पार्टी उत्कर्षमा पुगिसकेको थियो । सबै इम्पोर्टेड ह्विस्कीको पेगमाथि पेग लगाइरहेका थिए । यो पार्टी केको उपलक्ष्यमा हो, मलाई थाहा थिएन । म त एक मित्रले फोन गरेकोले दगुरेर आएको थिएँ । म जस्तै यहाँ अन्य पत्रकार पनि थिए ।

‘हामी सहमतिका लागि तयार छौं ।’ सहसा एक नेताले घोषणा गरेको मुद्रामा भन्यो ।

‘ठीक भन्नुभयो काँल्दाइ ।’ अर्काे एक सानोतिनो नेता लाग्नेले तुरुन्तै सही थाप्यो ।

‘के ठीक भन्नुभयो नेताजी ?’ केही दिन अघि एक महत्त्वपूर्ण सरकारी आयोगमा नियुक्त भएको समाजसेवक हस्याङ-फस्याङ गर्दै आइपुग्यो ।

‘हामी सहमतिका लागि तयार छौं ।’ नेताले आफ्नो कुरो दह्रोगरी दोहोर्‍यायो ।

‘तर यसको लागि वातावरण पनि त बन्नुपर्‍यो नि !’

यसको प्रत्युत्तरमा अनुहार बिगारेर नेताले यतैतिर गुडाउँदै ल्याइरहेको तरल पदार्थको ट्रलीतर्फ फुर्तीसाथ हात बढायो ।

‘हो, वातावरण नै नबनी कुनै पनि सहमति कसरी सम्भव होला र ?’ अघिदेखिन उभिएर चाखपूर्वक कुराकानी सुनिरहेको एक चालु पत्रिकाको सुटेडबुटेड सम्पादकले टिप्पणी गर्‍यो ।

‘वातावरण बनोस् या नबनोस्, केही फरक पर्दैन, (अलिक अड्केर) जेसुकै भए पनि हामी सहमतिका लागि तयार छौं ।’ एक सासमा गिलास खाली गरेर आखिरीतिर नेताले लगभग कराएर भनेकोले पाँचतारे भवनको हल थर्कियो ।

यहाँ नेता, समाजसेवक, सम्पादक, व्यापारी, हाकिम, वकिल, डाक्टर, कूटनीतिज्ञ, बैंकर, लेखक, ठेकेदार, इन्जिनियर, बुद्धिजीवी, मानवअधिकारवादी, खेलाडी, उद्योगपति, प्रोफेसर, अभिनेता आदिको सघन उपस्थिति थियो । केही पर (छिमेकी मुलुक हिन्दुस्तानको प्रसिद्ध मन्दिर बालाजीको चिटिक्क परेको भव्य एवं दामी स्फटिकको अनुकृतिनेर) एक हुल महिला गुरुप्प परेर नानाभाँतीका बात मारिरहेका थिए । सबै सम्पन्न शृङगार र लटरम्म आभूषणमा झकिझकाउ देखिन्थे । त्यसैले सर्वत्र

उज्यालो छरिएको थियो । त्यसमाथि ठूलठूला झाड-फानुसको बत्तीको प्रकाश पनि थपिएको थियो (यहाँ नगरको टोल-टोलमा बलियोसँग जरा गाडेर मोजले आराम गरिरहेको लोडसेडिङको कुनै भय थिएन) । झाड-फानुस तल रङ्गीचङ्गी संसारको एक सम्भ्रान्त टुक्रा जगमग गरिरहेको थियो ।

‘यो केको हल्ला हो ?’ हीराको हारको चमकसहित एक महिला अनायास झस्किएकी थिई ।

‘सहमतिको कुरो हो ।’ अर्काे सायद गाढा मेकअपले रातो-रातो गालायुक्त महिलाले तत्कालै भनी ।

‘ए, सहमति हो ?’

‘सहमति त हुनैपर्छ, होइन र ?’

कानको झुम्कादेखि सैन्डलको रङ्गसम्म पहेँलै एक स्वणर्ाकृतिले दुवै आँखा झिमझिम पारी ।

‘सहमति भएको राम्रै हो ।’

‘सहमति हुनैपर्छ ।’

‘यो सहमति हुन्छ, हुन्छ ।’

‘मलाई पनि सहमति होला जस्तो लाग्छ ।’

‘……….. ।’

‘……….. ।’

‘……….. ।’

‘के कुरा हो ?’ नाक, कान, गला र औंलामा मोतीको सेटले सुसज्जित एक महिला आइपुगी ।

‘बुनुदीको के विचार छ नि ?’

बुनुदी अर्थात् भर्खरै यतातिर आइपुगेकी नेतापत्नीले कुरो नबुझेर शिर घुमाएर यताउता हेर्न थाली ।

‘हामी सहमतिका लागि तयार छौं भनेर नेताजी भनिरहनुभएको छ ।’ रातो-रातो गालाले केही पर उभिएको नेतातर्फ संकेत गरेर मुस्कुराई ।

‘उहाँ तयार हुनुहुन्छ भने म पनि तयार छु ।’ नेतापत्नीले हडबडाएर भनी ।

‘हामी सबै सहमतिकै पक्षमा रहेछौं ।’

‘मलाई सहमति मनपर्छ ।’ हातको बुट्टेदार कटिङ वाइनको गिलासतर्फ आकषिर्त हुँदै नेतापत्नीले मानौं आफैँसँग भनेकी थिई ।

म टाउको झमझम भएकोले निरुद्देश्य हलमा ओहोर-दोहोर गरिरहेको थिएँ ।

अबेर रातिसम्म तरल पदार्थ र ठोस सहमति समान रूपले गतिमान थियो ।

यस्तै साढे बाह्रतिर एक तलामाथिको डिनररुममा चहलपहल आरम्भ भयो । म भने सुस्वादु स्न्याक्सले टन्न भएकोले र्फकने ध्याउन्नमा थिएँ । नेताको ‘आरती भवन’सँगै (पछिल्तिरको गल्लीमा) मेरो डेरा भएकोले पछि-पछि लाग्नुपर्ने बाध्यता थियो । मसँग कुनै बाहन थिएन ।

नेता सदाझैं आफैं ड्राइभ गर्न बस्यो -खुट्टा लरखराएर कुनै फरक परेको थिएन) । सँगैको सिटमा नेतापत्नी बसिसकेकी थिई । म पछिल्तिर अर्धमुदि्रत भएर ढल्किएको थिएँ । मसँगै एक-दुई अरू पनि थिए (को-को थिए, मेरो जान्नसक्ने स्थिति विलकुलै थिएन) । नेताको सेन्ट्रो गाडीले तीव्रगति समातिसकेपछि नेतापत्नीले नेताको काननेर मुख लगेर प्रेमपूर्ण स्वरमा विस्तारै भनी, ‘यो सहमति भनेको के हो हजुर ?’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *