तिमी कविता म कवि

  • by

यो ब्यग्र अनुरागीसँग
तरक्क र्तिकने
हे भगौटी मनमोहिनी !
तिमी दूर भागिराख
म तिमीलाई पच्छ्याइरहन्छु ।

तिमी लुकाछुपी खेलिराख
म तिमीलाई भेटाइरहन्छु
म तिम्रो कोमलताभित्र
बगेका आसुँका स्याहीले
तिम्रो संवेदनशीलता लेखिरहन्छु
तिम्रो सूक्ष्मताभित्र छिपेका
सुन्दरता र सौम्यताको
शब्दचित्रमा रङ भरिरहन्छु
तिमी छान्दिक अलंकारको
झङ्कार बनेर गुञ्जिराख
म भावनाको कागजमा
तिम्रो कोकिलता कोरिरहन्छु
अपृथक छ हाम्रो नाता
तिमी नङ म मासु
तिमी नयन म आँसु
तिमी काव्य म काव्यी
तिमी कविता म कवि

हे सन्देशवाहिनी !
बन्दुकको गोली र
तरबारको प्रहार रोक्न सक्ने
शब्दपुञ्जकी साहशी वीरङ्गना
तिम्रा दिव्य पाइलाका डोबहरुलाई
म हरदम पच्छ्याइरहन्छु
कहिले भावको खहरे अनि
कहिले रसको शान्त समुद« बनी
बहिरहने रसमाधुरी
तिमी भागिराख
म कागजको डुंगामा
कलमको चप्पु चलाउँदै
भावनाको सागरमा
तिमीसँगै बहिरह्न्छु
तिम्रो आभाशील आकृतिलाई
मेरा भावशिल्पी आँखाहरुले
अनवरत चियाइरहन्छु
आकाश र क्षितिज झैं
जोडिएको छ हाम्रो साइनो
म शिखा तिमी दीप
म धुन तिमी संगीत
तिमी आभा म रवि
तिमी कविता म कवि

तिमी विचारहरुको पोखनी बनी
भावनाको चौतारीमा पल्टिराख
म कल्पनाको कोशेली लिएर
सृजना बनी भेट्न आइरहन्छु
तिमी रसिला शब्दालङ्कारको
चोटिला भावभंगिमाको
माधुर्यता घसी मुस्काइराख
म तिम्रो सारस्वत मुर्र्तीलाई
मनमन्दिरमा सजाइराख्छु
प्रिय कविता !
मलाई बेवास्ता नगर
मेरो भावनाको संसारमा
सृजना बनेर आऊ
मेरो कल्पनाको संसारमा
शब्दहार बनेर आऊ
हाडमासुको झैं छ हाम्रो सम्बन्ध
म स्मृति तिमी श्रुती
तिमी चित्रफलक म कुची
तिमी साक्षात म छवि
तिमी कविता म कवि

हे चित्तहऋणी शब्दमाला !
चाहेर पनि तिमी
मसँग पृथक हुन सक्दिनौ
छिपेर पनि तिमी
मसँग अदेख हुन सक्दिनौ
तिमी भावनाकी रथ
म कल्पनाको सारथी
तिमी निर्मल गगनमा
पवन बनी बिचरण गरिराख
म तिम्रो निराकारतालाई
मेरो कलमी अस्त्रले
आकारशील बनाइरहन्छु
दियोबाती झैं हाम्रो सम्बन्ध
तिमी पुष्प म सुरभी
तिमी कविता म कवि ।

इति

राजेश आधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *