हाम्रा चेलीहरू अरु हेरी
निकै फर्वाड छन्,
पढे लेखेका छन्,
कामधन्दा सबै जानेका छन्,
बिहे बटुलमा पुगेका छन्,
मरौपरौमा पनि सघाएका छन्,
सिँगारपटार जानेका छन्,
घर सजाएर राखेका छन्,
कोरोनाको डर नमानी
फाटाकफुटुक्क निस्केका छन्,
एक अर्कामा साटाकसुटुक्क भेटिरहन्छन्
छुर्पी र सुपारी कट्याककुटुक्क पारेकै छन्,
महँगो दामको स्मार्ट फोन राखेका छन्
च्याटिङ र डेटिङ पनि गरिरहन्छन्,
पर्समा पैसा होस् नहोस्
फाँकी पनि लाएका छन्,
ऐँचो र पैँचो गरेर पनि
गर्ज सबै टारेका छन्,
मीठो बोलीमा सबैलाई
लत्याकलुतुक्क पारेका छन्,
हाम्रा चेलीहरूले
सबैथोक जानेका छन् ।
हाम्रा चेलीहरूले
कुरा बिगार्न जानेका छन्,
कुरा बनाउन पनि जानेका छन्,
मौका परे
चाँडबाडमा तानतुन पनि पारेका छन्
मनको लड्डु खाएका छन्,
दिनमै आकाशको तारा झारेका छन्,
उमेर पाको भए पनि
तरुणी जस्तो देखेका छन्,
चम्पट पनि कसेका छन्,
बिग्रिसकेपछि
भाग्यलाई दोष दिएका छन् ।
हाम्रा चेलीहरूले
आमाबाबालाई हेरेका छन्
ट्युसन पनि पढाएका छन्,
ठुल्ठुला पोस्टमा पुगेका छन्,
स्थायी वा अस्थायी भए पनि
सानोतिनो नोकरी गरेका छन्,
व्रत पनि बसेका छन्,
ह्रदय खोलेर हाँसेका छन्,
मन डढाएर रोएका छन्
कोही उँभो लागेका छन्,
कोही उँधो झरेका छन्,
फेसबुकमा देखिएका छन्,
स्टाटस पनि लेखेका छन्,
सीरियल पनि हेरेका छन्,
बत्तीस लक्षणले युक्त
हाम्रा चेलीहरूले
सबैथोक भ्याएका छन् ।
बी बी ठकुरी
मिल्टन, कनाडा
16/01/2021
