Skip to content

भुल्न सकिएन


धेरै चोटि हेरें तिमीलाई धेरै चोटि देखें
बाटो छुट्टी गएकोले मन मारी बसें
पाइला मोडी तिमीबाट नभागेको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन

दोबाटोमा उभिएर कुर्दाकुर्दै तिमीलाई
मनमुटु एउटै पारी हेर्दाहेर्दै तिमीलाई
आँशु झारी तिमीसामु नरोएको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन

बतास रोकी तिमीलाई बोलाएकै थिए
तिमी हिड्ने बाटो छेकी टोलाएकै थिए
बिदाइको हात पनि नहल्लाको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन

खाटा बस्दै थियो घाउ किन फेरि बल्झ्यो
बिर्सुं भन्ने मायालुले किन फेरि सम्झ्यो
परेलीमा लुकाई राख्न पनि सकिएन
तर पनि तिमीलाई किन भुल्न सकिएन

मेरो मनको समुद्रमा तिम्रै यादको छल्को
जता हेर्छु उतै देख्छु तिम्रै रुपको झल्को
डोली चढाई घुम्टो ओढाई लान सकिएन
तर पनि तिमीलाई किन भुल्न सकिएन

सपनीमा आउँछौ तिमी अतित दुखाउँछौ
कल्पी कल्पी संझिएर माया बल्झाउँछौ
आँगन पोली जग्गे हाली लान सकिएन
तर पनि तिमीलाई किन भुल्न सकिएन

नजर जुधाई हेरिरहुँ लाग्छ तिमीलाई
अँगालोमा बेरिरहुँ लाग्छ तिमीलाई
सिन्दुर पोते उपहार दिन सकिएन
तर पनि तिमीलाई किन भुल्न सकिएन

राम योञ्जन
पोखरे, भोजपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *