‘ब्याक बेञ्चर’ निबन्धसङ्ग्रह : स्वपठन र बुझाइमा

20201011_NarendraRajPaneru-BackBencher


पृष्ठभूमि :

काठमाडौँ खाल्डामा आफ्ना बालबचेरा छाडी रामेछापतिरको प्रख्यात विद्यालयका विद्यार्थीका प्यारा शिक्षक पेशल आचार्यले आफनो व्यक्तिगत, घरपरिवार र विद्यालयको व्यस्त समयको जिम्मेवारीका बाबजुद पनि आफनो व्यक्तिगत, पारिवारिक तथा शिक्षण कार्यका बीचमा आफूले देखेका, भोगेका तथा लागेका विषयवस्तु ‘ब्याक बेञ्चर’ निवन्ध सङ्ग्रहका रूपमा प्रस्तुत गरेका छन् । २०३६ सालदेखि निरन्तर साहित्य लेखनमा व्यस्त आचार्यको यो कृति एक अर्को कोसेढुङ्गा हो । यस अघि यिनका नौवटा कृतिहरू प्रकाशित भैसकेका छन् । सातवटा बाल साहित्यका र तीनवटा प्रौढ साहित्यका कृति नेपाली साहित्यको भण्डारमा दिइसकेका आचार्य लेखन, शिक्षण र प्रशिक्षणमा रमाएका व्यक्ति हुन् ।

लामो समयसम्म शिक्षण पेसामा लागेकाले हुनसक्छ आचार्यको साहित्यिक मनले विद्यालय कक्षाकोठाको अन्तिम बेञ्चमा बस्ने विद्यार्थीहरूप्रति सहानुभूति देखाउन खोजेका छन् । सामान्य मानिस तथा शिक्षकहरूका लागि बेवास्तामा परेका ब्याक बेञ्चरहरू आचार्यका लागि प्रतिभावान् र भविष्यका आइन्सटाइन र बिल गेट्स लाग्छन् । शिक्षकहरूले ब्याक बेञ्चरहरूमा तिनीहरूको प्रतिभा खुट्याउने हो भने देश र विश्वका मार्गदर्शक साहित्यकार, वैज्ञानिक, डाक्टर, इञ्जिनिएर तथा प्राध्यापक कक्षा कोठाको ब्याक बेञ्चमा नै बसेका हुन्छन् । यो सत्य कुरा हो कि पहराको फूललाई कसले जोखिम मोलेर टिपी घरको बैठकमा रहेको फूलदानमा सजाउने ? वर्तमान वैश्य (हरेक कुराको व्यापार र पैसामा मात्र जोखिने सोच भएको) युगमा त्यस्तो खत्रा मोल्ने इच्छा र सामर्थ्य पनि सबैसँग हुँदैन । भए पनि कसैले वास्ता गर्दैनन् ।

निबन्धको पठन/मूल्याङ्कन :

यही बेवास्तामा परेको यथार्थ, शिक्षकहरूले हेला गरेको वर्ग, तथा आम आँखाबाट ओझेल परेको सत्य निबन्धकार आचार्यले आफ्नो आत्मपरक निबन्ध सङ्ग्रहमा उजागर गरेका छन् । यो निबन्धसङ्ग्रह साहित्यिक मनहरूलाई मात्र नभई तमाम शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई पनि उत्तिकै उपयोगी हुने खालको पुस्तक रहेको छ । खासगरी नेपाली भाषामा निबन्ध लेखनको अभ्यास गर्ने नवोदित लेखक र स्कुल कलेजका गहिरो कृति अध्ययन गर्छु भन्नेहरूलाई त झन् यसले अनेकानेक निबन्ध लेखनका टिप्सहरू उपलब्ध गराउन सक्छ ।

साहित्यले पाठकलाई भावनामा सएर गराउनु पर्दछ । कहिलेकाहीँ त समाजिक विरोधाभासको समेत जानकारी दिनु पर्दछ । सत्य पहिचानमा सदा सर्वदा अगाडि बढाउनु पर्दछ । साहित्यले हृदयको क्रन्दन, अन्तरमनको भावना, जीवन भोगाइका विभिषिका, सुन्दर र सुशील भविष्यको भाष्य बोल्नु पर्दछ । लेखाइमा सलल बगेको, प्रस्तुतिमा आकर्षक, विषयवस्तुमा स्पष्टता भएको यो ब्याकबेञ्चर निबन्धसङ्ग्रह लेखकको आजसम्म निखारिएको क्षमता र अनुभवको उच्चत म कृति होभन्दा फरक नपर्ला । यस अघि यिनले माध्यमिक तहका दुई र आधारभूत तहको एक गरी तीनवटा निबन्धसङ्ग्रहहरू प्रकाशित गरिसकेका छन् ।

समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय ताजा घटनाहरूको अध्ययन, मनन र चिन्तन गरी नेपाली अनलाइनहरू र दैनिक पत्रिकाहरूमा नियमित राजनीतिक र सामाजिक विश्लेषण गरेर आर्टिकल लेख्ने, कलेजमा उच्च तहका विद्यार्थीहरूलाई पढाउने र बाल साहित्य तथा किशोर साहित्यमा विभिन्न प्रकारका छोटा तथा लामा तालिमहरूमा प्रशिक्षण गर्ने व्यक्ति समेत भएकाले यिनको बौद्धिक जानकारीको भण्डार पनि यो निबन्ध अध्ययन गर्दा अत्यधिक भएको जस्तो लाग्छ । यिनै अनुभूति र जीवनातिरेक कुराहरूलाई आफ्नो भाषाशैलीमा अन्तर्घुलन गरी आचार्यले निबन्धको परिपाक गरेका छन् । जसबाट यिनका प्रत्येकजसो निबन्धहरू सुस्वादु बनेका छन् ।

निबन्ध सङग्रहको नाम ‘ब्याक बेञ्चर’ भए तापनि विभिन्न कालखण्डमा मासिक तथा साप्ताहिक पत्रपत्रिकाहरूमा यसअघि नै छापिएका निबन्धहरूलाई समावेश गरी प्रकाशन भएका २९ वटा निबन्धहरूले समाजका विभिन्न विधा र पाटालाई समेटेका छन् ।

यस सङ्ग्रहको पहिलो निबन्ध चोरघाममा अखबारी पठनलाई प्रमुख ठान्ने र त्यही आधारमा विचार तथा जीवनशैली बनाउने वर्तमान युवाप्रति असन्तुष्टि व्यक्त गर्दै अध्ययनमा रूचि जगाउन अखबारी पठनले चटनीको रूपमा काम गरे पनि अघाउन त किताब नै पढनु पर्ने आग्रह गर्दछन् । यसमा साहित्यकारले मौसमी चोरघाम सँगसँगै राजनीति, समाज, विकास, दर्शन, साहित्य र मानव जीवनमा देखिएका चोरघामको विस्तृत रूपमा चिरफार गरेका छन् । रिलेखेलको दौडमा वैदिक व्यक्तित्व कालिदासदेखि वर्तमान युगका माक्र्ससम्मलाई आफनो निबन्धमा समेटन भ्याएका छन् । ‘असल छोराछोरी हुन्, ईश्वरका वरदान्’ भन्ने सन्देश प्रवाह गर्ने निबन्धको रूपमा पहिलोपटक मधुपार्कमा प्रकाशित मिठो झन्झट निबन्धमा निबन्धकार आचार्यले ‘विवाह स्त्रीका लागि शुरूआत र पुरुषको लागि समाप्ति हो’ भन्ने परम्परागत धाराणालई व्यङ्यात्मक रूपमा प्रस्तुत गरेका छन् ।

आफनो व्यङ्यात्मक प्रस्तुति मार्फत् तत्कालीन समयमा आइरन गेट मानिने एस्एल्सी उत्तीर्ण भैएका, नव दुलाहादुलही तथा जन्तीहरूलाई नराम्रोसँग झापट हानेका छन् । यही निबन्धमा निबन्धकारले परिवार व्यवस्थापनका कुरा पनि गरेका छन् र वृद्ध आमाबाबु प्रतिको कर्तव्यलाई सम्झाउँछन् ।

त्यसैगरी अर्को निबन्धदु:ख आफैँ दुख्ने गर्छ निबन्धमा दु:ख र सुखका कुरा गरेर साहित्यकार, कलाकार तथा धर्मान्धहरूले यसैको खेती गरेको बताउँछन् । साथै लेखकहरूको तथाकथित लेखकीय मौलिकतामाथि नै दह्रो प्रश्न उठाउँछन् । उनी गुम्फित दु:खमा नै जीवनको सार्थकता खोज्छन् ।

अक्षरहरूको बिस्कुन निबन्धमा निबन्धकारले शिक्षा तथा अक्षरहरूलाई आस्था, जीवन, प्रेम, घृणा, युद्ध, शान्ति, बाइबल तथा अल्लाहका रुपमा प्रस्तुत गरेका छन् । आफनो अक्षरसँगको यात्राका बारेमा सविस्तार व्याख्या गरेका छन् । त्यसैगरी नाई भनौं निबन्धमा निबन्धकारले परम्परागत सोचाइलाई प्रश्नगरी वैकल्पिक तथा वैज्ञानिक सोचलाई प्रश्रय दिनुपर्ने बताउछन् । गुरु अनि गोरु हुन्छ निबन्धमा गुरुको परिभाषा वृस्तृत रूपमा गर्दै समाजका हरेक व्यक्ति गुरु हुन सक्ने जनाउँदै निजी विद्यालयमा अध्यापन गर्ने गुरुहरूको दयनीय र सोचनीय हविगत पनि अति मार्मिक शैलीमा दर्शाएका छन् ।

समाजमा व्याप्त द्वन्द्वको व्याख्या गर्दै वसुधैव कुटुम्बकम्को पक्षमा दुई र द्वन्द्व निबन्ध मार्फत् निबन्धकार वकालत गर्दछन् । धार्मिक, समाजिक तथा साहित्यका व्याख्याहरू पनि द्वन्द्वकै वरिपरि फङ्को मारिरहेको देखाउन चाहन्छन् । त्यसैगरीकपुरी कमा शिक्षाको महत्व तथा यसका विभिन्न रूप दर्साउँदै रूख चढेर बाटो हिँडेर र पढेर कहिल्यै नसकिने भनेका छन् ।

शब्दका पछाडिपछाडि निबन्धमा सिकारू लेखकका लागि लेखन शैली र सीपको बारेमा व्याख्या गरेका छन् भने असत्यमेव जयतेमा सत्य मेव जयतेको व्यङग्यात्मक प्रस्तुति पाइन्छ । त्यसैगरी भुइँ मान्छेमा भुइँमान्छे हैसियत भएका महान्हरूलाई छड्के हानेको भेटिन्छ भने सम्भावनाहरूको जुलुसमा सीमितताका बारेमा थेग्रिएकाहरूलाई सम्भावनाको आशा जगाउने काम गर्दछन् भने पानी अंकलमा २०७२ को विध्वंसात्मक भुइँचालो, लेखकको लेखकीय र जुराइएको पानी अंकल शीर्षक सन्दर्भमा कलम चलाएका छन् ।

त्यसैगरी भार्या चिन्तनमा नाममा के छ ? भन्ने विषय दार्शनिक शैलीमा प्रश्नका रूपमा उठाइएको छ र परिवारको संरचना र सम्बन्धका बारेमा मिहीन ढङ्गले केलाइएको छ ।

साला ! दाल, भात, डुकुमा नेपाली न्यूनमध्यम वर्गका मानिसहरूको समाजिक विडम्बना र तथाकथित सफलताको धज्जी उडाएका छन् । जीवनका सारा विडम्बना र सफलताका कहानी दाल, भात, डुकुमा सीमित हुनुको यथार्थ बताएका छन् । सलाद बनाइदैछ देशमा निबन्धकारले अग्रगमनको नाममा देशमा संघीयता बलात्पूर्वक देशमा लादिएकामा चिन्ता प्रकट गरेका छन् ।

सम्पादकको मृत्युमा लेखक र सम्पादकका बीचको असीमित द्वन्द्वलाई देखाउन खोजेका छन् भने वर्तमान समयमा असल र योग्य सम्पादकको खडेरी परेको कुरा समेत विभिन्न उपमा, उदाहरण र प्रमाण पेस गरी सविस्तार बताएका छन् । सूचना तथा प्रविधिको विकाससँगै एउटा सम्पादकको सम्पादकीय बुहार्तन माथि नै प्रश्न उब्जाएको छ । जुन सार्थक र समसामयिक पनि छ । यो कुरालाई बेलायती पत्रकार विलियम असाञ्जले गरेको विकिलिक्सको सोच र प्रविधिसँग पनि तुलना गर्न सकिन्छ । अहिलेको समयमा हरेक पाठक नै रिपार्टर, लेखक, कोलम राइटर, फोटोग्राफर र एडिटर हुने हैसियत राख्छ भने सम्पादक नामधारी कोट लगाएका तथा तिल तामल जुँगा भएका मानिसहरू अहिलेको सञ्चार गृहमा सोकेसमा सजाइएका पुतली बराबर हुन् भन्ने भान पनि पाइन्छ । यो निबन्ध निक्कै गहिरो छ ।

पुस्तककै नाम दिइएको प्रमुख निबन्ध ‘ब्याक बेञ्चर’मा लेखकले घोडचढीले घोडा, माझीले माछा पर्ने दह र जाल, सार्कीले छाला, हलीले हलो, वकिलले झगडीया, मालीले फूल सजिलै चिनेजस्तै शिक्षकले विद्यार्थी र तिनीहरूमा निहित प्रतिभा सहजै चिन्नु पर्ने बताउँछन् । कक्षाकोठाको ब्याक बेञ्चमा बसेकाहरू गान्धी, रुसो, मार्क जुकर वर्गर, गान्धारी मोथाई, कवि धुमिल, क्रोचे, पाइथागोरस, आइन्स्टाइन र चार्ली च्यापलिन जस्तासँग दुनियाँ सहजै बदल्ने र संसारकै नेतृत्व लिने क्षमता र प्रतिभा हुन्छ । त्यसलाई विद्यालय र विश्वविद्यालयका शिक्षकहरूले फल्ने फुलाउने अवसर दिनुपर्ने बताउँछन् । त्यसैगरी व्यवहार विश्वविद्यालयमा निबन्धकारले पढेरभन्दा परेर जानिन्छ भन्दै व्यवहार परिवर्तनबाट सिकिने प्रकारको सिकाइलाई उच्च प्राथमिकता दिएका छन् । यस निबन्धमा लेखकले नेताहरूले गर्ने विदेशीको नक्कल र आज्ञा पालनलाई मजाले नै दनक दिएका छन् । कलाकारका नखरालाई मौलिकतामा ढाल्न नसकेकोमा असन्तुष्टि पोखेका छन् । आम जनताका मौलिकतालाई प्रशंसा गर्दै रुसोको भनाई –‘स्कुलहरू बन्द गर र बालकलाई प्रकृतिको छेउमा लगेर फाल’मा सहमति जनाउँछन् ।

विदित/अविदित निबन्धमा निबन्धकारले ज्ञाताज्ञात यो भगसागरका विभिन्न पक्षहरूमा पक्षविपक्षमा तर्क गरेका छन् भने कीर्तिपुरे जुत्तामा निबन्धकारले कीर्तिपुरको यात्राको क्रममा अग्रज साहित्यकारलाई सम्मिmदै नेपालीका मौलिक तथा गुणस्तरीय उत्पादनलाई आधुनिक तथा कर्पोरेट बजारले खाइदिएको दुखेसो पोखेका छन् ।

शम्भवामी युगे:युगे: निबन्धमा वैदिक युगमा दर्शनमा आधारित भएर निबन्धकार उपदेषक हुन्छन् भने भाव, अभाव र प्रभावमा निबन्धकारले यिनीहरूलई नै जीवन र शिक्षाका लयमा जोडेका छन् । समय बालापन फर्काइदे ! निबन्धमा लेखक नोस्टाल्जियामा बाँच्छन् भने स्वाभीमानको शोकगीतमा रामहरूको निदहराम भएको र हराम (समय, प्रविधि, वाद, समूह)हरूको बोलवाला भएको समयमा स्वाभीमानको शोकगित नगाएर के नै गाउन सकिन्छ र ? त्यसैगरी कट्फर जिन्दगीमा जीवनको अभिप्राय र लक्ष्य बुझने क्रममा दार्शनिक पक्ष ‘खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?’ भन्ने विषयमा बहस चलाउछन् र जीवन बुझने क्रममा जीवनलाई प्रकृतिको लयमा समान तवरले जोडन सके जीवन सन्तुलित र सहज हुने बताउछन् ।

जीवनले के सिकायो ? निबन्धमा निबन्धकारले जीवनका व्योम र व्यास, अक्षांश र देशान्तर, वृत्त र चर्तुभुज, त्रिभुज र समानान्तर, सव्य र अपसव्य सिकाएका छन् । कट्फर संस्कार निबन्धमा निबन्धकारले बद्लिँदो समय र मानिसहरूको तस्वीरका बारेमा व्याख्या गरेका छन् ।

पुस्तकको अन्तिम निबन्ध रित्तो गुँड र चरा नियतिमा समयानुसारका सम्बन्ध र बाध्यताका कथाहरू मिहीन र रोचक शैलीमा उनेका छन् । जीवनलाई रिले दौड तथा नदीको गतिसँग हेर्ने निबन्धकारले जीवन पुस्तौं पुस्ताहरूको रिलेदौडका रुपमा रहेको कटु सत्यको व्याख्या पनि गरेका छन् ।

फरकफरक कालखण्डमा लेखिएका निबन्धहरू भए तापनि निबन्धकारले देखे भोगेका अनुभवपुञ्ज, प्रकृति र जीवनका लयहरूको गति, समाज र इतिहासका सुखान्त र दुखान्तका परिधटनाहरू मार्फत् मानव जीवनलाई चाहिने आवश्यक खुराक पस्केका छन् ।

ब्याक बेञ्चर : सारभूत कुरा :

लेखनशैली उत्कृष्ट, भाषामा दख्खल, विषयवस्तुमा दमदार प्रस्तुति लेखकका लेखकीय विशेषता हुन् । आत्मपरक निबन्धमा जीवनका हरेक पक्ष र पाटाहरूको गुत्थीहरू पाठकहरूसामु नजानिँदो पाराले पाठककै जीवनका घटनाको रुपमा प्रस्तुति गर्न सक्नु लेखकको विशेष क्षमता हो । लेखकको लेखकीय क्षमता ईर्ष्यालायक र र विषयवस्तु समयसापेक्ष छ । निबन्ध पढदै जाँदा पाठकहरूले आफैँलाई पढ्दै गएको महसुस हुन्छ र समय बितेको पत्तै हुँदैन ।

ब्याक बेञ्चरले समय र प्रतिस्पर्धाको दौडमा ती तमाम ब्याक बेञ्चरहरूको कथा बोकेको छ जो वास्तविक संसारका निर्माणकर्ता, पविर्तनकर्ता र नेतृत्वकर्ता हुन् । कक्षा कोठाका फ्रन्ट बेञ्चरहरू त टेक्नोक्रयाट मात्र बन्न सक्छन्, तिनीहरूलाई खेलाउने र चलाउने त आम ब्याक बेञ्चरहरू नै त हुन् । यो कुरा हाम्रो समाज, जिल्ला, प्रदेश र केन्द्र वरपर पनि देखिएकै छन् ।

अन्त्यमा

यिनै जीवनोपयोगी कुराहरूलाई निबन्धकार आचार्यकृत ब्याक बेञ्चरमा प्रभावकारी र मनोहारी शैलीको प्रयोग गरी लेखन गरिएको छ । २४० पृष्ठमा समेटिएको प्रस्तुत पुस्तकमा अर्का घघडान् निबन्धकार तथा वरिष्ठ कवि महेश प्रसाईन्द्वारा बेजोड भूमिकाको लेखन पनि गरिएको छ । सो भूमिका आजभन्दा ठिक दस वर्षअघि नै अर्थात् २०६८ सालमा लेखिएबाट अर्को कुरा के पनि थाहा पाउन सकिन्छ भने निबन्धकार पेशल आचार्य कृति प्रकाशनका हकमा हतारिने स्रष्टा पक्कै होइनन् । उनले यो किताब बाहिर ल्याउन दस वर्ष त प्रतीक्षा नै गरेका छन् । डिकुरा प्रकाशनबाट प्रकाशित भएको पुस्तकको आवरण अमूर्त शैलीमा बनाइएको छ जसलाई कलाकार तथा डिजायनर केदार अधिकारीले प्राण भर्नुभएको छ ।

समग्रमा हेर्दा वर्तमान समयमा प्रकाशित भएका निबन्ध सङ्ग्रहहरूको भीडमा यो पुस्तक ब्याक बेञ्चर अलग्गै धप, बाङ्की र मोहडाको रहेको पाइन्छ । यस हिसाबले पनि यसको चर्चा अहिलेभन्दा अबको पचास/सय वर्षसम्म हुने कुरामा म विश्वस्त रहेको छु । मेरो अध्ययनले सोही निचोड निकालेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *