Skip to content

मेरो कविता


मेरो कवितामा
सञ्ज्ञा, सर्वनाम, क्रिया र विशेषणहरूसँगै
भूत, वर्तमान भविष्यहरू छन् ।
माया गर्ने जोडीहरूका लागि
एकान्त वनपाखा छ,
सपना देख्नेहरूका लागि
मेरो कवितामा
स्वप्नलोक पनि छ ।

मेरो कवितालाई
मैले काउकुती लगाएको छु
इत्रिनुसम्म इत्रेको छु,
अम्बल डम्बल पनि खेलेको छु,
अक्षरहरूको सिन्दुर लगाएर
भावनाहरूको घुम्टो ओढ़ाएको छु ।

मेरो कवितामा
आफ्नो माटोको सुगन्ध छ,
साँघुरो बाटोको दुर्गन्ध छ,
हरियो चियाबारी छ,
नक्कले भाइबहिनीहरू छन्,
खै खै भनेर खैनी मागेर खाने
पहाडको रानी छ,
फ्रीमा पायो भने
हारालुछ गर्ने हाम्रो बानी छ,
मुखमा मीठो बोली छ,
भानु जयन्तीमा मात्र लाउने
मेरो कवितामा
दौरा सुरुवाल र फरिया चोली छ,
भाते जाँड खाएर
झ्याउला मचाउने गाउँलेहरू छन्,
झगडा मिलाउने गाउँ, गाउँमा समाज छ,
झोक्राएर बसेका
निकै ठुलो बेकारी जमात छ ।

मेरो कवितामा
डल्ले खोर्सानीको पिरो छ,
जुलुसमा जति नै उफ्री पाफ्री गरे पनि
पऋणाम भने जिरो छ,
दुःख र वेदनाले छटपटाएका
हाम्रो जिन्दगीमा
गुन्द्रुक र किनेमा जस्तो अमिलोपन छ।

मेरो कवितामा
डाइबिटिज रोगको भरमार छ,
यो खानु, ऊ नखानु भन्ने
घर घरमा
झोला छाप डाक्टरहरू छन्,
पाहुनाको लागि खानु र बस्नु बाहेक
साँझ तानतुन गर्ने व्यवस्था नभएको
सुँगुर र भैँसीको भोगचलन नगरेको
चियाकोसाटो काढाको सेवन,
चिनीको साटो
सुगर फ्रीको प्रयोग भएकोले
मेरो कविता अलिक खल्लो र
निकै टर्रोपिरो हुन्छ,
त्यसैले मेरो कविता
कसैलाई मन पर्न सक्छ
कसैलाई मन नपर्न पनि सक्छ ।

– बी बी ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *