कमल आचार्यको कोसेली भित्र पस्दा


परिचय–
होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा दुईओटा कीर्तिहरू ‘‘कोसेली’’(२०७५) र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । त्यसै दिन विमोचन समारोहमा म पनि सहभागी हुने मौका पाएको थिएँ । उहाँ मसँग पूर्व परिचित भए पनि उहाँको कवित्व शक्तिको बारेमा मलाई थाहा थिएन । उमेरको हिसावले उहाँ मेरो दाज्यू नै पर्नुहुन्छ भने भावनात्मक रूपमा उहाँ मेरो सहृदयी मित्र हुनुहुन्छ । वि.सं. २००० साल श्रावण १५ गते बाँच्छा गैराबारी, पर्वतमा जन्मनु भए पनि हाल देवचुली नगरपालिका –१७ फारम, नवलपुरमा स्थायी बसोबास गर्नुहुन्छ । उहाँ पिता भवीप्रसाद शर्मा आचार्य र माता टीकाकुमारी शर्मा आचार्यका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँ कविको रूपमामात्र सीमित हुनुहुन्न । उहाँले करिब ६ दशक पहिलादेखी समाजिक क्षेत्रमा खट्टिइरहनु भएको छ । उहाँ श्रीजनकल्याण नि.मा.वि., हाल उच्च मा.वि., पर्वतको संस्थापक (२०२४) हुनुहुन्छ भने सोही स्कुलको स्वर्णमहोत्सव समारोह समितिको संयोजक(२०७४, चैत्र २४ गते) पनि हुनुहुन्छ । उहाँ एक प्राकृतिक चिकित्साविज्ञान तथा आयुर्वेदका ज्ञाता पनि हुनून्छ र उहाँ योग तथा प्राकृतिक चिकित्सालय, रजहरको संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, पनि हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा, रजहरका आजीवन सदस्य, वरचुली माध्यमिक विद्यालय रजहर फारमको पुस्तकालय व्यवस्थापन समितिको संरक्षकको साथै त्रिवेणी साहित्य परिषद् नवलपरासीको आजीवन सदस्य हुनुहुन्छ । कमलजीको सामाजिक एव म साहित्यिक क्षेत्रको योगदान अनुकरणीय त छँदै छ त्यसमा पनि उहाँको सरल जीवन उच्च विचारले मानव जीवनमा एउटा मार्गदर्शन प्रवाह गर्दछ । कमलजीले एकैपटक कोसेली र व्यवहारिक दर्पण प्रकाशमा ल्याएकोमा उहाँ धन्य हुनुहुन्छ । उहाँको ‘व्यवहारिक दर्पण’ अध्ययन गरेर केही शब्द कोरिसकेको छु र आज ‘कोशेली’लाई अध्ययन गर्ने मौका जुरेको छ ।

कृतिको संरचना– यो कृति आवरण पृष्ठ बाहेक १३६ पृष्ठको छ । पिता स्व. भविप्रसाद शर्मा र माता स्व.टीकाकुमारी शर्मामा समर्पण गरिएको यस कृतिलाई त्रिवेणी साहित्य परिषदले प्रकाशन गरेको छ । मूल्य रु २१० राखिएको छ । यस कवितासङ्ग्रहमा चार खण्ड छन् पहिलो खण्डमा माता र मातृभूमिप्रति शीर्षकभित्र ६ ओटा कविता समावेश गरिएका छन् । दोस्रो खण्डमा समसामयिक अभिव्यक्ति भित्र २४ ओटा कविता समावेश गरिएका छन् । तेस्रो खण्डमा राजनीतिककर्मीप्रति शीर्षक भित्र १६ ओटा कविता समावेश गरिएका छन् र चौथो खण्डमा मेरो कमण्डलु शीर्षकभित्र जम्मा दुई कविताहरू समावेश गरी जम्मा ४८ ओटा कविताले यस सङ्ग्रहको निर्माण भएको छ । आवरण–पहिलो पृष्ठ हिमाल झर्ना, मन्दिर घर आदि प्राकृतिक सौन्दर्यले भरिएको छ र आवरण–पछिल्लो पृष्ठ कविको व्यक्तिगत विवरणले सजिएको छ ।

कवितासङ्गहमा भूमिकाकार तथा शुभेच्क्षुकबाट आएका अभिव्यक्तिहरू– कृतिको प्रकाशकीयमा डा.नारायण प्रसाद खनालले लेख्नुहुन्छ –‘कवि कमल आचार्यले जे–जस्तो देख्न, भोग्न वा बेहोर्न पाउनु भएको छ त्यसैको सटिक चित्रण यो कविता सङ्ग्रह हो । गोविन्दराज विनोदीले लेख्नुहुन्छ–‘आफ्नो अन्तर मनको अभिव्यक्तिलाई कुनै आदर्शको जलप नलगाई जस्ताको तस्तै प्रस्तुत गर्न सक्नु कविको वैशिष्ट्य हो ।’ प्रा. गोविन्दप्रसाद घिमिरेले लेख्नुहुन्छ – ‘पूर्वाग्रहरहित निष्पक्ष, निर्भिक र तटस्थ अभिव्यक्ति यसमा प्रकट भएको पाइन्छ ।’ गणेश शर्मा पौडेल भन्नुहुन्छ –‘कवितासङ्ग्रहले छन्द दिशामा ठुलो अभावको पूर्ति गर्ने छ ।’ कवि आफैले एउटा श्लोकमा मार्मिक धारणा पस्कनु भएको छ । त्यो पीडा सबै साहित्यकारको हो । सबैको पीडालाई समेटेको श्लोक यस प्रकार छ –

भावनामा बगीराख्दा लेख्न इच्छा हुने मन
कनिकुथी जति कोर्दा लागे ती सब थुप्रिन
हुँदोरैनछ यो इच्छा लेखेको च्याती फाल्दिन
बरु नलेख्नु नै बेस ठान्दथ्यो कहिले मन ।

कृतिभित्र प्रवेश गर्दा– माता र मातृभूमिप्रति खण्डका कविताहरूमा नेपालको राष्ट्रिय गौरव सगरमाथा, बुद्ध, शान्तिको देश, पूर्व मेचिबाट महाकालीसम्म फैलिएको छ र सानो भए पनि विश्वमा यसले परिचय दिएको छ भन्ने सन्देश छ । । आमाले बच्चाको लागि गरेको त्याग, माया ममताको ऋण तिरेर कहिल्यै सकिदैन । आमाजति ठ्रूलो संसारमा कोही हुँदैन । पितृ देवताभन्दा पनि ठुला हुन्छन् भन्ने सन्देश छ भने युवाशक्ति देश निर्माणमा आवश्यक पर्ने भएकोले विदेश पलायन हुनबाट रोक्न पर्छ भन्ने सन्देश छ । गैरआवासीय नेपालीलाई देश धरापमा पर्ने भएकोले देशले गुहार मागेको छ र आएर देशलाई गुहार देऊ भनिएको छ । कालीगण्डकीको उद्गम स्थल, त्यसमा पाइने शालिकग्राम, विभिन्न स्थानका तीर्थस्थल (घाट), त्रिवेणीधाम र यसको जललाई उपयोग गर्न नपाइएको कारणमा इतिहासमा जनिएको छ । नवलपुर क्षेत्रमा रजहरको परिचय र दिदी देवचुली र वहिनी वरचुलीको काखमा रजहर रहेको आदि वर्णन यस खण्डमा कविले सरल सुबोध भाषामा दर्शाएका छन् ।

समसामयिक अभिव्यक्ति खण्ड– यस खण्डमा समसामयिक अभिव्यक्ति विविध प्रकारका आएका छन् । कतै सबै सबैका साथी बन्न सक्दैनन् भन्ने कतै किसानी पेसा उत्तम, किसानबाटै सबै पालिएका र यिनै किसान हेपिएका, कतै मृत्युसँग लडाउन नहुने धारणामा कविले आजको परिपेक्षमा असक्त भै यस संसार जीवित रहन नचाहनेलाई स्वैच्छिक मरण गर्न पाउनु पर्छ भन्दै यसरी मार्मिक अभिव्यक्ति दिएका छन् –

इच्छा माफिक पर्छ मृत्यु हुनमा मिल्दा दुवैको मत,
यस्तो कानून बनाई दिनुहोस् हे ! देशका सांसद
सोचेरै यति राज्यले अब यहाँ कानून बनाई सब
पैह्ला बन्न सकेन विश्वभरमा त्यै पार्दिनु होस् अँझ
(श्लोक ६, पृष्ठ २२)

समाजमा देखिएको ठुलो विकृतिमा बोक्सी भन्ने आरोप पनि पर्छ । यो विकृति गरीब, असहाय, बुढी नराम्रीलाई लगाउने गरिन्छ । यस्तो अज्ञानता फाल्नको लागि कानून र समाजको संयुक्त प्रयासबाटमात्र सम्भव छ भन्ने कविको धारणा आएको छ । मानिस स्वास्थ रहनु पर्छ स्वास्थ नै सुखको आधार हो । यसको लागि समयमा सुत्ने समयमा उठ्ने, ब्रह्ममुहूर्तमा गरिने स्नान, सुत्नु अगाडि राखिएको पानी उठ्ने बित्तिके पान गर्नु, खाना खानु अघि एक घण्टा र खाए पछि दुई घण्टा पेय पदार्थ लिन नहुने, चिनीलाई मन्दविषको रूपमा लिने र सख्खर खान हुने, पन्ध्र दिनमा गरिने ब्रत राम्रो, खाना पछि ब्रज आसनमा केही क्षण बस्नु, आदि जीवन स्वास्थको लागि गरिने सन्देश यसमा आएका छन् । मानिसको माग्ने प्रवृत्ति त्याग्नु पर्छ र आलस्य त्यागेर कर्म गर्यो भने माग्ने चिज स्वत प्राप्त हुन्छ भन्ने धारणा, कामादिमा लाग्नु राम्रो होइन जस्तै जार्का सङ्गमा लागेर विश्वासी पतिको हत्या गराइएको पाइन्छ । शिवजी मोहिनीको पछि लागेर लज्जाबोध भएको थियो । विश्वामित्रले मेनकाको पछि लागेर तप भङ्ग भएको, नारदको पनि विवाह गर्न खोज्दा लज्जा भएको थियो । त्यसोहुँदा मनको मोहजालबाट उम्किन गाह्रो हुन्छ । कतै अस्तित्वको खोजी गरिएको छ, कतै चाडपर्व बोझिलो रूपमा मनाउँदा दशा लाग्ने हलुको रूपमा मनाउँदा रमाइलो बन्ने त्यसोहुँदा चाड सुमधुर रिसराग छाडेर मनाउनु पर्छ भन्ने धारणा छ । कविले जे लेखेका छन् समय सान्दर्भिक देखिन्छन् । सत्य युग र कलि युगको तुलना गरिएकोमा उनको बालक कालको र आजको परिस्थिति केलाउँदा कलिको पनि सत्य युगसँग केही मिलेको आभास पोखेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्यमा श्रद्धाञ्जली अर्पण गर्नु विधवाहरूले भोगेका घर र समाजको तिरस्कार कुराहरू । आमाले जन्म दिनु पालन पोषण् गर्नु बच्चा हुर्काउनु र भविष्यमा सन्ततिबाट सेवा पाउने आशा सबैमा हुन्छ । यसलाई छोरा बुहारीले राम्रो मार्ग अवलम्वन् गरेमा घरनै स्वर्ग बन्न आउँछ भन्ने धारणा आएको छ ।

एउटा मानवीय प्रवृत्तिलाई संयम शीर्षकमा कविले यसरी प्रष्ट पारेका छन् । एउटा सप्ताहमा पण्डितलाई खानपानको लागि एउटी पत्नीलाई लगाएका र पत्नी र पण्डित बीचमा देखिएको अनैतिक सम्बन्धमा सात दिनसम्म संयम अपनाई यज्ञलाई निरन्तरता दिई सातौ दिनमा पंण्डिललाई नै पत्नी दान दिएको एउटा आश्चर्य लाग्दो रहस्यलाई उद्घाटन गरिएको छ । यस्ता घटनालाई असत्य मान्न पनि सकिदैन किनकि पत्नी नै पण्डितलाई दान दिएको भन्ने हल्ला मैले पनि सुनेको थिएँ । पण्डितले नलजाई ग्रहण गरेर लिएर गयो अरे भन्ने चर्चा सुन्नमा आएको थियो । जीवन जगतसँग पनि कवि परिचित छन् । मानिस भएर वोर्लोक पर पर्लोकलाई हेरेर काम गर्नु पर्छ किनकि जीवन छोटो छ हेर्दा हेर्दै समाप्त हुन्छ । केक काटेर जन्मोत्सव मनाउनुभन्दा एकबृक्ष रोप्दा असल हुने कविको भनाइ छ । यसरी नै छोरी जन्मदै पुज्य हुन्छन् । यिनै कन्याबाट महापुरुषको जन्म हुन्छ । यस्ता छोरीलाई विवाह गरेर गई वर–घरमा भोग्न पर्ने कठिनाई, दाइजोका कारणले भोग्न परेको र्मत्युवरण, छोरीको गर्भ रहेको भए गरिने भ्रूणहत्या र भ्रूणहत्याबाट छोरीको संख्या कम भएर बहुपतिप्रथामा जान पर्ने अवस्था आउनु सक्ने धारणा आएका छन् कवितामा । जन्म थात स्वर्गभन्दा पनि प्याारो लाग्ने कुरा, महगाइले ढाड भाँचेको हुँदा सरकारले सस्तो पसल दशैंमा मात्र नभएर सधैं खोल्नु पर्ने, न्याय मूर्तिले सहज छिटो र निश्पच्छ्य न्याय दिनु पर्छ, अदालत नै नायको सर्वोच्ता हो, धन्ने कुरा, विजय एफएम र कालिका एफ्एमले संचार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै हार्दिक शुभकामना प्रदान गरेका कुरा यस खण्डमा आएका छन् ।

राजनीतिक कर्मीप्रति– नेपालका राजनीतिककर्मीमा देखिएका कमी कमजोरी, माओवादीको जन्म, त्यसले पुर्याएको हानी नोक्सानी विकृति, सम्झौताको ढिलोगरी गरिएकोले नोक्सानी बढ्ता भएको, राजनीतिकर्मीले चुनावमा दिएका आश्वासन, सत्तामा नहुँदा सरकारी जग्गामा सुकुम्वासी बसाएर लालापूर्जा ल्याइदिने, आश्वासनमा मत प्राप्त गर्ने, मत पाइसकेपछि बोलेका कुरा कार्यन्वयनमा नलाने, झुटको खेती गर्ने, यस्ता झुटका खेती गर्नु, प्रजातन्त्रमा देखिएको भ्रष्टचार, उमेदबारीमा देखिएको चलखेल, सीमा अतिक्रमण, नेतामा भाषणमामात्र राष्ट्रवाद देखिने, सतिप्रथाको कष्टदायी अवस्था, सति जान पर्ने वाध्यता, सन्तानले भोग्न पर्ने कष्टता आदिलाई मनन गर्दै सतिप्रथा हटाएकोमा कविले चन्द्रशम्सेरलाई धन्य सम्झेका छन् । नागरिक समाजका अगुवालाई आजको राजनीतिक अवस्थामा किन जाँगर मारेको भन्दै राजसत्ता फालिएर आएको अवस्थालाई कविले एउटा मार्मिक कथासँग लगेर जोडेका छन् । कथा यस प्रकार छ एउटा मानिस हस्याङ्पस्याङ् गर्दै एउटी बुढी आमैसँग आकाश खस्ने भयो खाल्टो खनेर पुरिएर बाँचन पर्यो कोदालो दिनुहोस् भनेपछि बुढीले पनि म असाहाय छु मलाई पनि पुरिदिनु पर्यो भनी आग्रह गरेपछि उसले बुढीलाई पुरीदियो । उनको सम्पत्ति र घरमा कव्जा गरेर बस्यो । यसरी नै राजतन्त्र पुरियो देशमा भागबिलाको राजनीति चल्न थाल्यो । गणतन्त्रका पहिला प्रधानमन्त्रीलाई वी.पी.सँग जोडेर लेखिएको कवितामा दिल्ली को १२ बुँदे सम्झौता गर्दाको कुरा लिएर आलोचना भएको छ भन्दै कवि यसरी प्रस्तुत भएका छन् –

दिल्ली बाह्रबूँदे छिरेर जब त्यो यो देशमा भित्रियो
चर्को द्वन्द समाप्त नै गरिदियो त्यो राजसंस्था हट्यो
जस् औजस् यसको अवश्य तिमीले पर्नेभयो त्यो लिन
देशमा अस्थिरता छँदैछ अँझतक गाह्रो भयो सुधृन ।
(श्लोक ८, पृष्ठ ८७)

गणतन्त्र आए पछिको राजनेताले सरल रूपमा राज्य संञ्चालन गर्नुभन्दा पनि महाराजको रूपमा देखिएका हुँदा एउटा राजा पाल्न नसकिने भनिएको देशमा आज धेरै राजाको रूपमा दर्शिएका नेतालाई देशले कसरी थाम्ला भन्ने चिन्तामा कवि देखिएका छन् । ७० सालमा दार्चुला जिल्लामा वाढी पैरो पीडितलाई राहत बाड्न गएका पूर्वराजालाई तत्कालीन प्रधानमन्त्री जसबाट जनताले देश विकासमा आशा लिएका थिएले बोलेको शब्दलाई लिएर लेखिएको कविताको अन्तिम श्लोकलाई मैले यहाँ प्रस्तुत गर्दछु –

देशकै माथ उचा गराउन सके बढ्ने त हो कीर्ति त
ख्वैरो मात्र खनी कदापि अरूका बढ्दैन त्यो निश्चित
सम्मानै दिन सक्नुपर्दछ ठुलो बैरीहरूमै पनि
लेख्छन् नैतिकशास्त्रमा जति कुरा चारणक्य आदि मुनि ।
(श्लोक ८, पृष्ठ ९१)

दशवर्षे द्वन्द्वले थिलो थिलो पारेको देशलाई अर्को भूकम्पले निम्त्याएको कष्टदायी जीवनमा कविले आफ्ना धारणामा दाताबाट प्राप्त राहतको सही सदुपयोग सही वितरण हुनुपर्ने धारणा राखेका छन् । श्वानभक्ति अर्को मार्मिक र आजको यथार्थता समेटेको कविता हो । आफैलाई मार्न लागेको मालिकलाई कुकुरले देखाएको भक्तिभावलाई आजको राजनीतिक प्रवृतिलाई समेट्ने प्रयास गरिएको छ । अठ्तीसौं प्रधान मन्त्रीज्यूले सफत खाँदा संविधान र कानूनलाई मिचेर ईश्वर शब्द हटाएर सफत लिएको धारणा मर्यदा विपरित भएको र आफ्नो चाह पुरा भए पनि जनताको चुलो बन्द भएको जस्ता विविध धारणाहरू यहाँ समेटिएका छन् । कविको धारणा प्रष्ट छ । अधिकार खोजियो अधिकार पाइयो, सत्तामा गइयो छ छ जना उपप्रधानमन्त्री बनाइयो, आफैले बनाएका विधान आफै कुल्चेर हिडियो देशको अर्थतन्त्र खस्केर गयो । यस्तो अवस्थामा अचम्ममा परेर पनि समाज कोही बोल्दैन । संघीयतालाई पनि राम्रो सँग ध्यान दिन नसकिए देश सिक्किमको अवस्था आउन सक्छ । दशवर्षे जनयुद्धले निम्त्याएको कहाली लाग्दो अवस्था जस्मा संरचना लगायत धनजनको क्षतिलाई कविले खुलापत्रबाट प्रष्ट पार्नुभएको छ । यस सम्बन्धमा कवि चिन्तित हुँदै लेख्नुहुन्छ –

लेख्ने छन् इतिहासमा सबकुरा विस्तारमा जे जति
ठुला यी परिवर्तन नै हुन गए गिर्दै छ देशको गति
राज नेता हुनुपर्छ वर्ष दशमा जे जे भएथ्यो क्षति
लाग्नै सक्दछ श्राप मातृभूमिले भोग्दै गए दुर्गति ।
(श्लोक १९पृष्ठ १०६)

देश विकास गर्न नेतालेमात्र हुँदो रहेनछ राजनेताको आश्यक पर्दोरहेछ । त्यसो हुँदा एउटा राजनेता जन्माइदिनको लागि अधिपतिलाई आग्रह गरिएको छ ।

घ. खण्डमा मेरो कमण्डलु शीर्षकमा अमेरिका यात्रा र यमराजलाई इमेल, दुई कविता छन् । यहाँ अमेरिकाको यात्राको वर्णन गरिएको छ । कतार एरवेजमा काठमाडौबाट कतार पुग्दाको जहाजभित्रको स्वागतको बर्णन, दोहा कतारबाट पुन जहाज डाल्लसमा पुगेको र त्यहाँबाट सान्एन्टोनियोमा जो गन्तव्य स्थल थियो त्यहाँ छोरा लिन आएर छोराको निवासमा पुगेको वर्णन रोचकताको साथमा उठान गरिएको छ । नेपालबाट जहाजमा २३ घन्टामा त्यहाँ पुगेको र त्यहाँ पुगेर सुत्दा बानी नपरेकोले निद्रा लाग्न सकेन, विहानी यात्रा, कुकुरलाई साथ सिलएर हिडेका, कुकुर स्नान, झुटो नबोल्ने, नठग्ने, काममा ढीला सुस्ति नहुने, यहाँको प्राकृतिक वर्णन आदिको सुन्दर चित्र गरिएको छ । यस कवितासङ्ग्रहको अन्तिम कविता यमराजलाई इमेल रहेको छ । मानिस जन्मिन्छ अनि मर्छ । मर्दा कुनै बहाना बनाएर मर्छ जस्तै जरो आयो, झाडा पखला आदि रोगले मानिस मर्यो भनिन्छ । मृत्यु हुनु भनेको यमराजले लाने हो तर ऊ दोषी देखिदैन । कविले यमराजलाई त्यस्तो छलीकाम नगर्न र आफूलाई लाने साल दिन गते बारलाई किटानी गरेर जानकारी गराइदिने भनी इमेल पठाएको सन्देश यस कवितामा छ ।

मैले माथि कविताले दिन खोजेका सन्देशको सूक्ष्मरूप प्रष्ट्याउने प्रयास गरेको छु । यी कविताले समाजमा देखिएका विकृति विसङ्गति, कुसंस्कृति अन्याय अत्यचार, कुप्रथा राजनीतिक प्रवृति, विकृति जनताले भोग्न परेका कष्ट, नेतृत्वले गरेका हालीमोहाली, प्रजातन्त्र गणतन्त्र, सांसदले गरेका काम दलभित्रको भोग्न परेका विवशता, माता र मातृभूमिप्रतिको प्रेम, समसामयिक यथार्थता, बाडीपैरो र भूकम्पले निम्त्याएको कष्टदायी जीवन, माओवादी युद्धले गरेको राष्ट्रि धनजनको क्षती, संविधानको निर्माण, संविधानको उल्लंघन, स्वर्गीय स्रष्टाप्रति श्रद्धाञ्जलि, प्रधानमन्त्रीका अभिव्यक्ति र कार्य सम्पादनले देशमा ल्याएको आर्थिक ह्रास, सति प्रथाको उन्मूलन, श्वानभक्तिरूपी चाकडी प्रवृति, संचार मेडियालाई शुभकामना, जीवन जगतका कुरा, गरीबी, जातीय विभेद, आदिलाई प्रष्ट्याउने प्रयास गरेका छन् । भाषा सरल छ । प्रस्तुति स्वच्छन्द रूपमा दर्शिएको छ । जे देखिएको छ कवितामा त्यही लेखिएको छभन्दा अतियुक्ति हुने छैन भन्दै बिदा हुन चाहन्छु र कविज्यूमा सुस्वास्थ एव म दीर्घायुको कामना गर्दछु ।

सदानन्द अभागी
कवासोती न.पा. वडा नं ७, शान्तिचोक, नवलपुर, गण्डकी प्रदेश नेपाल

मति २०७७ साल भाद्र २० गते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *