नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित साहित्यकारहरु ऐक्यबद्धरुपमा प्रस्तुत नभइदिँदा आशातीतरुपमा यो क्षेत्र मौलाउन सकिरहेको छैन । राज्यसंयन्त्रले समेत साहित्य र साहित्यकारलाई भाषणमा ‘मेरुदण्ड’ मान्ने तर व्यवहारमा चाहिँदो वातावरण तयार नपारिदिने गरेको छ । सर्जकहरु विविध सङ्गठित संस्थाहरुमा आबद्ध भएर साहित्यिक फाँटको व्यावसायिक मर्यादा उत्थानमा संलग्न हुनु स्वागतयोग्य काम हो । तर नेपाली साहित्यका फाँटमा यो प्रवृत्तिभन्दा पृथक व्यक्ति/व्यक्तिबीच गुट-उपगुट निर्माण गर्ने र सङ्कुचित उपलब्धिमा रमाउने परिपाटी यत्रतत्र देख्न सकिन्छ । यस्तै प्रवृत्तिमाथिको बहस आरम्भ गर्न प्रस्तुत मूललेख प्रकाशित गरिएको छ । यसमाथि कवि, लेखक एवं साहित्यकारहरुको सबैखाले टिप्पणी र अभिमत जारी रहोस् भन्ने हामी चाहन्छौँ ।

“नेपाली साहित्यको पछिल्ला दशकमा देवकोटा, सम, लेखनाथ र रिमालजस्ता कालजयी स्रष्टाहरू किन जन्मन नसकेका रहेछन् भनेर बल्ल बुझ्दैछु ।” गजल र आख्यान विधामा कलम चलाउन थालेका एकजना युवा सर्जकको अभिव्यक्ति हो यो । विगत दुई वर्षदेखि राजधानीका साहित्यिक माहौलमा सहभागी हुँदाको अनुभव सुनाउँदै उनी भन्छन्, “देश र समाजले बौद्धिक मानेका साहित्यकारहरूका बीचमा पनि यस्तो गुटबन्दी होला भनेर सोचेकै थिइनँ ।” कृति र फुटकर सिर्जना पढेर आफूले आदर्श मानेका व्यक्तित्वहरूको साहित्यिक व्यवहारसमेत निकृष्ट पाउँदा आफैँलाई लाज लागेको उनी बताउँछन् । “यहाँ त आफू चर्चित भइरहन र वरिष्ठमा दरिइरहनका लागि आ-आफ्नो झुण्ड बनाउने चलन रहेछ । अनि त्यो झुण्डले चाहिँ आफू र आफ्नो गुटबाहेकका सर्जकलाई सर्जक नै नगन्ने ! इतर गुटका सर्जकका सिर्जना जतिसुकै राम्रा भए पनि बद्ख्वाइँ नै गर्नुपर्ने !” पाल्पातिर मूलघर भएका उनी भन्छन्, “यस्तो भएपछि साहित्यको स्तर कसरी माथि उठ्न सक्छ ? राम्रा सर्जकले कसरी प्रोत्साहन पाउन सक्छन् !”

यो अनुभूति उनको मात्रै नभएर, पछिल्ला केही दशकको नेपाली साहित्यिक क्षेत्रका बारेमा जानकारी राख्ने प्रत्येकको हो । साहित्यमा कलम चलाउनेहरूमध्ये धेरैलाई त गुटबन्दीले वाक्कदिक्क नै बनाएको छ । खासगरी जतिसुकै कमजोर भए पनि आफू र आफ्नो गुटका सर्जकको कृतिको अतिरञ्जित ढङ्गले बढाइचढाइ गराएर समीक्षा- समालोचना लेखाउने तर इतर गुटका राम्रा सिर्जना पढ्दै नपढ्ने प्रवृत्ति मौलाएको उनीहरूको अनुभव छ । “यहाँ त गुटगुटका सदस्यहरूबीच पैँचो समीक्षा लेखनसमेत हुँदोरहेछ ।” सुनसरीतिर मूलघर भइ राजधानीमा बस्दै आएका अर्का स्रष्टा भन्छन्, “कतिपय स्रष्टाले मामुली किताब निकाल्दा पनि चर्कै हल्लाखल्ला हुनु तथा हरेक पत्रिकामा समीक्षा छापिनुको कारण नै यही रहेछ । पहुँचअनुसार कसलाई कुन पत्रिकामा लेख्ने जिम्मा दिने भनेर सल्लाह नै हुँदोरहेछ ।” यो कुरा थाहा पाएका दिनदेखि पत्रपत्रिकामा छापिने समीक्षा र समालोचनाप्रति चासो र विश्वास हराउन थालेको उनले बताए । “अचेल त म कुनै कृति समीक्षा पढ्नुभन्दा पहिला यो किन लेखियो भनेर विश्लेषण गर्छु ।” अनुभव सुनाउँदै उनी भन्छन्, “यहाँ त नाम चलेका हरेक साहित्यकारका आ-आफ्ना गुट छन् । विनागुटको स्थापित सर्जक त औँलामा गन्न पनि पुग्दैनन् ।”

पत्रपत्रिकामा छापिने समीक्षा-समालोचनामा मात्रै होइन, गुटबन्दीको प्रभाव साहित्यिक कार्यक्रमहरूमा त झन् मज्जाले देख्न पाइन्छ । भुक्तभोगीहरूका भनाइमा कुनै नवोदित स्रष्टा आफूले निकालेको कृतिको विमोचनका लागि मनले खाएको कुनै स्रष्टाकहाँ सल्लाह लिन गयो भने तिनले नै तोकिदिन्छन्- सभापति, प्रमुख अतिथि, अतिथि र उद्घोषक क-कसलाई बनाउने भनेर । मञ्चमा उनीहरूले रोजेकै मान्छे चाहिन्छ । आयोजकले आनाकानी गर्‍यो र आफ्नो इच्छाअनुसारका वक्ता रोज्न खोज्यो भने कुनै निहुँ पनि नबनाई ठाडै अस्वीकार गरिदिन्छन् । किनकि यहाँ एउटा गुटको स्रष्टा सभापति छ भने अर्को गुटको स्रष्टा प्रमुख अतिथि वा अतिथि हुने संस्कार नै छैन । राजधानीमा आयोजना हुने विरलै साहित्यिक कार्यक्रम मात्रै गुटबन्दीको प्रभावबाट मुक्त देखेको अनुभव सुनाउने उनी भन्छन्, “सभापति, प्रमुख अतिथि र वक्ताहरूको सूचीबाटै थाहा हुन्छ यो कुन गुटको कार्यक्रम हो भनेर…।”

गुटबन्दीको इतिहास

यसबाट लाग्न सक्छ, गुटबन्दी अहिलेका स्रष्टाहरूको विकृत मानसिकताको उपज हो तर नेपाली साहित्यको इतिहास हेर्दा भने यो नौलो लाग्दैन । किनकि गुटबन्दीको प्रारम्भ आधुनिक नेपाली साहित्यको आरम्भकालदेखि नै सुरू भएको देखिन्छ । खासगरी बनारसमा बस्दाताक मोतीराम भट्टले अगुवाइ गरेको मोतीमण्डली नै यसको ज्वलन्त प्रमाण हो । अहिले पनि परिवारमा सँगै बसेर पढ्न मुस्किल पर्ने शृङ्गारिक खालका गजल, कविता सिर्जना गर्ने यो मण्डलीका सिर्जनाहरूको सँगालो नै निस्केको छ, सुक्तिसिन्धु । त्यसबेलामा मोतीमण्डलीका सिर्जनालाई विकृत मानसिकताको उपज मान्दै धर्मदर्शनका कुराहरूमाथि सिर्जना गर्नेहरूको अर्को जमात पनि थियो । यी दुईबीच कुन हदसम्मको कटुता थियो भन्ने कुरा त्यसकालका सिर्जनाहरूबाट पनि थाहा पाइन्छ ।

वि.सं. १९९२ पछि त नेपाली साहित्यमा थुप्रै गुट जन्मिए । खासगरी पुष्कर शमशेर, बालकृष्ण समलगायत सत्ताका नजिक रहेकाहरूको एउटा समूह थियो भने महाकवि लक्ष्मीप्रसाद देवकोटा र चक्रपाणि चालिसे आदिलाई आदर्श मान्नेहरूको अर्को समूह थियो । अर्कोतिर राजनीति र साहित्यिक सिर्जनालाई एकसाथ अघि बढाउने विश्वेश्वरप्रसाद कोइराला, केदारमान व्यथितहरूको तेस्रो समूह थियो । शारदा पत्रिकासँग सम्बद्ध भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठ, गोविन्द गोठाले, विजय मल्लहरूको अर्को समूह थियो । सीमापारि दार्जिलिङमा क्रियाशील स्रष्टा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानको अर्को समूह मानिन्थ्यो । अर्का प्रभावशाली लेखक महानन्द सापकोटाले पूर्वको इलामदेखि भारतको असमसम्मका स्रष्टाहरूलाई समेटेर आफ्ना हित चिन्तकहरूको छुट्टै जमात तयार पारेका थिए । यद्यपि समीक्षा, समालोचना लेखनको उति विकास नभइसकेको र पत्रपत्रिकाको पहुँच पनि उतिसारो नभएको त्यस समयमा एकअर्काप्रति दुराग्रह राखेर व्यक्तिगत आलोचना तथा होच्याउने काम भने प्रशस्तै हुने गरेको त्यस कालखण्डका सिर्जना पढ्दा थाहा पाइन्छ । यदि यसो हँुदैनथ्यो भने सत्ताको नजिक रहेकाहरूले महाकवि देवकोटालाई महाकाव्य र खण्डकाव्य लेखनका लागि सात दिन र एक रातको चुनौती नै दिने थिएनन् । यद्यपि त्यसबेलाको गुटबन्दीको राम्रो पक्षचाहिँ के हो भने, उनीहरूबीच बौद्धिक र खँदिला रचनाका लागि बेजोड प्रतिस्पर्धा भने हुन्थ्यो ।

विडम्बनाको अर्को पाटो पनि छ । यही गुटबन्दीका कारण चक्रपाणि चालिसेका छोराले जेलमै सड्नु पर्‍यो । मकैको खेतीका सर्जक सुब्बा कृष्णलालले सरकारी यातनामै जीवन बिताउनु पर्‍यो । महाकवि देवकोटा बनारस पलायन हुनु पर्‍यो । उनका बारेमा अध्ययन गरेका कतिपय जानकारहरू भन्छन्, “महाकविले त्यसबेला इतर गुट-उपगुटहरूबाट उपेक्षा र तिरस्कारको साटो सही समालोचना, प्रोत्साहन र सहयोग पाउन सकेका भए अरू थप उचाइ र आयु प्राप्त गर्न सक्थे ।”

राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि फेरि एकपटक सर्जकहरू दुई गुटमा बाँडिए । बालचन्द्र शर्मा, बालकृष्ण सम, लैनसिंह वाङ्देलहरू सत्ताको नजिक हुन पुगे भने सत्ताइतर समूहको अगुवाइ केदारमान व्यथितले गरे । राजा महेन्द्रले २०१४ सालमा राजकीय प्रज्ञाप्रतिष्ठान गठन गरेर साहित्यकारहरूलाई सत्ताको गुलियो चखाउन खोजेपछि राणाकालदेखि नै जेलनेल खपेका व्यथित यसको विरुद्धमा खुलेरै उत्रिएका थिए । एकेडेमीको विकल्पमा नेपाली साहित्य संस्थान भन्ने संस्था जन्माएर ‘हिमानी’ साहित्यिक पत्रिका निकाल्न थालेका उनको समूहमा विजय मल्ल, गोविन्द गोठाले, दौलतविक्रम विष्टहरू आवद्ध थिए । मोहन कोइराला, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, परशु प्रधान आदिलाई सोही संस्थाले जन्माएको मानिन्छ । यसबाहेक भवानी घिमिरे, गोविन्द्रप्रसाद लोहनी, श्यामप्रसाद शर्मा, ध.च. गोतामेहरूको अर्को छुट्टै प्रगतिशील धारको समूह थियो, जो वैचारिकरूपमा आफूलाई भूमिगत कम्युनिस्ट पार्टीसँग निकट भएको मान्थे ।

नेपाली साहित्यमा नयाँ सडकको पिपलबोटमा हुने साहित्यिक जमघटको आकर्षण त्यही बेलादेखि चुलिएको हो, जहाँ सत्ता विरोधी स्रष्टाहरू आ-आफ्ना रचना सुनाउन उपस्थित हुन्थे भने सत्तापक्षकाहरू जासूसी गर्नका लागि उपस्थित हुन्थे । यद्यपि जानकारहरूका भनाइमा सत्ता विरोधीहरूमा पनि दुईखाले समूह थियो । एउटा, जो उपत्यका बाहिरबाट आएर डेरामा बसी सङ्घर्ष गरिरहेको वर्ग थियो । यसखाले स्रष्टाहरू आपसमा चिया खाए-खुवाएर छुट्थे । अर्को चाहिँ अलि पैसावालहरूको थियो, जो रचना सुनिसकेपछि छेउछाउका भट्टीमा छिर्न मन पराउँथे ।

कवि व्यथितको त्यसबेलाको सत्ता विरोधी यो अभियान धेरै लामो समयसम्म टिक्न सकेन । किनकि तत्कालीन राजा महेन्द्र आफैँ सर्जक भएकाले उनी साहित्यकारहरूलाई जसरी पनि आफ्नो समर्थनमा ल्याउन चाहन्थे । पञ्चायतको समर्थनमा सबै स्रष्टा, साहित्यकारहरू लागेको देखाउने उनको अभीष्ट थियो । त्यसका लागि उनले प्रवासमा रहेका बालचन्द्र शर्मा, लैनसिंह वाङ्देलहरूलाई भित्र्याएर प्रज्ञाप्रतिष्ठानको उपकुलपति मात्र बनाएनन्, सङ्गीतकार अम्बर गुरुङ, गोपाल योञ्जनहरूलाई समेत यतै बस्ने प्रबन्ध मिलाइदिए । कतिपयले मन्त्रीको पद पनि पाए । जति कोसिस गर्दा पनि केदारमान व्यथितले आफ्नो सत्ताविरोधी अभियान नछाडेपछि राजा महेन्द्रले उनीसँग एउटा सम्झौता गरे । फलस्वरूप स्थापनाकालदेखि सम्हाल्दै आएको प्रज्ञाप्रतिष्ठानको कुलपति पद राजा महेन्द्रले छाडिदिए र जनस्तरको पहिलो कुलपति व्यथित बनाइए । त्यसपछि त उनको समूहमा भएका थुप्रै स्रष्टा प्रज्ञाप्रतिष्ठानमा प्रज्ञासभा सदस्य हुँदै माथिल्ला पदहरूमा पुग्न थाले । त्यही बेलादेखि प्रज्ञाप्रतिष्ठानलाई “शाही वधशाला” समेत भन्न थालिएको थियो ।

सर्जकहरूको सत्ता विरोधी गुट बनाउने अभियान यत्तिमै रोकिएन । नीरविक्रम प्यासी, धर्मराज थापाहरू त सिर्जनागत रूपमै सत्ताको प्रचारमै लागेका थिए । अर्कोतिर आयमेली, राल्फाली, बुटपालिस, अस्वीकृत जमात, सिउँडी आदिका नाममा अनेक गुट/उपगुटहरू तयार भए । यिनीहरूले विम्ब, प्रतीक र अनेक शिल्पका माध्यमबाट सत्ताविरुद्ध चोटिलो प्रहार गर्दै रहे । राल्फालीले त्यो बेला ‘वेदना’ भन्ने पत्रिका प्रकाशन गर्थे तर २०२८ मा गुटबन्दीकै कारण साल्फाबाट गणेश रसिक निकालिए । त्यसपछि उनले हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठहरूसँग मिलेर लांगाली नामको समूह तयार गरे । त्यो समूह सत्ता पक्षधर देखियो ।

मञ्जुललाई बहुबिवाहको वात लागेपछि २०३८मा राल्फा फेरि फुट्यो । निरन चापागाई, नोरेन आदिसँग मिलेर मञ्जुलले ‘संकल्प’ प्रकाशित गर्न थाले । भनिन्छ गुटकै कारण त्यो बेला मञजुल र रामेशहरू बीच बोलचालसमेत बन्द भएको थियो । २०३८ सालपछि प्रजातान्त्रिक विचार राख्ने अशेष मल्ल, विष्णुविभु घिमिरे, किशोर पहाडी, गोविन्दसिंह रावतलगायतका कविहरूले सर्वनाम नामक नाट्य-संस्था जन्माएर सत्ताको उछित्तो नै काढ्न थाले । तर २ वर्षपछि नै गुटका कारण सर्वनामबाट विष्णुविभु घिमिरेहरू अलग भए ।यद्यपि यी सबै गुटका राम्रा र नराम्रा पक्ष पनि थिए, मानवजन्य स्वभावझैँ तर यी गुटका सदस्यहरू एकअर्काका सिर्जनालाई देखिसहँदैनथे र एकअर्कालाई सर्जक नै मान्दैनथे ।

वि.सं. ०४६ पछि झनै मौलायो

गुटबन्दीकै कारण ०४७ सालपछि सर्वनाम फेरि फुट्यो । समग्र साहित्यिक वृत्तमै अनेक गुट तयार भए । राजनीतिक दलहरूको खुला गतिविधिसँगै एकातिर प्रजातान्त्रिक विचार राख्ने डा. ध्रुवचन्द्र गौतम, डा. तुलसी भट्टराई, विष्णुविभु घिमिरेहरूको समूह तयार भयो भने अर्कोतिर भवानी घिमिरे, निनु चापागाई, मोदनाथ प्रश्रति, रामप्रसाद ज्ञवालीहरूको प्रगतिशील समूह देखियो । त्यसको पछि थियो, पञ्चायतलाई नै ठीक मान्नेहरूको समूह, जसमा थिए- क्षेत्रप्रताप अधिकारी, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ र हेमन्त श्रेष्ठहरू ।

वैचारिक आस्थाका आधारमा बनेका यी समूहहरू लामो समयसम्म टिकेनन् । किनकि नेपाली राजनीतिमा मौलाएको अवसरवाद र नैतिकहीनताबाट साहित्यकारहरू पनि अछूतो रहन सकेनन् । गुटबन्दीको प्रमुख आधार र मापदण्ड मानिएको वैचारिक आस्था त्यसपछि बेकारको हुँदै गयो । अवसरवाद, स्तुति गान गर्न सक्ने खुबी र आज्ञाकारिता गुटबन्दीमा सामेल हुने प्रमुख सर्त बन्न थाले । सैद्धान्तिकरूपमा घोषणा नगरिए पनि पछिल्लो कालखण्डमा सक्रिय गुट/उपगुटका अगुवा-पछुवाहरूका आचरण र व्यवहार हेर्दा यी कुरा छर्लङ्ग हुन्छ ।

साहित्यकार डा. रामदयाल राकेश यसलाई गुटबन्दी नभनेर अघोषित सिन्डिकेट भन्न मनपराउँछन् । “यी भनेका एउटै मानसिकता, एउटै स्वार्थ, एउटै मनोवृत्ति भएका मानिसहरूका झुण्ड हुन् ।” कतिपय सञ्चारमाध्यमले नै यो झुण्ड प्रवृत्तिलाई बढावा दिएको दाबी गर्ने उनी भन्छन्- “यिनीहरूलाई आफ्नो राग अलाप्दै अरूलाई हेप्न र होच्याउन पाए पुग्छ ।”

पछिल्लो केही समययता यी गुटहरूका बीचमा आ-आफ्ना सदस्यहरूको प्रचार गराउने तथा पुरस्कार दिलाउने अघोषित प्रतिस्पर्धासमेत सुरु भएको छ । “कतिपय गुटले त भूमिका लेख्ने मात्रै होइन, किताब छाप्ने, विमोचन गर्ने, बजार प्रबर्द्धन गर्ने, पत्रपत्रिकामा समीक्षा छपाउनेदेखि पुरस्कार दिलाउनेसम्मको ठेक्का पनि लिँदारहेछन् ।” एकजना स्रष्टा आफ्नो अनुभव सुनाउँदै भन्छन्, “अनि कतिपयले चाहिँ पुरस्कार दिलाइदिएवापत् रकममा आधाआधासम्म पनि गर्दारहेछन् ।” रक्सी र अन्य खर्च गराइएका आधारमा समेत पुस्तकका समीक्षा/समालोचना हुने गरेको बताउने उनी भन्छन्, “आफ्नो कृतिलाई विश्वविद्यालयको पाठ्यक्रममा पार्ने हो भने फेरि अर्को छुट्टै समूहलाई रिझाउनु पर्छ ।” यो प्रवृत्तिले सर्वसाधारण पाठक तथा नवोदित स्रष्टाहरू मारमा परेको धेरैको भनाइ छ ।

गुटको सबैभन्दा ठूलो प्रभाव चाहिँ देश-विदेशको भ्रमणको अवसर तथा नेपालस्थित विदेशी दूतावासहरूमा निम्ता आउँदा देख्न पाइन्छ । यस्ता अवसर हात पार्ने गुट-समूहहरूले इतर गुटका स्रष्टालाई विरलै समेट्ने गरेका छन् । डा. गोविन्दराज भट्टराईको नेतृत्वमा हालै बेलायत गएका टोलीका सदस्यहरू नै यसको सानो प्रमाण भएको बताउने अर्का स्रष्टा भन्छन्, “केही महिनाअघि दाङमा आयोजना गरिएको साहित्यिक कार्यक्रममा कतिपयका पूरै परिवारका सदस्य पर्नु अनि कतिपय स्थापितहरूले निम्तै नपाउनुको कारण नै यही हो ?”

अनेक गुटका अनेक प्रवृत्ति

यो आलेख तयार पार्ने सिलसिलामा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई भेटेर अन्तर्क्रिया गर्दा विभिन्न गुट तयार भएका भेटिए । भुक्तभोगीहरूका भनाइमा आफूले भूमिका लेख्ने हरेक सिर्जना अन्तर्राष्ट्रियस्तरका देख्ने तथा “यसअघि यति स्तरीय सिर्जना पढ्न पाएकै थिइनँ” भनेर लेखिदिने समालोचक डा. गोविन्दराज भट्टराईले नेतृत्व गरेको समूह अहिले सबैभन्दा प्रभावशाली मानिन्छ । यसमा डा. ध्रुवचन्द्र गौतम, डा. कुमार कोइराला, डा. लक्ष्मण गौतम, मोमिला, शर्मिला खड्का दाहाल, देवेन्द्र भट्टराई, रीता खत्रीहरू अघोषित सदस्य छन् । सबैभन्दा पुरानो प्रकाशन गृह मानिने रत्न पुस्तक भण्डार र ओरियन्टल पब्लिकेसन्सबाट निस्कने पुस्तकमा यो समूहका सदस्यहरूको भूमिका अनिवार्य मानिन्छ । यो समूहमाथि विदेशमा रहेका पैसा प्रशस्तै खर्च गर्न सक्ने तथा जनजाति वर्गका सर्जकलाई आवश्यकताभन्दा बढी उचाल्ने गरेको आरोप पनि छ । उता यसै समूहमा रहेका डा. ध्रुवचन्द्र गौतमको भने आफ्नो छुट्टै समूह पनि छ । प्राज्ञ सनत रेग्मी, भाउपन्थी, युवराज नयाँघरे, रोशन थापा नीरव, सिर्जन लम्साल आदि उनको समूहका अघोषित सदस्य मानिन्छन् ।

कतिपयले डा. अभि सुवेदीलाई पनि डा. गोविन्दराज भट्टराईको समूहको प्रमुख मान्छन् तर त्यो देखावटी मात्र भएको जानकारहरू बताउँछन् । “डा. सुवेदीको आफ्नै छुट्टै समूह छ” नाम उल्लेख नगरिदिन आग्रह गर्ने एक स्रष्टा भन्छन्, “तर त्यसले आफू र आफ्नो समूहबाहेक अरूका बारेमा लेख्ने, मञ्चमा बोल्ने गरे पनि पुस्तक छापिदिने, पुरस्कार दिलाउने ठेक्काको काम भने गर्दैन ।” ती स्रष्टाको भनाइमा मनु मन्जिल, शिव रिजाल, सुनील पोख्रेल, अनुप बराल, डा. सञ्जिव उप्रेती, लक्ष्मी उप्रेती, सविता गौतम दाहाल आदि उनको समूहमा छन् ।

विनागुट बस्नै नसक्ने !

आख्यानकार परशु प्रधान पनि समूह बनाउनेमा अग्रणी मानिन्छन्् । जानकारहरूका भनाइमा उनी जहाँ गए पनि बिनासमूह बस्नै सक्दैनन् । भोजपुरदेखि नै समूह बनाउने बानी परेका प्रधानले विराटनगरमा त कृष्णभूषण बलहरूसँग मिलेर वाणी प्रकाशनलगायत कतिपय पुरस्कार गुठीहरू नै सुरु गरेका थिए । “गुट छ तर स्वार्थका लागि छैन” आख्यानकार प्रधान स्वीकार्छन्, “विचार मिल्ने, कुरा मिल्ने, खानपान मिल्ने, भनेको बेला काम गर्दिने मान्छेहरू अटोमेटिक एकैठाउँमा भइहालिँदोरहेछ ।” गुट बनाए पनि त्यसको उद्देश्य प्रतिभाहरूलाई प्रोत्साहन गर्ने नै भएको दाबी गर्ने उनले वाणी प्रकाशनका माध्यमबाट ज्योति जङ्गल, विवश पोखरेल, नवराज सुब्बा, सीमा आभाषजस्ता प्रतिभाहरूलाई अघि बढाएको तर्क अघिसारे । हाल काठमाडौंँमा रहेका प्रधानको समूहमा डा. कृष्णप्रसाद दाहाल, हरि अधिकारी, धु्रव सापकोटा, पवन आलोक, नरेन्द्रबहादुर श्रेष्ठ, चन्द्रप्रसाद भट्टराई, गीता पन्थ, तारा सुवेदीआदि आबद्ध छन् ।

गुटबिना बस्नै नसक्ने अर्का स्रष्टा हुन् नरेन्द्रराज प्रसाई । डायमनशमशेर, ईश्वरवल्लभ, घटराज भट्टराई विगतमा यिनकै समूहमा आबद्ध थिए । समयअनुसार चल्न जान्ने राजतन्त्रवादी विचारका प्रसाईंको समूहमा अहिले पनि माओवादी नेतासमेत रहेका मोहन बैद्य किरण, पूर्व एमाले नेता मोदनाथ प्रश्रति, कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य, माओवादी सभासद् शान्ता श्रेष्ठ, पत्रकार हरिहर विरही, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसमेत अघोषित सदस्य छन् । डा. वासुदेव त्रिपाठी, जगदीशशमशेर, उषा शेरचन, श्यामदास वैष्णवहरू प्रा. उषा ठाकुर त सदस्य हुनु स्वाभाविकै हो । आफूहरूले निकृष्ट स्वार्थका लागि गुट नबनाएको दावी गर्ने उनी भन्छन्, “तर यहाँ त अरूको प्रगति देखिनसहने डुहुरेमुसा प्रवृत्तिका गुटहरू धेरै भए ।” गुटबन्दीका कारण कतिपय राम्रा सिर्जनाले चर्चा पाउन नसके पनि साहित्यको स्तरचाहिँ नखस्किएको उनको भनाइ छ ।

कृष्ण धरावासी पनि बिनागुट बस्नै नसक्ने स्रष्टा मानिन्छन् । झापामा छँदा कृष्ण बराल, विष्णुकुमार भट्टराई, रश्मीशेखर, लीला अनमोलहरू उनको समूहमा आबद्ध थिए भने काठमाडौंमा दुवसु क्षेत्री, रत्नमणि नेपाल, निशा केसी, जयन्ता पोखरेल, अमर न्यौपाने, हेम भण्डारीहरू उनी निकट मानिन्छन् । कतिपयले डा. सञ्जिव उप्रेती र यस पङ्िक्तकारलाई समेत यही समूहको सदस्य मान्छन् । त्यस्तै, पुरुषोत्तम सुवेदीले अगुवाइ गरेको अर्को प्रभावशाली समूहमा चाहिँ विमल निभा, नयनराज पाण्डे, नारायण ढकाल, गोविन्द वर्तमान, श्यामल, अमर गिरी, खगेन्द्र सङ्ग्रौला, रोशन शेरचनहरू आबद्ध देखिन्छन् ।

राजतन्त्रविरुद्धको आन्दोलनका बेला “बिसे नगर्चीको बयान” मार्फत् चर्चा कमाएका कवि श्रवण मुकारुङको पनि आफ्नै छुट्टै गुट छ । यो गुटमाथि आफ्नो कुन्ठापूर्तिका लागि बाहुनक्षेत्री स्रष्टाहरूलाई गाली गर्ने गरेको आरोप पनि छ । उनको गुटमा राजन मुकारुङ, प्रकाश आङदेम्बे, चन्द्रवीरलगायतका ‘किम्ची समूह’ रहेका छन् ।

नेपाली साहित्यमा दैनिक पत्रिकाहरूसँग आबद्धहरूको बाहुल्य रहेको समूह पनि छ । नारायण वाग्ले, झलक सुवेदी, अनुप सुवेदी, युग पाठक, अजित बराल, बुद्धिसागर, यज्ञश, राजकुमार बानियाँहरूको यो समूहले आफ्ना कृतिहरूको समीक्षा-प्रशस्ति लेख्नेहरूलाई मात्रै आ-आफ्ना पत्रिकामा लेखरचना छाप्ने अवसर दिने गरेको आरोप छ । “वामपन्थीहरूले बल गरेर ‘गरिमा’ को सम्पादक बनाएका अविनाश श्रेष्ठले नागरिक दैनिकका राजकुमार बानियाँलाई गरिमामा अन्तर्वार्ताकार के बनाएका थिए, पालोको पैँचोस्वरूप श्रेष्ठका लेख नागरिक दैनिकमा भटाभट आउन थालिहाले” पछिल्लो प्रमाण दिँदै एकजना स्रष्टा रमाइलो पारामा भन्छन् । उनका भनाइमा यो समूह आफूहरूको आलोचना पटक्कै पचाउँदैन । भदौ ४ गते ललितपुरको एक कार्यक्रममा डा. रामदयाल राकेशले यो गुटको उछित्तो नै काढेका थिए तर भोलिपल्टकै नागरिक दैनिकको सो कार्यक्रमबारेको समाचारमा भने डा. राकेशको नामसम्म उल्लेख थिएन । साहित्यिक पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ र चलचित्रकर्मीसमेत रहेका स्रष्टा प्रकाश सायमी पनि बिनागुट बस्नै नसक्ने स्रष्टा मानिन्छन् । श्रीओमले केही वर्षअघि आफू निकटहरूलाई समेटेर “सारांश नेपाल” नामक संस्था नै बनाएका थिए । त्यसमा भएका सदस्यहरूमा विप्लव ढकाल, मनरूप नेप्च्युन, पुष्प श्रेष्ठहरू लाखापाखा लागे पनि हाल उनको समूहमा भीष्म उप्रेती, डा. रवीन्द्र समीर, मधुसुदन पाठक, सुमन सौरभ, रमेश श्रेष्ठ, मणि लोहनी, ठाकुर बेल्वासे, छविरमण सिलवाल, जय छाङ्छा, मदन राई लामाखुलेहरू आबद्ध छन् । त्यस्तै, प्रकाश सायमीको समूहमा गीता त्रिपाठी, भूपेन्द्र खड्का, कुमारी लामा, मनिषा गौचन र भावक अभियानका केही नवस्रष्टाहरू छन् । समूहविना बस्नै नसक्ने अर्का स्रष्टा मञ्जुलले अगुवाई गरेको समूहमा चाहिँ रजनी ढकाल, सुलोचना मानन्धर, कुमार आले, सुस्मिता नेपालहरू छन् । त्यस्तै, झट्ट हेर्दा धरावासी निकट देखिने डा. दुबसु क्षेत्री नेतृत्वको अर्को समूह नेपाली साहित्य वृत्तमा निकै प्रभावशाली हैसियत राख्दछ । अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा, कालीप्रसाद रिजाल, जगदीश घिमिरे, ज्ञानुवाकर पौडेल, रोचक घिमिरे, रमण घिमिरे आदि आबद्ध रहेको समूह पनि साहित्यिक वृत्तमा निकै सवल मानिन्छ ।

अर्को एउटा समूह छ, दामोदर पुडासैनी ‘किशोर’ले अगुवाइ गरेको । विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, पुष्कर लोहनीलगायतकाहरू आबद्ध रहेको यो समूहको अरूभन्दा अलि पृथक एउटा विशेषता छ, आफूहरू गएका हरेक नयाँ ठाउँमा ५-१० हजार रुपियाँका कुनै न कुनै पुरस्कार स्थापना गर्नु । त्यो पुरस्कार निरन्तर होस् या नहोस् उनीहरूलाई कुनै चासो हुँदैन । साहित्यिक पुरस्कार सस्ता र महìवहीन हुनुमा यो प्रवृत्ति पनि कारक भएको कतिपय जानकारहरूको भनाइ छ ।

साहित्यिक वृत्तमा भएकामध्ये कमल दीक्षित नेतृत्वको समूहलाई चाहिँ सबैभन्दा अस्थिर मानिन्छ । यद्यपि रमेश खकुरेल, कोषराज न्यौपाने, कन्चन पुडासैनी, डा. सनतकुमार वस्ती, प्रयागराज वाशिष्ठ, प्रल्हाद पोखरेल, अच्युतरमण अधिकारी यस समूहका नियमित सदस्य छन् । “मदन पुरस्कार र जगदम्बाश्री”को आशले दीक्षित निकट हुनेहरू पुरस्कार पाउनेबित्तिकै उनलाई छोड्दिन्छन् । डा. ध्रुवचन्द्र केही वर्षअघिसम्म दीक्षितकै समूहमा थिए तर दोस्रोपटक मदन पुरस्कार नदिएपछि यिनी दीक्षितसँग चिढिन पुगे र आफ्नै अलग गुट निर्माण गरे ।

साहित्यिक वृत्तमा आफ्नो छुट्टै समूह बनाएर नेतृत्व लिनेमा मोमिला पनि अग्रणी मानिन्छिन् । यो समूहमा राजेश्वर कार्की, उषा शेरचन, विमल कोइराला, एस.पी. कोइराला, महेन्द्र गुरुङहरू रहेका छन् । यी त साहित्यिक गतिविधिमा बलियो हस्तक्षेप राख्नसक्ने प्रमुख गुट मात्रै हुन् । यसबाहेक पनि राजधानीमा अन्य थुप्रै गुट र समूह अस्तित्वमा देखिन्छन् । यद्यपि कतिपयले मन मिल्नेहरूको समूहलाई गुटका रुपमा लिन नहुने तर्क पनि गरे तर स्मरणीय पक्ष के हो भने यस्ता गुट/उपगुटमा साहित्यकार महिलाहरूको संलग्नता भने कम देखिन्छ । पद्मावती सिंह, गीता केशरी, भागीरथी श्रेष्ठ, माया ठकुरी, चन्द्रकला नेवारहरू आबद्ध भएको गुन्जन,

मितेरी नेपाल तथा गीता कार्की र सन्ध्या पहाडीले अगुवाइ गरेको नारी साहित्य प्रतिष्ठानका गतिविधि हेर्दा यिनले गुटगत चरित्र देखाएको कमै देखिन्छ ।

निष्कर्ष

कतिपयले साहित्यिक गुट जन्माउने प्रवृत्तिलाई राजनीतिसँग पनि जोडेको देखिन्छ । “आफ्नो गुटमा शेर हुनेहरू इतर गुटका सदस्यहरूका माझमा पुग्नासाथ सुस्तजस्तै भएको पाइन्छ ।” साहित्यकार प्रकाश सायमी भन्छन्, “यो एउटा मनोवैज्ञानिक रोग हो ।” यद्यपि समग्रमा हेर्दा स्तुतिमा रमाउनेहरू तथा आफ्नो स्वतन्त्र, पृथक र स्थायी अस्तित्व बनाउन नसक्नेहरू गुटमा लाग्ने गरेको पाइएको छ ।

साहित्य पनि समाजकै अङ्ग भएकोले राजनीतिक दलहरूभित्र मौलाएको गुटबन्दीको प्रभावबाट साहित्यिक क्षेत्र पनि अछूतो रहन नसक्ने धारणा राख्नेहरू पनि छन् । उनीहरूको निचोड चाहिँ एउटै छ- “यसले नेपाली साहित्यलाई सही दिशातिर डोर्‍याउँदैन ।”

मधुपर्क २०६८ कार्तिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *