Skip to content

घर यस्तो होस्


घर ठुलो नहोस्,
अलिक सानै होस्,
सफा सुग्घर र चटक्क मिलेको होस्,
घर सानो भए पनि
आँगन चाहिँ ठुलो होस्,
आँगनको चारैतिर फूल फुलेको होस्,
आँगनको एकातिर
मनको भारी बिसाउने
सानोतिनो चौतारी होस्,
अर्कोतिर तिर्खा मेट्ने पँधेरो होस् ।

घर सानो भए पनि
त्यहाँ बस्ने मान्छेको मन ठुलो होस्,
सबैसँग आत्मीयता गाँसेको होस्
भाषा, जाति र संस्कृतिको लागि
मरिमेट्ने मन होस्,
घरकी आमा
जुन जस्तो उज्यालो र
बोली फर्साइलो होस्,
छोराछोरीहरू आज्ञाकारी र मृदुभाषी होस्,
ज्ञान गुणका कुराहरू सिकेको होस्,
साइनो केलाउन जानेको होस् ।

घर सानो भए पनि
ईश्वरको आराधना गर्ने ठाउँ होस्,
पाहुनाको लागि उज्यालो कोठा होस्
लाउने लुगाभन्दा
किताबहरूले भरिएको आलमारी होस्,
छरछिमेकी सबैसँग मेलमिलाप होस्,
दुखी र दरिद्रलाई
सेवा र सहयोग गर्ने हात होस्,
चेलीबेटीहरूलाई
दिदी बहिनी मान्ने संस्कार होस् ।

घर सानो भए पनि
मान्छेको मन गङ्गा झैं पवित्र होस्
त्यहाँ उच्च विचार झ्याङिएको होस्,
त्यहाँ आत्मसन्तुष्टिको वास होस्,
आत्मगौरव र
देश प्रेमको भावना जागेको होस्
तब त्यस घरलाई
घरको पनि घर भन्न सकिन्छ,
देवालयको रुपमा चिन्न सकिन्छ।

बी बी ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *