Skip to content

हार्दिक श्रद्धाञ्जली कविवर !


प्रकृति काख जन्मियौ नाम माधव भनेर
ती गौरीशङ्कर द्रौपदीदेवी सुपुत्र बनेर
लम्जुङे डाँडा पुस्तुन गाउँ अति नै सुन्दर
बितेको थियो त्यो बालापन हुर्केर त्यै घर

कोमलकान्त भावका धनी सरल सिर्जना
घोलेर उस्तै देशेको भक्ति मेटाउने तिर्सना
ए राष्ट्र कवि तिमी हौ रवि पाखण्ड हरण
छरेर नौलो किरण तम तिम्रै भो शरण

नेपाली माटो ढुङ्गा र बाटो बसाउने कविता
बग्दथ्यो तिम्रै भावना बोकी त्यो काव्य सरिता
पहाड बेँसी तराई फाँट खोला र नालामा
नेपाली हावा चल्दथ्यो सुन फुलेका बालामा

मस्र्याङ्दी नदी सुसाई जाला गीतमा उनेको
गौरीमा खोज्छु आँसुको मूल्य मनले रुनेको
त्यो धर्ती पुत्र सम्झई देला जीवन दर्शन
विह्वल मन पीडाको थोपा थाल्दछ बर्सन

भाव र भाषा लयको उच्च सुन्दर तालमा
ती कालजयी सिर्जना उर्लून् गङ्गाको छालमा
मानवताका पुजारी तिमी मन्छेत्व मान्छेमा
खोजेर क्रान्ति बिगुल फुक्यौ त्यो राजेश्वरीमा

अजेय गीत रचना गरी पारखी झुलायौ
रचेर गीति नाटक राम्रा गुलाब फुलायौ
स्फटिक जस्ता सुन्दर दाना काव्यका लहरी
छन्दका मूल नक्षत्र तिमी छन्दकै पगरी

भानुको थियो सरलपन सुगन्ध टल्कने
पौडेल तिम्रै कविताभरि शैलीमा झल्कने
ती देवकोटा भावको घोडा चढेर आउँथे
के बाल वय सबले उस्तै कविता गाउँथे

बसेर सारा नेपाली हामी सबको आँखैमा
निदायौ कैल्यै नउठ्ने गरी आमाको काखैमा
नरहे पनि त्यो जड देह मानस पटल
नेपाल आमा रहँदासम्म रहन्छौ अटल

हिमालबाट बहने निर्मल पानीको धारा झैँ
नेपाली काव्य आकाशमाथि बिहानी ताराझैँ
अमर बनी चम्केर सधैँ काव्यको आलोक
छरेर भव्य उज्यालो दिव्य रहन्छ यो लोक

अनन्त तिम्रो साधना शक्ति अमूल्य भाउमा
यी शब्द माला चढाऊँ तिम्रै कोमल पाउमा
यो सानो मुख के बोलूँ धेरै जान्दिनँ म केही
आत्माको अन्त्य हुँदैन कैल्यै सम्झन्छु म त्यही

(लोक लय)

– बी एस नीरव
फलेवास – ७, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *