
शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥
ऋषि मुनि तप सिद्घा साधिने देवदेश
बन चउर बुटी औ जीव पन्छी प्रदेश
न कलुषित छ हावा रम्य हाम्रो धरामा
मनुज प्रथम वस्ने शैलका कन्दरामा ॥२॥
हिमशिखर खडा भै राज्य हेर्छन् विशेष
समथल कति राम्रा चौर घाँसे प्रदेश
विविध कृषि पशु औ पक्षका लागि वेस .
प्रकृति रस भरेको स्वर्ग नेपाल देश ॥३॥
हरित वन र पाखा भीर बारी उज्याला
पृथक छ जनवस्ती भेष भाषा र चाला
कल कल नदवर्ती खेत देखिन्छ राम्रो
विविध वन बगैँचा सम्यता एक हाम्रो ॥४॥
अलिक तल चुरेका दक्षिणी भेग नेर
अनुपम छ तराई वस्तीमा गाँऊ धेर।
सहजसँग बसेका जात जाती मिलेर
दलहन फल बाली अन्न भण्डार धेर ॥५॥
प्रा.धर्मराज कोइराला
