हिउँभन्दा पनि गोरी एउटी काली छे
यदाकदा माया लुकाउने अलि जाली छे
काली तिम्रै मुस्कानमा हराउने गर्छु
तिमीलाई देखी निदरीमा कराउने गर्छु
लजाएर विपनीमा परपर भाग्छे
घरिघरि सपनीमा रात चोर्न आउँछे
अँधेरीमा जुनसँगै जुनकीरी झैं बल्छे
उजेलीमा घामसँगै न्यानो किरण छर्छे
भुल्नै गाह्रो हुनेगरी परेलीमा बस्छे
जिउँनै साह्रो हुनेगरी धडकनभित्र अट्छे
छटपटीमा रात कट्छ दिन कठोर हुन्छ
आँखा हाँस्छ मन रुन्छ व्यथा कसले बुझ्छ
सगरभन्दा अग्लो तिमी सागरभन्दा गहिरो
रित्तो रित्तो छाती मेरो तिम्रै प्रेमले भरियो
एउटै खोली बग्ने हामी वल्लोपल्लो बगर
भेट नभएनिसँगै हिड्ने एउटै हाम्रो रहर
काली तिम्रै मुस्कानमा हराउने गर्छु
तिमीलाई देखी निदरीमा कराउने गर्छु
राम योञ्जन
पोखरे, भोजपुर।