तिम्रो अविरल स्पर्शको कुराइमा
मनधारी म भित्रको अन्तरात्माले
कति अखप छटपटीहरू पचाए
कति ब्यग्र उकुसमुकुसहरू पिए
कति अधिर पलहरू बिताए
तिम्रो आगमनको स्वागत गर्न
आतुर मेरा उत्ताउला नजरहरू
तिम्रो बाटो हेर्दाहेर्दै थाकिसके
तिम्रो आभासको सपना देखिरहँदा
कटु बिपनाको ठक्करले टुटिसके
तिम्रा पदचापका झङ्कार सुन्न
उत्सुक मेरा संगीतमैत्री कर्णपटहरू
गोरेटाका रिक्तता सुन्दासुन्दै तड्पिसके
तिम्रो पाउको सरगमको साटो
भ्रामक श्रव्यताको निसानबाजीले भत्किसके
तिम्रो बहुप्रतिक्षित सुगन्धपान गर्न
पागल मेरो महकप्रेमी नासिका
पवनका झोक्काहरू सुघ्दासुघ्दै जिल्लिसके
तिम्रो श्वासको महकताको बदलामा
दुर्गन्धको तिखो प्रहारले भाँचिइसके
तिम्रो कोमल स्पर्श पाउन
लालायित मेरो भावुक चर्म
अशान्तिको निशाना बन्दाबन्दै धर्मराइसक्यो
तिम्रो परमानन्दीय छुवाइ चाहँदा
काँडाको दर्दशील घोचाइले पोलिसक्यो
तिम्रो सौम्य आभा चाख्न
आतुर मेरो भोको जिब्रो
हैरानी चाट्दाचाट्दै दिक्क भैसक्यो
मधुस्वादको मिठास मनमा कल्पिदा
स्वाद अमैत्री कोचाइले खुइलिइसक्यो
ज्वारभाटा बनी बिस्फोट हुन
उकुसमुकुस मेरा ज्ञानेन्द्रियहरुका लाभा
आफैम्भित्र उम्लिदाउम्लिदै उर्ध्वपात हुन्छन्
शान्तिको अधर चुम्नै लाग्दा
कोलाहलले अपेक्षित लक्ष मोडिदिन्छन्
कोलाहल र चित्कारको घण्टाघरमा
हल्लिरहेका यी लंगुर जिन्दगीहरू
जीवन र मरणको दोसाँधमा तड्पिरहेछन्
काकाकुल मरुभूमिमा जिउन घिस्रिरहेका
त्रिषित र अशान्त श्वासहरू
तिमीसँग अमृत बुटी मागिरहेछन्
हत्या,हिंसा र यातनाले छट्पटाइरहेका
असंख्य बलिका बोका जिन्दगीहरू
निस्फल बलिदानको सागरमा डुबिरहेछन्
बलिदानको मह चाट्ने चाटुकारहरू
ऐसआराम र दमनको कुर्सीमा घुमिरहेछन्
आऊ प्रिय शान्ति आऊ
जीवित लासलाई सञ्जीवनी पिलाऊ
अराजकताले लखेटिरहेको बिवस शिकार
अतालिदै तिम्रो शरण खोजिरहेछन्
बेथिति खप्दाखप्दै चिरिएका मुटुहरू
तिम्रो आभासको स्पन्दन रोजिरहेछन्
आऊ प्रिय शान्ति आऊ
चहराइरहेको घाउमा मलम लगाउन आऊ
इति

शान्ति
प्रत्येक हरफले स्तब्ध बनायो