ओ नायिका
के सोचिरहेकी छौ
चुपचाप चुपचाप स्थिर छौ
आखिर किन बोल्दिनौ ?
ओ नायिका !
खै तिम्रो भूमिका?
खै तिम्रो कलकारिताको कौसल्यता
ओ नायिका
यो उमेरमा पनि किन छाउन सकिनौ तिमी
तिम्रा दर्शकहरुसम्म
किन रुझाउन सकिनौ
मान्छेका मनहरुमा
र किन आउन सकिनौ
गरीबगणका घरहरुमा?
त्यो तिम्रो बहादुर पतिलाई हेर
हिमाल जस्तै स्वाभिमानी तिम्रो श्रीमानलाई हेर
जस्ले छातीमा सिङ्गो देश बोकेर हिडेको थियो
निधारमा यो देशको नक्सा कोरेर हिडेको थियो
अन्याय र अत्याचार विरुद्ध
नायक भएर उभिएको थियो
तिम्रो श्रीमान सामन्ती शोषक र स्यालहरुको विरुद्ध
काल भैरब भएर उभिएको थियो
र यो युगको
एक अथक योद्दा भएर हिडेको थियो
सारा सज्जन र सर्वहाराहरुको
मनमा बसेको थियो
ओ नायिका, तिम्रो महान नायक !
सायद, यसैले मारियो ।
यो देश जस्तै सफेद
त्यो सिङ्गो जङ्गल जोगाउन तस्करहरुलाई
आफ्नै ज्यानको बलिदान दियो
पछि टुक्राटुक्रा बनाएर उसको खाक तयार पारियो
र छाला काढेर
गलैचा बनाइयो
र केही थान जुत्ता बनाइयो
अनि किनियो करोडौ रुपैयाहरुमा
र सजाइयो भूइँहरुलाई
पैतालाहरुले कुल्चियो ।
ओ नायिक तिमीलाई थाह छ
त्यो छाला तिम्रै पतिको शरीरबाट निस्किएको हो
जरुर तिम्रो लोग्ने बहादुर बाघ थियो
ओ नायिका
तर किन तिमी बघिनी भएर निस्किएनौ ।
तिम्रो पतिको अनुपस्थितिमा;
किन तिमीले पूरा गरिनौ
बिगतका ती सबै सपनाहरुलाई
सकार पार्न सकिनौ
सामन्तवाद र गरीबीको जातोमा पिसिरहेका
र ब्वासोको जालमा जकडिरहेका जन्ताहरुलाई
किन झिकिनौ झन्झिरबाट
र आखिर किन चाहियो आज तिमीलाई करौडौका सवारीहरू
थहा छ तिमीलाई तिम्रो लोग्ने
घाममा दिनभरि साइकलमा हिडेरै आफ्नो काम गर्थियो ।
“ओ नायिका”
नडाटी भन यो नाम तिमीलाई कस्ले दियो
साच्चिकै तिम्रो निर्देशकले दिएको नाम हो
यो,
या ती तमाम दर्शकहरुले दिएको नाम हो ?
ओ नायिका
खै तिम्रो भूमिका ?
चुपचाप चुपचाप स्थिर छौ
आखिर किन कहिले पनि बोल्दिनौ ?
उसका दर्शनहरुलाई किन
अबलम्बन गरिनौ
तिमीले र किन कहिले पनि खोजिनौ तिमीले
अर्जुन भएर दुर्जन र दुर्योधनहरुलाई ?
तिमीलाई नायिका बनाउन
सारा कलाकारहरू
सडकमा आएर आन्दोलन गरे
नारिवादी नाराहरू लगाएर
घनघोर जुलुसमा निस्किएर
सरकारलाई दबाब दिए
अनि अनसन बसिरहदा
बीचैमा कति पुरुषहरू मारिए पुलिसहरुबाट
र कति भाचिए हातखुट्टाहरू
तिम्रै खातिर तिम्रो लोग्ने पनि मरेर गयो
आखिर सबैको हार भयो
सताब्दी पुराना पुरुषप्रधान विधानहरुको
पराजय भयो
तिम्रो चलचित्र शासन आयो
र हर समय तिम्रै मात्र चलचित्र चलिरह्यो ।
ओ नायिका
तर खै तिम्रो भूमिका ?
खै तिम्रो पतिको रगतको मूल्य?
“यो नायिका
खै तिम्रो जननायकको रगतको मूल्य ?
अनि खै आन्दोलनमा आहुती दिने
वीर शहीदहरुको मूल्य?
ओ नायिका
र खै नारि हकहित अधिकार र स्वाधिनता?
सर्वहाराहरुको देश खै
र खै तिम्रा पतिका हत्याराहरू ?
आफ्नै पतिको मरेको लासमाथि
उपहास गर्दै आफ्नै श्रीमती
बलात्कृत आसु बोकेर रोइरहेको देखिरहे झै गरेर
जहाँ, तिमी हेरिरहेछौ
आफ्नै पतिको हत्याराहरुलाई
धेरै नै नजिकबाट ।
तर, किन कहिले पनि बोल्दिनहु तिमी
ती तस्करहरू विरुद्ध ?
ओ नायिका
बरु तिमी मेरी प्रेमिकालाई हेर
उङ्को ओठमा लाल रङ्गको सट्टामा
दङ्किरहेको पहेलो ज्वाला छ
अनि आँखामा छन् अठोटका अनन्त ज्वारभाटाहरू
र गालामा छन् गुलाबको बद्लामा बिद्रोहहरू
घाटिबाट निस्किरहेछन् आवाजको सट्टामा
पुरुष जस्तै देखिने राके जुलुसहरू
छातीमा छ पत्थर जस्तो पृथ्वी
र टाउकोका खोपडिहरुमा छन्
हिमाल जस्तै लढल्ने अढानहरू
चिरिएका पैताला
उमेरमै चाउरिएका बैसालु यौवनहरुसङ्गै
पटपट्टि फुटेका हातखुट्टाहरुले
उनी जमिन जोत्छिन
बाझो चिहान फोर्छिन
छुरा जस्ता पाखुरा छन् उङ्का
उनी बञ्चरो समाएर दाहुरा चिर्छिन
कोदालो उठाएर बाझो आलि लगाउछिन
कसैको उजाड सिउदो जस्तै जर्खरिएको
जमिनमा उनी दिनहुँ पसिना बगाउछिन
र फलाउछिन हरेक साल
राता र रङ्गिन गुराँसका फुलहरू किन्ने पैसाहरू
उनी दलाल मेनपावर कम्पनीहरू विरुद्ध बोलिरहन्छिन
मैले दुख गरेर कमाएकोभन्दा
आफैले दुख गरेर
जमाएको पर्याप्त छ उङ्को लागि
उङ्को जवानी देखेर
जमिन्दारले जिस्कायो होला
र मेरो ताजको महारानी बनाएर
राख्छु पनि भन्यो होला
मेरो अनुपस्थितिमा
जमिन्दारको प्रलोभनमा परेर
तर उन्ले आजसम्म पनि
आफ्नो घर बेचेकी छैनन, थर बेचेकी छैनन्
म अहिले परदेशमा काम गर्छु।
गुलाम भएर तर उन्ले मेरो नाम बेचेकी छैनन् ।
जरुर उन्ले युगौ जोगाएकी छिन मेरो अस्तित्वलाई ।
थहा छैन, त्यो दिन सायद थाहा भएको दिन
हातमा हतकडी लगाएर
मेरी प्रेमिका आफैले उसलाई सजाय दिनेछिन
किनकि, मलाई फसाएर झुक्याएर
मेरो पैसा खाएर मलाई परदेश पठाएर
गाउमा घडेरी जोड्ने नामुद दलाल हो ऊ
खुद जमिन्दार साहु ।
ओ नायिका
तर, किन तिमीले बचाएनौ
आफ्नो पतित्वलाई
र फेरि किन पत्ता लगाएनौ
आफ्नै पतिका हत्याराहरुलाइ?
के मरेको लोग्नेको माया मरेको हो
कि तिमीलाई सर्वहाराहरुको माया लाग्दैन
यदि बिर्सिएकी छैनौ भने हिजोका ती अभिभाराहरू
छाती फुलाएर भन शिर उठाएर भन
कहाँ छन् जननायकका हत्याराहरू
यो चलचित्रका मुख्य खलनायकहरू ?
अभिव्यक्ति स्वतन्त्रता लुटिएको झै
चुपचाप चुपचाप स्थिर छौ
के तिमी लाटी हौ
ओ नायिका
नत्र किन कहिले पनि बोल्दिनौ तिमी
तिम्रा सारा दर्शकहरुको कसम खाएर
आज मलाई सुटुक्क भन
‘ओ नायिका, तर यो नभन कि
“थहा छैन भनेर” ।
#सर्जक -सुजन बुढाथोकी
