बाबाको डायरीमा आश्मा


पात्रहरू
आश्मा अर्याल –१२ वर्ष
सुयोग कार्की –१३ वर्ष
प्रसन्न श्रेष्ठ –१४ वर्ष
उत्साह राना –१२ वर्ष
गरिमा लामा –१२ वर्ष
सक्षम थापा –१२ वर्ष
रवि भट्ट – ४३ वर्ष, आदि

स्थान : स्कुल
समय : ९.४५ बजे बिहान

(प्रार्थना गानपछि नमुना मछिन्द्रको चौर खालीजस्तै थियो । विद्यार्थीहरू प्राय: कक्षा कोठामा थिए । अलि अँध्यारो मुख लगाएर न्यून दृष्टियुक्त आश्मालार्ई डोर्याउँदै कक्षाकोठाभित्र पसेको सक्षमलाई देखेर सबै अचम्म पर्दै हेरेको हेर्यै भए ।)

प्रसन्न: (बेञ्चबाट जुरुक्क उठेर जीउ तङ्काउँदै) लौ न, म आज सपना त देखिरहेको छैन ? के उल्का हो यो ?

सुयोग : (ठूलो स्वरमा) पश्चिमबाट घाम झुल्केपछि कसलाई सपनाझैँ नलाग्गा र भन्या ?

उत्साह : (बेञ्चबाट उठेर गएर सक्षमको हातबाट आश्माको हात छुटाउँदै, साथीहरूलाई हेर्दै उस्तै ठुलो स्वरमा) अब घाम उदाएर पो के नै गर्नु छ र ? (सक्षमलाई हेरेर झोक्किँदै) आश्मासँग टाढा नै बस् मूर्ख, तँलाई स्कुलबाट नै निकाल्ने कुरा भइरहेको छ । यही आश्माले बचाउँदै आएकीले अहिलेसम्म अडेको छस्, बुझिस् ? (हातको हाउभाउ पनि देखाउँदै ।) हिजो त म यो झारे स्कुलमा पढ्दै पढ्दिन भन्थिस् त ! आज फेरि केको नाटक हो हँ यो तेरो ?

आश्मा : (नम्र स्वरमा) साथीहरू, भैगो चुप लाग । सुयोगलाई केही नभन । उनले म तिमीलाई डोर्याउँछुभन्दा मलाई पनि कतै सपनामा छु कि भनेजस्तै नै लागेको थियो सुरुमा तर म आज साह्रै खुसी छु । सुयोग पनि अब ज्ञानी भएर राम्ररी पढ्छन् । सप्रिन चाहनेलाई मौका दिनुपर्छ बुझ्यौ ?

गरिमा : (ठूलो स्वरमा बेञ्चबाटै) यो सप्रिनु भनेको चाहिँ बगेको खोला फर्किनुजस्तै हो ।

रवि सर : (कक्षाभित्र पस्दै) लल सबै आआफ्नो बेञ्चमा बस त । हैन कहाँ बग्यो खोला ? म अलिकति ढिलो हुँदा यसरी हल्ला गरेर बस्ने हो त ? ल छिटो सबैले आआफ्नो गृहकार्य झिकेर अगाडि राख ।

प्रसन्न : (रवि सरको कुरा सकिने बित्तिकै ) सर आज त शुक्रबार । हामीले कक्षामा रमाइलो गर्ने दिन होइन र ?

रवि सर : (पहिलो बेञ्चको छेवैमा बसेको सक्षमलाई हेरेर थोरै मुस्कुराउँदै) ओहो ! सक्षम पनि आज पहिलो बेञ्चमा आश्मासँग बसेका ?

सुयोग : हो भन्या सर ! अस्ति न आश्मालाई जानीजानी धकेल्दा झन्डै आश्माको हात भाँच्चिएको थियो बाबै ! यो आश्मा त देवी नै हुन र पो… । आश्माको ठाउँमा म भएको भए मैले जान्या थे यसलाई । तर के गर्नु ? मैले यो मूर्खलाई पिट्न लाग्दा उल्टै मेरो हात समातेर सक्षमले जानेर लडाएको होइन भन्दै पिट्नै दिइनन् । यो साप हो भन्ने थाहा पाउँदापाउँदै पनि आश्मा दूध पिलाउँछिन् सर यसलाई ।

रवि सर : (सक्षमतिर हेरेर) तिमी किन यस्तो बदमास भएको भन त सक्षम ? हेर त, सबै साथीहरू तिम्रो बिपक्षमा छन् ।

सक्षम : (रुञ्चे स्वरमा) हो म साप नै त थिएँ । म यिनीसँग भेट नभएको भए साँच्चै साप नै हुन्थ्येँ तर अब… ।

आश्मा : (सक्षमको हात मुसार्दै, सरको आवाज आएतिर हेरेर नम्र स्वरमा) सर ! साथीहरू जति सम्झाए पनि बुझ्दैनन् । तर सक्षम भने पङ्ख हालेर माथि उड्न चाहन्छ न । भने उनलाई उड्न पो दिनुपर्छ । हामी सबैले उसको पङ्ख काटिदियौँ भने त उनी खै कसरी पो उड्लान् र ?

समीक्षा : (उठेर ठुलो स्वरमा ) आश्मा तिमी कसरी यस्तो भन्न सक्छ्यौ भन त ? अस्तीन तिम्रो फ्रकमा चुइगम टाँस्ने, तिमीलाई पुच्छर हाल्ने अरू कोही नभएर यही मूर्ख हो । आफू पनि पढ्दैन । सबैले तिम्रो प्रशंसा गर्दा सधैँ डाहले भुतुक्कै हुन्छ । यस्तामाथि पनि अँझै दया गछ्यौ ?

रवि सर : (सामान्यभन्दा अलि चर्को आवाजमा सम्झाउने पारामा) हेर विद्यार्थीहरू सक्षम साँच्चि नै असल बन्न चाहेका पनि हुन सक्छन् । पहिला उनको कुरा सुन्नुपर्छ हामीले । (सक्षमतिर हेरेर फेरि) ल सक्षम, अब तिमीले आफू सुधृन्छु भनेर सबै साथीहरूसँग माफी माग्नुपर्यो ।

सक्षम : (सुक्कसुक्क गर्दै उठेर अगाडि गएर) हवस् सर । हो म आज बोल्नु नै पर्छ नत्र मेरो बाबाको सपना चकनाचुर हुन्छ । अनि मलाई पनि यो विद्यालयमा पढ्न झनै गाह्रो हुन सक्छ । जब म विद्यालय आएको पहिलो दिन नै बाबाले ऊ तिनी आश्मा हुन् । उनले बाहिरी आँखा नदेखे पनि उनको मनको आँखा विशाल छ भन्नुभयो । त्यसोभन्दा मलाई खै किन हो किन साह्रै रिस उठेको थियो । झन् यिनले बेलाबेलामा साथी तिमीले पढाइमा ध्यान देऊभन्दा झनै रिस उठ्थ्यो । स्कुलभरि सधैँ यिनको मात्र प्रशंसा आश्मा यस्ती आश्मा उस्ती अरू कुरा नै छैन । झन् नरेश सरले तिमी आश्माबाट केही सिक नत्र भविष्य अन्धकार छभन्दा मेरो त दिमाग नै घुम्यो । म रिसाउँदै घर पुगेर तन्ना तानेर ल्याङफ्याङ पार्दा डायरीबाट कार्पेटभरि बाबाले आश्मालाई अँगालो मार्नुभएको अनि पुरस्कार दिनुभएको चार छ फोटाहरू छरिएको देख्दा ममा उत्सुकता जाग्यो । (यति भनेर सक्षम चुप लाग्छन् ।)

रवि सर : (अगाडि उभिरहेको सक्षमलाई ढाडस दिँदै) अनि ? तिमीले डायरी पढ्यौ त ?

सक्षम : (सानो स्वरमा ) पढेँ नि सर ! आज मलाई मेरो बाबाले यहाँ ल्याउनुको रहस्य भन्छु । तिमीहरूलाई थाहा नै छ । ‘सङ्गत गुनाको फलक’ शीर्षकमा निमावि तहको देशव्यापी वकृत्वकला प्रतियोगिता भएको थियो । त्यो प्रतियोगितामा आश्माले भाग लिएकिरहिछिन् । निर्णायकहरूमा मेरो बाबाको पनि प्रमुख भूमिका रहेछ । जब आश्माले बोल्न थालिछन्, आश्माको बेजोड प्रस्तुति सुनेर उपस्थित प्राय: सबैका आँखाहरूजस्तै मेरो बाबाका आँखाहरू पनि भरिएछन् । उहाँले दुईतीनपल्ट आँखा रुमालले समेत पुछ्नुभएछ । त्यो दिन पनि उनी धेरै नम्बरले अरूभन्दा अगाडि आइछन् । आश्मालाई लिएर कार्यक्रममा जानुभएको नरेश सरले उनी हाम्री विद्यार्थी हुम्भन्दा मेरो बुबाले आश्मालाई गम्लङ अङ्गालो हालेर स्याबास् भन्नुभएको रहेछ । त्रिचन्द्र कलेजको प्रोफेसर र साहित्यकार मेरो बाबाको म एक्लो छोरो हुँ । विवाह गरेको धेरै वर्षसम्म बच्चा नभएर बल्लबल्ल बच्चा हुँदा मेरो बाबाआमा कति खुसी हुनुभएको रहेछ । तर म…। (सक्षम फेरि रुन थाल्छन् ।)

रवि : (मुसुक्क हाँस्दै) तिमीले यति भनेपछि म आज रहश्यको ढोका खोल्छु ।
खास कुरा के भने सक्षम अर्को स्कुलमा दुई विषयमा मात्र पास भएका रहेछन् । एउटा कुहिएको आलुले बोरा नै बिगार्छ भनेर स्कुलबाट नै निकाल्ने कुरा भएको रहेछ । जब आश्माले बोल्दा धन भनेको खाक हो, सङ्गत भनेको लाख हो भन्ने शब्दले उहाँलाई साह्रै छोए छ । मलाई उहाँले आश्माको सङ्गत पाए भने उनी सप्रिएलान उनकै कक्षामा राखिदिनु भन्नुभएको थियो । नभन्दै आश्माले ढुङ्गालाई देवता बनाइन् । धन्य आश्मा तिमीलाई !

आश्मा:(मायालु स्वरमा) हवस् सर ! मलाई त केही गरे जस्तो लाग्थेन । बरु डायरीका अरू कुराहरू सुन्न मन लाग्यो ।

सक्षम :(रुञ्चे स्वरमा) बाबाले लेख्नुभएको रहेछ यदि आश्माजस्ती छोरी भएकी भए । म कति खुसी हुन्थेँ होला । म अरूलाई उज्यालो बाँड्दै हिँड्छु । मेरै घर भने अँध्यारो छ । सक्षम सप्रिएन भने हामी बाँच्नु बेकार छ । यस्तै यस्तै लेखिएको रहेछ । आश्माले गर्दा नै म यहाँ आएको रहेछु भन्ने बुझेँ । मेरो बाबाको डायरीभरि प्राय: आश्माकै नाम रहेको पनि थाहा पाएँ । अब म पनि आश्माजस्तै बन्छुभन्दा बाबा धेरै खुसी हुनुभयो । मैले उहाँको ओठमा मीठो हाँसो देखेँ । आश्मा, तिमीलाई धेरैधेरै धन्यवाद !

रवि : (सबै विद्यार्थीहरूले एकोहोरो सक्षमलाई हेरे । रवि सरले आश्मा र सक्षम दुवैलाई एउटाएउटा कलम उपहार दिँदै ) स्याबास् आश्मा ! तिमीले उनी यहाँ किन आए भन्ने नबुझी उनलाई नयाँ जीवन दियौ । हाम्रो मान राख्यौ । तिमीहरू सबै हाम्रो देशको गौरव बन्नू ।

सबै विद्याथी:(खुसी हुँदै एकै स्वरमा) आश्मा सुयोज जिन्दावाद ! हो जिन्दावाद !

(यत्तिकैमा शुक्रबारको पहिलो कक्षा सकिन्छ ।)

नोट: यो एकाङ्की कि प्रमुख पात्र आश्मा अर्याल न्यून दृष्टियुक्त साहित्यकार,सङ्गित प्रशिक्षक, समाजसेवी र पत्रकार समेत हुनुहुन्छ । लेखिका ललिता ‘दोषी’ले यो उहाँबाट प्रेरित भएर प्रस्तुत गर्नुभएको बाल एकाङ्की हो ।

– ललिता ‘दोषी’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *