जालको कमाल


सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा …!” घरको ढोका खोलेपछि बोल्दाबोल्दै सुरजीतको बोली रोकियो ।

काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ । तँ यस परीक्षामा पनि पहिला नै भइस् होइन ?”

सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो ?”

कनैयाले फेरि भने–“भैगो मेरो पीर नगर । बरु भन्, तँ पहिला नै भइस् होइन ?”

“हो बा ! प्रथम नै भएँ । म धेरै पढ्छु । धेरै पैसा कमाउँछु अनि तपारईंलाई सुख दिन्छु नि !”

कनैयाले हर्षको आँसु झार्दै भने–“बिरामी हुँदा तेरी आमा भन्थी, पीर नगर्नोस् । म नरहे पनि सुरजीतले तपाईँलाई सुख दिन्छ । कुरा साँचो नै रहेछ । तँलाई भोक पनि लाग्यो होला । घरमा केही खानेकुरा छैन । पुजारीको होटलमा पैसा माग त्यही पैसाले तँलाई खाजा र मलाई ज्वरोको औषधी लेरा ।”

हुन्छ भन्दै सुरजीत पुजारीको होटेलमा पुगे । उनलाई देख्नेबित्तिकै पुजारीले हकार्दै भन्यो – “ए फुच्चे ! खै माछा ल्याएको ? त्यरो बाबु कता हरायो हँ ? ”

सुरजीतले डराउँदै भने – “बाबु बिरामी हुनुहुन्छ । बाबुले पैसा माग्न …. ।”

सुरजीतको कुरा टुङ्गिन नपाउँदै पुजारी झोक्कियो–“छैन पैसासैसा यहाँबाट खुरुक्क भाग् । तेरो बाबुले माछा ल्याउँछ भनेर पर्खेर बसेको थिएँ । यसबेला रित्तो हात पैसा पो माग्न आउँछ मूर्ख । अब कोसँग माछा किन्नु ? अबदेखि तेरो बाबुसँग ठेक्कामा माछा लिन्न भनिदे ।”

साहूको कुराले दु:खी हुँदै सुरजीत काकाको घरमा गए । घरभित्र पस्नेबित्तिकै काकीले भनिन्– “होइन किन आइस् सुरजीत ?”

सुरजीतले बाबु बिरामी भएको कुरा बताए । काकीले व्यङ्ग्य हाँसो हाँस्दै भनिन्–“तँसँगको मेरो छोराले आफै माछा मारेर पैसा कमाउँछ । तँ घरघरै पैसा देऊ भन्दै हात थाप्दै हिँड्छस् । कत्तीन पढ्ने भैखाको थिस् । बाबु मरेको टुलुटुलु हेर अब छैन पैसासैसा जा निस्किहाल ।”

काकीको कुराले आँखाभरि आँसु पार्दै सुरजीत आफ्नो मिल्ने साथी कृष्णराजको घरमा गए । उनी आँगनमै रहेछन् । सुरजीतले बाबु बिरामी भएको, काकीले पैसा नदिएको सबै कुरा बताए ।

कृष्णराजले पीर नगर भनी सम्झाउँदै कोठामा गए । आफूले थुपारेको पैसा ल्याई सुरजीतलाई दिए ।

सुरजीतले धन्यवाद, कृष्ण ! पैसा चाँडै फिर्ता दिउँला भनी निस्कँदै थिए । बाहिरबाट आएको रामबालकले सुरजतीको हातमा पैसा देखेर रिसले झ्याम्मै मुठ्ठीमा हाने पैसा भुइँम्भरि छर्रियो ।

सुरजीत र कृष्णराज नै डरले थरथर काँमे । रामबालकले रिसाउँदै भने–“दुईचार अक्षर के पढेको थिइस् । घरघरै आएर पैसा ठग्ने भइस् होइन फटाहा ?”

कृष्णराजले रुञ्चे स्वरमा भने–“उनको बाबु बिरामी भएर पो मागेका हुन् । पछि फिर्ता दिन्छन् ।”

रामबालकले सुरजीतलाई धक्का दिएर गेटबाट निकाले । कृष्णराजलाई चुप लाग् भनी, घिच्याउँदै घरभित्र पस्दै भने–‘‘आइन्दा यसको छाया मात्र यहाँ देखे भने दुवैको खुट्टा काटिदिन्छु बुझिस् ?’’

सुरजीत बरबर आँसु झार्दै घर आए । के गर्ने के नगर्ने सोच्नै नसकेर अलमल्ममा परे । वर्सादको समय आकाशबाट सिमसिम पानी पनि परिरहेको थियो । उनलाई रित्तो हात घरभित्र छिर्न पनि पटक्कै मन लागेन ।

घोरिएर एकछिन झुन्ड्याएको माछा मार्ने जाल र पेरुङ्गोलाई हेरे ।

जे त होला भन्दै जाल र पेरुङ्गो झिकेर रुझ्दै परासी खोलातिर लागे ।

खोलाको तीरमा उभिएर खोलामा के जाल मात्र हालेका थिए । पानीको बेगले सुरजीतको हातबाट जाल फुत्कियो । सुरजीत जाल भेटिन्छ कि भनी खोलाको किनारैकिनार दौडिए । धेरै तल खोलामा ढलेको रूखको हाँगामा जाल अड्किरहेको देखेर साह्रै खुसी भए । जाल झिक्न लाग्दा झन्डै उनलाई खोलाले बगाएन । धन्न रूखको हाँगामा समातेर बल्लतल्ल जाल लिएर किनारामा आए ।

सुरजीतले फेरि बडो होसियार साथ जाल फ्याँक्दै गए । दुई-चारपल्ट त जालमा एउटै माछा परेन तर पनि उनले जाल फ्याँक्न छोडेनन् । पाँचौपल्ट जालमा एउटा माछा पर्यो ।

सुरजीतले खुसी हुँदै जालले कमाल गर्यो भन्दै माछा समाते । सिङ्गे माछा परेछ त्यसले हान्दा औँलाबाट रगतको धारा नै बग्यो । ज्यादै दुख्यो तर पनि हिक्मत हारेनन् ।

जाल फ्याँक्दै गए बिस्तारै एकदुई वटा माछा पर्दै गयो । माछा राख्न पेरुङ्गो हेर पेरुङ्गो नै हराएछ । लगाएको सट फुकालेर सटमै माछा हाल्न थाले । जालमा माछा परेपछि झन् उत्साहित भएर जाल फ्याँक्दै गए । साँझ झमक्क परेपछि आफूले मारेको एक किलो जति माछा लिएर बजार जाँदै थिए । छिमेकी रोशनीले अचम्म मान्दै भनिन्–“हैन,नाङ्गैबुङ्गै कहाँ गएर आएको सुरजीत ? फेरि हातमा जाल पनि छ ।”

सुरजीतले आँखाभरि आँसु पार्दै बाबु बिरामी भएकोले औषधीको लागि माछा मार्न गएको कुरा सबै बताए ।

“वा ! सुरजीत ! छोरा हुनु त तँ जस्तो पो, ल मलाई माछा दे, पाँच सय राख । ‘हुने बिरुवाको चिल्लो पात’ भनेको यही हो । दु:खसुख त परिरहन्छ तर पढ्न पनि नछोडेस् नि ! ”भन्दै माछा लिएर रोशनी आफ्नो बाटो लागिन् । रोशनीको दयालु भावना देखेर सुरजीत प्रशन्न भए ।

छोरा अबेरसम्म घर नफर्किएको पिरले कनैया छटपटीइरहेका थिए । छोराभित्र पसेपछि अचम्म मान्दै भने–“होइन तेरो यो गति कसरी भयो हँ ? यति ढिलासम्म कहाँ गएको थिइस् बाबु ?”

सुरजीतले सबै कुरा बताउँदै भने–“तपाईंले जाल हाल्न सिकाइदिएको भए मैले आज धेरै दु:ख पाउँदैनथेँ । काकाको छोरा पनि म जत्रै छ । ऊ सबै काम गर्छ । यो जाल त कमालकै रहेछ नि बुझ्नुभयो ?”

कनैयाले लामो स्वास फेर्दै भने–“म तेरो हातमा जाल होइन कलम देख्न चाहन्थेँ छोरा, त्यसैले पो नसिकाएको हुँ ।”

सुरजीतले सम्झाउँदै भने–“बा, म धेरै पढ्छु मेरो पिर नै गर्नु पर्दैन । दु:ख पर्दा अरूसँग पैसा माग्नुभन्दा मेहनेत गरी पैसा कमाउनु राम्रो हो बुझ्नुभयो ? ल औषधी खानुहोस् । त्यसपछि दूध र पाउरोटी दिउँला ।”

कनैयाले छोरातर्फ हेर्दै भने–“बाबु ! अब म तँलाई जाल हालेर माछा मार्न मात्र होइन, जाल बुन्न पनि सिकाउँछु । ‘इलमीले भोकै मर्नु पर्दैन भन्ने कुरा मैले त भुसुक्कै बिर्सेछु बाबु !’ हुन पनि हो मैले माछा मारेर तँलाई दिए भने कही बेरको लागि मात्र भोक भेटाउन सक्छस् । तँलाई माछा मार्ने, जाल बुन्ने सीप सिकाए भने दु:ख पर्दा जीवनभर आफ्नो सीपले बाँच्न सक्छस् । सबै काम जानेपछि दु:ख पर्दैन भन्ने कुरा तैँले नै सिकाइस् । वास्तवमा यो जाल हाम्रो लागि मूल्यवान् नै छ । तेरो साहस र जालका कमालले नै आज काम तमामभयो । नत्र आज हामी भोकै हुन्थ्यौँ ।”

बाबुको कुराले सुरजीत मुसुक्क हाँसे । छोराको ओठमा हाँसो देखेर कनैया पनि हाँसे ।

शिक्षा : (सबै काम जान्यो भने दु:ख पर्दा अरूको आश गर्नु पर्दैन ।)

पुष्कर गौतम सर्वोत्कृष्ट बालकथा पुरस्कार –२०७२

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

1 thought on “जालको कमाल”

  1. राम्राे कथा पढ्न पाइयाे
    राम्राे कथा पढ्न पाइयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *