Skip to content

आमा र बाको झगडा


एकदिन बिहान अकस्मात आमा र बा को झगडा पर्यो।

आमा – किन तपाई आजभोलि हामीसँग नाराज हुनु भएको छ? किन भनेको मान्नु हुन्न? यी भएका गहना बेचेर भोलि के गर्ने? म त गहना बेच्न दिन्न।

बा – मलाई धेरै नसिकाऊ। मसँग धेरै कचकच नगर । यी गहना मेरा पनि हुन। मेरो पनि हक छ। बेच्न नदिने भए कि मैले भनेको मान कि अर्को बाटो समातेर जाऊँ।

आमा बा किन झगडा गरे? किन गहना बेच्नु पर्यो? हामी केटाकेटीले केही कुरा बुझेनौ।

अर्को दिन बिहान घरमा केही मान्छेहरू आए। बासँग कुरा गरे। बा मुसुमुसु हाँस्नुभयो। केहीबेरमा बाको हातमा एक बिटो पैसा देखियो।

बाले हामी सबैलाई बोलाएर भन्नुभयो -“मैले यो घरबारी खेत सबै बेचिदिएँ। बेच्न मन त थिएन तर परिस्थितिले यस्तै पार्यो। अब बसाइँ जाने हो। अर्को ठाउँमा घरबार बसाउने हो। मेरा पछाडि हिँड।”

आमालाई यो कुरा मनै परेन। उहाँ बासँग बेसरी रिसाउनु भयो। अब उहाँको साथ नबस्ने घोषणा पनि गर्नुभयो। अहिले उहाँ बेचेको घरखेत फिर्ता गराउने प्रयासमा हुनुहुन्छ। त्यसैले गाउँमा कचहरी बसाउन भनेर निस्कनु भयो। गाउँको कचहरी बसिसकेको छैन।

यता बा हामीलाई लुगाफाटो तयार गर्ने निर्देशन दिँदै हुनुहुन्छ। हामी केटाकेटी न बाको कुरा नमानेर बालाई छाड्न सक्छौं न आमाको कुरा नमानेर आमालाई छाड्न सक्छौं। हामीलाई त आमा र बा दुवै चाहिन्छ । तर कस्तो आपत् !

— अजित आचार्य
व्यास -९, कलेस्ती, तनहुँ ।
हालः चन्द्रागिरी- ५, मातातीर्थ, काठमाडौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *