेका हुन्छन् । बाबुछोरीद्वारा उपस्थितहरुलाई भोज खुवाउन भ्याइनभ्याई हुन्छ ।

समारोह स्थलमा सुस्त मनस्थितिकी झैँ देखिने निधारमा ठुलो कोठी भएकी एउटी महिला पनि फुलमायाको प्रतिमालाई एक तमासले हेर्दै भोज खाइरहेकी हुन्छे । यानी उनीहरुका हेराहेरलाई समरुपी अनुहारहरुले एक अर्कालाई नियालिरहेको झैँ भान हुन्छ । खानपानमा ब्यस्त सबैलाई नजिकबाट नियाल्दै हर्कमानका आँखाहरू चारैतिर घुमिरहन्छन् । अचानक उसका आँखाहरू एक निम्तालु महिलामाथि पर्न जान्छ । आफ्नी वियोग भएकी श्रीमती र ती महिलाको रुपरङ, जिउडाल र अनुहारमा समरुपता पाएपछि अचम्भित हर्कमान टोलाउँदै अतितको संसारमा हराउन थाल्छ । आफ्नो बाबु अचानक टोलाएको देखेर मिठीमायाले हर्कमानलाई झक्झकाउँदै टोलाउनुको कारण सोध्छे । हर्कमानले छोरीसँग कानेखुसी गर्दै टोलाउनुको कारणबारे बताउँछ तत्पश्चात मिठीमाया अधिर बन्न पुग्छे ।

बाबुछोरी ती महिलाको इतिहास बुझ्न् ब्याकुल हुन्छन् । निम्तालुहरू मध्येका प्रहरी चौकी प्रमुख, अस्पताल प्रशासन प्रमुख र ती महिलालाई आश्रय दिने आश्रम संचालक पनि त्यो उत्सवमा सहभागी हुन्छन् । निम्तालुहरुसँग कुरो बुझ्दै जाँदा ती महिला आजभन्दा सत्र वर्षअघीको बाढीमा परेर उद्दार गरिएकी फुलमाया नै हुन् भनेर टुंगो लाग्छ । यस्तो निष्कर्ष सुनेर सबै अवाक हुन्छन् । तर थेग्न नसक्ने खुशीको प्रहारले गर्दा हर्कमानलाई चक्कर लागेर ऊ प्रतिमाकै अगाडि डङरंग लड्न पुग्छ । हर्षाश्रु बहाइरहेकी मिठिमाया ‘आमा भनेर चिच्याउँदै ती महिलासँग अंकमाल गर्न पुग्छे ।

असोचनीय पुनर्मिलनको सुखान्त माहौलमा प्रांगणमा बजेका करतालीसँगै स्वागतार्थ उत्तरको एक झोक्का बतासले उडाएर ल्याएका सिमलका भुवाहरुले उपस्थित सबैलाई चुम्छन् । तर निर्जीव प्रतिमाकी जिउँदी अवतार फुलमायाको निष्प्रभावी मुहारका बेहोस नजरहरू अविछिन्न आफ्नै प्रतिमाका नजरहरुसँग जुधिरहन्छन् ।

इति ।

—राजेश अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *