विदेशमा बसेर
म पहाड सम्झदै छु,
पहाडसँगै चाडबाड र
ढकमक्क फुलेका
सयपत्री र मखमली सम्झदै छु,
लिङ्गेपिङ सम्झदै छु,
लिङ्गेपिङसँगै
तिहार र भाइटीका सम्झँदैछु ।
घरका सँघारहरू
सयपत्रीको मालाहरूले सजेको होला,
त्यहाँका बार्दलीहरू
झिलीमिली बत्तीले जगमगायो होला,
पुस्तका र नवीन खडकाको
भैलेनी र देउसी गीतहरू
घर घरमा बजिरहेको होला,
पारम्परिक भेषभुषा लगाएर
चेलीबेटीहरूले भैलेनी खेलिरहेकी होलिन्
भाइटीका लगाउन
चेलीले माईतीको बाटो हेरिरहेकी होलिन्,
यहाँ न त भाइटीका लगाइदिने चेलीहरू छन्,
न चाडबाड र लिङ्गेपिङ नै छ,
न आफ्नोपन र गाउँलेहरू नै छन्,
सबै आफ्नो धुनमा मस्त छन्,
सबै आफ्नो धुनमा व्यस्त छन् ।
मेरा यी दुई आँखा भने
अविकसित भए पनि
मेरो मायालु गाउँघरमै पुगेको छ,
मेरो मन,
वल्लो घर र पल्लो घर
धने र मने, साईंली र माईली
चौतारी र फँलैचाहरूमा डुलेको छ,
कसरी बिर्सन सक्छु र
रमिते र मायालु पाखाहरू
मितेरी लाएका साइनोहरू,
जीवनमा पाएका खुशीहरू ।
यो हाईटेक सहरमा
सबै थोक भएर पनि केही नभए जस्तो,
सबै थोक पुगेर पनि नपुगेको जस्तो,
यो सहर झलमल्ल भएर पनि
आफू अलमल्ल परे जस्तो,
अहिले म,
मेरो मायालु सम्झदै छु,
बाँसुरी र मादलको धुनहरू सम्झदै छु,
भाइटीका लगाइदिने मेरो चेली सम्झदै छु,
छरछिमेकी र आफन्तहरू सम्झदै छु ।
किनभने
त्यही नै बाँचेको छ,
हाम्रो संस्कार र संस्कृतिहरू,
यहीँ नै बसेको छ
हाम्रो आत्मीयता र आत्माहरू ।
-बी बी ठकुरी
मिल्टन, कनाडा
14/11/2020
