भुइँमान्छेका छायाँहरू


प्रचन्ड घामको रापमुनि
बेल्चा र खन्ती बोकेका
सयौं ख्याउटे छायाँहरू
चट्टानी पहरा फोडिरहन्छन्
उबडखाबड डाँडा सम्याइरहन्छन्
ती भोका र मरञ्च्याँसे छायाँहरुको
पसिनाले भिजेको भूमिमाथि
एउटा सुन्दर सडक बन्छ
सडकमा भुँडे छायाँहरू बोकेर
गुड्ने चिल्ला मोटरका पैयाँहरू
तिनै कर्मी भूइँमान्छेका छायाँहरुको
आस्था किच्दै गुडिरहन्छन्
उनीहरुको ब्यथित बिवसता
र सुस्केरालाई बलत्कार गर्दै
हुइँ हुइँ हुइँकिरहन्छन्
सजीव छायाँहरुले
अरु थुप्रै जीवन्त छायाँहरुका
भावनाहरुलाई कुल्चिरहन्छन्
कुर्सीनाथका स्वार्थी छायाँमुनी
नाचिरहने चम्चे छायाँहरू
अनि चाप्लुस चम्चेका छायाँमुनी
आस्वासन हसुरेर डकारिरहेका
उल्लू भूइँमान्छेका छायाँहरू
आशाको कटौरामा भिख माग्दै
यत्रतत्र सर्वत्र भौंतारिरहन्छन्
कोठीवाली बाईको इसारामा
नाच्नु पर्ने विवश वेश्याहरू
श्वास धान्ने गाँसको खातिर
आफूलाई बेचिरहेछन्
सयौं गरुडका छायाँमुनी
बाँच्न बिवस सर्प झैं नारीरुपी
भूइँमान्छेका छायाँहरू
जीवनका अँध्यारा कोठाहरुमा
पल पल मर्दै बाँचिरहेछन्
मुटुको बाँध भात्किएर
भक्कानाका भेलहरू
छाती चिर्दै उर्लिरहन्छन्
आँखाको ताल फुटेर
आँसुका उत्ताउला छालहरू
परेली भिजाउँदै छचल्किरहन्छन्
वेदनाको जठराग्निले पोलेर
निर्झर संवेगहरू
मनको कसौंडीमा उम्लिरहन्छन्
मर्मस्पर्शी व्यथाका चड्कनहरुले
निमुखा भूइँमान्छेका दिलहरू
आतिएर दुखिरहन्छन्
निर्बल भूइँमान्छेका घाउहरू
अविरल चर्किरहन्छन्
पीडित भूइँमान्छेका भाग्यहरू
पटपट फुटिरहन्छन्
उपल्ला दर्जीय मान्छेका
भारले थचक्क थिचिएका
बिवस भूइँमान्छेका जीवनहरू
जिन्दगीको तीतो धरातलमा
ब्यथित भै तड्पिरहन्छन्
कुन्ठित भै बाँचिरहन्छन्
मान्छेको भूगोलभन्दा पर
अरू कुनै विचार हुँदैन
मान्छेको आत्मसम्मानभन्दा माथि
अरु कुनै आकाश हुँदैन
मान्छेको मूल्यभन्दा ठुलो
अरु कुनै सम्पति हुँदैन
हे छायाँका असली रुपहरू
आओ यथार्थताको रंगमञ्चमा
हातमा हात मिलाऔं
वर्षौं देखि थिचिएका र चिथोरिएका
भूइँमान्छेका कुरा सुनौं
उनीहरुका रहरलाई एकत्रित गरी
मान्छे नै गुनगुनाएको सङ्गित भरौँ
मान्छे नै मगमगाएको सुगन्ध छरौं
मान्छेभित्रको मानवतालाई उजागर गरौं ।

इति

–राजेश अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *