Skip to content


“शताङ्क प्रकाशनको यसबेला ‘रचना’को विगततर्फ हेर्दा कहाली लाग्दो अतीतमा चिहाएझैँ लागिरहेछ । पहिलो अङ्क निकाल्दा हाम्रो सोचाइ थियो- “एक वर्ष जसरी तसरी पत्रिका निकालौँ अर्को वर्षदेखि विज्ञापन, सहयोग पाइहालिन्छ, सरकारको सुदृष्टि पनि परिहाल्छ त्यसपछि पत्रिकाको जग बलियो हुन्छ र निकाल्न कुनै समस्या पर्दैन ।” तर निजी क्षेत्रको एउटा विशुद्ध साहित्यिक पत्रिकाले सोचेको त्यस्तो ‘अर्को वर्ष’ ४८ वर्षसम्म पनि कहिल्यै आएन । हरेक अङ्क प्रकाशन एउटा चुनौतीपूर्ण काम लाग्न थाल्यो । केही साहित्यप्रेमीहरूको सद्भाव विशेष सदस्यको रूपमा नपाएको भए, साझा प्रकाशन जस्ता संस्थाले केही टेवा नदिएको भए र ‘रचना’ प्रकाशन परिवारको तन, मन, धनको आड भरोस् नपाएको भए यो पत्रिका उहिल्यै कालको मुखमा परिसक्ने थियो ।”

‘रचना’ दुई महिने साहित्यिक पत्रिकाले १०० पूर्णाङ्क पूरा गर्‍यो २०६५ को चैतमा । एउटा साहित्यिक पत्रिकाले १०० अङ्क पूरा गर्नु भनेको साँच्चै शिखर उक्लनु हो । रचनाकै सयौँ अङ्कमा ‘हाम्रो कुरा’ मा यसका प्रधान सम्पादक रोचक घिमिरेले कालको मुखमा परिसक्ने ‘रचना’लाई बचाएर २०६६ सम्म टेकाउनु भएको छ र देखाउनु भएको छ- एउटा व्यक्तिको प्रयास र समर्पणले एउटा साहित्यिक पत्रिकाले एकसय अङ्कको यात्रासम्म तय गर्न सक्छ भनेर । २०१८ सालको मङ्सिर महिनामा चार महिने ‘रचना’को पहिलो अङ्क निस्कियो । त्यतिबेलाका रोचक घिमिरे साहित्यमा त्यति चिनिएको नाम होइन, भैरव अर्यालसँगको सङ्गत र घरको साहित्यिक वातावरणले मात्र होइन त्यतिबेलाको साहित्यिक पत्रकारितामा देखापरेको उत्साहले पनि प्रेरित गर्‍यो रोचक घिमिरेलाई ‘रचना’ निकाल्न । “पत्र-पत्रिका र पुस्तकहरूमा मैले औधी खर्च गर्ने गरेको देखेर एकदिन भैरवले भने- “तिमी किताब र पत्रिकामा यत्रो खर्च गर्छौ बरू त्यो पैसाले हामी नै एउटा पत्रिका निकालौँ न ।” हँ, यता त मैले केही सोचेकै थिइनँ । भैरवको कुरा घतलाग्दो थियो । यो प्रस्तावमा हामीले गम्भीर भएर सोच्यौँ । त्यो बेला कमलमणि, श्यामप्रसाद, के.पी. शैल र श्रीरामदेव भट्टराईहरूले भर्खरै जसो ‘नेपाली’, ‘साहित्य’, ‘इन्द्र’ र ‘रूपरेखा’ निकालेका थिए । ती जाँगरिला युवकहरू नेपाली साहित्यमा यसरी खँदिला काम गरिरहेका थिए । हामीले पनि पत्रिकाको माध्यमबाट साहित्यिक फाँटमा स-सानै भए पनि केही काम गर्ने रहर गर्‍यौँ । यस्तै रहरै रहरबाट उत्साहित भएर हामी एउटा साहित्यिक सङ्कलन निकाल्ने निर्णयमा पुगेका थियौँ ।” (रोचक घिमिरे, रोचक घिमिरे अक्षरको अभिवादन, सं-शेषराज शिवाकोटी)

झण्डंै ५० वर्षअघि साहित्यिक फाँटमा स-सानै भएपनि केही काम गर्न खोज्ने रोचक घिमिरेले यतिखेरसम्म साहित्यिक फाँटमा निकै काम गरिसक्नु भयो । संस्थागतरूपमा चलेको साहित्यिक पत्रिकाले जस्तो यता-उता दौडिन नपर्ने विज्ञापनको पिरलो नपर्ने, प्रेसमा धाउन नपर्ने जस्ता सुविधा नपाए पनि निजी क्षेत्रका साहित्यिक पत्रिकाले पाउने सबैभन्दा ठूलो प्राप्ति भनेको स्वतन्त्रता हो । साहित्यिक पत्रिकालाई आफ्नो बुद्धि-विवेक र रूचि अनुरूप लैजान पाउने स्वतन्त्रता, बढुवा र सरूवाको आतङ्कले सधैँ मनो रोगीजस्तो गाँजेर बस्नु नपर्ने सुविधा शायद निजी क्षेत्रले मात्र पाउलान् । त्यसमा पनि डेढ अक्कलीहरूको भीडमा भुइँफुट्टाहरूले साहित्यप्रति हेर्ने नकारात्मक दृष्टिले समय-समयमा ‘व्यावसायिक’ भएन भन्ने बहानामा साहित्यिक पत्रिकालाई नै लखेट्ने प्रवृत्ति निजी क्षेत्रमा पक्कै नहोला । त्यसैले यो ५० वर्षको लामो यात्रामा रोचक घिमिरेले ‘स्वतन्त्रता’ पाउनुभयो ।

साहित्यिक पत्रकारिताको इतिहास पत्रकारितामा सबैभन्दा अग्रज मानिएको छ । ‘गोरखापत्रले पनि आफ्नो महत्व र गरिमा ‘साहित्य’ मै कमायो । एकसय वर्ष नाघिसकेको साहित्यिक पत्रकारितामा रोचक घिमिरे र उहाँका सहयोग, प्रेरक, हितैषी जस्तै सज्जनहरूको प्रयत्न र समर्पणले साहित्यिक पत्रकारिता यहाँसम्म आइपुगेको हो । त्यसो त ५० वर्षको इतिहास हुन लाग्दा १०० औं अङ्कको यात्राबाटै थाहा हुन्छ ‘रचना’ ले आफूले सोचे जस्तो गरी अघि बढ्न सकेन । ”साहित्यिक पत्रिका निकाल्नु र अझ त्यसलाई निरन्तरता दिनेतर्फ लाग्न अनुत्पादक र अनुपयोगी काममा समय खेर फाल्नु हो भन्ने मान्यता हाम्रो मुलुकका नीति निर्माताहरूका गिदीमा जमेर बसेको बस्यै छ । त्यसो हुँदा राज्यको संरक्षण नेपालका निजी क्षेत्रका साहित्यिक पत्रिकाले कहिल्यै पाउन सकेनन् ।”

रोचक घिमिरेको यिनै भनाइबाट प्रष्ट हुन्छ राज्यको कोष खर्चेर होइनकी आफ्नो र परिवारको गाँस कटाएर ‘रचना’ र रचना जस्तै कैयौँ साहित्यिक पत्रिकालाई रोचक घिमिरे र रोचक घिमिरे जस्तै कैयौँ साहित्यिक पत्रकार/प्रकाशकले साहित्यिक पत्रकारिता गरिरहनु भएको छ । नेपाली भाषा-साहित्यको क्षेत्रमा देखिएको यो समर्पण र चासो साँच्चै प्रशंसनीय छ ।

आवरण पृष्ठमा दुई-तीनवटा विज्ञापनको भरमा ‘रचना’ को यात्रा यहाँसम्म आइपुगेको छ । इतिहासै नभएकाहरूको हाली मुहाली हुने ठाउँमा ५० वर्षको लामो त्यो पनि गरिमामय इतिहास बोकेको ‘रचना’ को स्थान अहिले कहाँ छ ? बिना पिंधका लोटा, बिना जगका बुख्याँचाहरूको तामझाममा ‘रचना’ को योगदानको कदर नहोला, अभिव्यक्तिको मूल्याङ्कन नहोला, रूपरेखा, प्रगति, भानु-रत्नश्रीमा कसैको चासो नजाला तर इतिहास योगदान दिनकै लागि लेखिन्छ,विगत केही गर्ने कै लागि हुन्छ त्यसैले सन्तोष गर्ने ठाउँछ ‘रचना’ र रोचक घिमिरेको स्थान महत्वपूर्ण छ, सम्झिन लायक छ ।

एकनासले प्रकाशित हुँदै आइरहेको ‘रचना’ ले १०० अङ्कमा आइपुग्दा पनि ‘तामझाम’ मा विश्वास गरेन । बरू डा. अभि सुवेदी, कृष्णचन्द्रसिंह प्रधान, कमल दिक्षित, मदनमणि दीक्षित, परशु प्रधान, जगदीश घिमिरे, शिवरेग्मी, तेजेश्वर बाबु ग्वंग आदिका गहकिला रचना प्रस्तुत गरेको छ । आˆनैपन, आˆनै सीप, आˆनै शैली र सरलताको प्रतीक ‘रचना’ को सयौँ अङकको आवरणमा यसका हर्ताकर्ता रोचक घिमिरे मुस्कुराए जस्तै यसले पनि अविरल यात्रामा अघि बढ्न पाओस् भन्ने चाहना धेरैको रहेको छ । कालको मुखमा परिसकेको रचना दीर्घजीवी होस् । ‘रचना’ का बारेमा यसपालि यति नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *