बालकछँदा
कमेजको टाँक तलमाथि लगाएर
बाहुलाले सिँगान पुछ्दै
खरी र सिलोट च्यापेर
खाली खुट्टै स्कुल गएको ।
गोडाको नङ उप्किएको ठाउँमा
थाङना बाँधेर गोली खेलेको दिनहरू
कसरी चालै नपाई बितिसकेछन् ।
शुरु शुरुमा
जब मालती र म भेट्ने गर्थ्यो,
तब उसको र मेरो नामको
बीचमा के के जाती लेखेर,
जबरजस्ती प्रेम गर्न सिकाउने
साथीहरूमा होड थियो,
चौतारीमा बसेर मीठा मीठा कुरा गर्ने,
कुखुराको सुली देख्दा पनि
खितितिति हाँस्ने जमाना थियो,
जीवनको उन्माद थियो,
त्यो उन्माद र त्यो उमेर गन्दा गन्दै
आज म पाको भएछु ।
अतितले दिएका पुराना घाउहरू
कोट्याउने प्रयास गरिरहेछु,
दुःखका घडीहरू बिर्सेर
सुखद पलहरूको सम्झना गरिरहेको छु,
उनीसँग गरेका वाचावन्धनहरू,
तिनले दिएका खुशीहरू,
तिनले निभाएका साथहरू,
ह्रदयभरि सँगालेर
आज सबैकोसामु खोलिरहेकोछु,
साँच्चै अब त म बुढो भएछु
टिस्टाको पानी बगे झैँ
मेरो प्रत्येक जन्मदिनमा
आफ्नो उमेर बगाइरहेछु,
समय र दिन घटे झैं
प्रत्येक दिन म,
आफ्नो उमेर घटाइरहेछु ।
हेर्दा हेर्दै अलिक नदेख्ने,
चस्माको भरमा पढ्नु पर्ने,
सम्झाउँदा पनि अलिक नसम्झिने,
बोलाउँदा पनि अलिक नसुन्ने,
हिँड्दा, हिँडदै कता कता धर्मराउने,
बसेपछि उठ्न मन नलाग्ने,
उठेपछि बस्न मन नलाग्ने,
जिन्दगीको गुणा भाग गर्दा गर्दै
हिसाब नमिले जस्तो,
केही बिर्सिए जस्तो,
होश हराए जस्तो,
रक्तचाप बढे जस्तो,
मधुमेहले छोए जस्तो,
अलिक भुलक्कड,
अलिक अप्डेरो,
अलिक झोसे,
अलिक चोसे भएछु,
वास्तवमा केही होइन
म निकै बुढो भएछु ।
-बी बी ठकुरी
मिल्टन, कनाडा