हेरिटेज भिलेजका कलात्मक गेटबाट हामी भित्र पस्यौं । जङ्गलभित्र वरिपरि साना साना काठका घरहरू थिए । ती घरका बाहिर कहिल्यै नदेखिएका पोसाक लगाएका बालबालिकाहरू, युवकयुवतीहरू र बूढाबूढीहरू यत्रतत्र उभिएर सगरमाथाका देशका हामीलाई हात हल्लाएर अठारौं शताब्दीको संयुक्त राज्य अमेरिकामा स्वागत गरिरहेका थिए ।
“हेरिटेज भिलेजमा स्वागत छ । तपाईंहरू कुन महादेशबाट आउनुभएको हो,?” एक नवयुवकले नम्र भाषामा मलाई सोध्यो ।
“एसिया महादेशबाट ।” मैले विस्तारै उसलाई भनेँ ।
“एसियाको कुन देश ?” उसले मुसुक्क हाँस्दै सोध्यो ।
“नेपाल ।” मैले भनेँ । मैले फेरि भनेँ “माउन्ट एभरेस्टको देश ।”
मेरा कुरा सुनेर ऊ निकै रोमाञ्चित देखियो । उसले हामीप्रति निकै सद्भाव प्रकट गर्यो ।
“आज यहाँ एसिया, युरोप र अमेरिकाका उच्च पहाडी क्षेत्रबाट यो भिलेज हेर्न आएका मानिसहरूलाई केहीबेर रोकेर परिचयात्मक कार्यक्रम राखिएको छ । तपाईंहरूले पनि त्यस कार्यक्रमको शोभा बढाइदिनु पर्दछ । माउन्ट एभरेस्टका देशबाट भन्दा धेरै खुसी लाग्यो । यो हाम्रो भाग्य पनि हो ।” उसले भन्यो ।
हामीले उसका कुरामा सहमति जनायौं ।
उसले हामीलाई एउटा गोलो काठैकाठको घरभित्र पुर्यायो । भुइँ, भित्ता र दलिनमा सबैतिर नचिरेका काठहरू थिए । त्यहाँ विभिन्न रूपरङका मानिसहरू बसेका थिए । हामीलाई पनि आयोजकले माउन्ट एभरेस्टबाट आएका पाहुनाहरू भनेर भुइँमा ओछ्याएको कार्पेटमा बसाए । त्यहाँ कोही जापानी, कोही चिनियाँ, त कोही अमेरिकीहरूजस्ता देखिन्थे ।
सपनाले क्यामेरा झिकेर फोटो खिच्न खोजिन् । एक जना सुनजस्तै लामो पहेँलो कपाल भएकी सेतीमान्छे आफ्ना तीनजना छोराछोरी वरिपरि राखेर बसेकी थिई । ऊ जुरुक्क उठेर हाम्रा नजिकै आएर भनी “हेरिटेजमा तस्बिर खिच्न प्रतिबन्ध छ । हामीले यहाँको कला, संस्कृतिलाई जीवित राख्न यहाँ कुनै किसिमका फोटा खिँच्न नदिने निर्णय गरेका छौं ।” उसका कुरा सुनेपछि सपनाले क्यामेरा ब्यागभित्र राखिन् ।
हामीसित त्यहाँ भेला भएका अरूअरू पहाडी क्षेत्रका मानिसहरूसँग परिचय गराए । माउन्ट एभरेस्टका देशका मानिस भनेर सबैजनाको ध्यान हामीतिरै विशेषरूपमा खिचिएको थियो । म सगरमाथाका देशको मानिस भए पनि स्वदेशमा मेरा आँखाले हिउँ परेको देख्न पाउँदै पाएका थिएनन् । न मेरा पैतालाले हिउँ कुल्चने मौका नै पाएका थिए । मैले हिउँ परेको त सबैभन्दा पहिले (जर्मनी) फ्र्याङ्कर्फटमा वायुयानबाट उत्रेर एयरपोर्टको रेलजस्तो लामो गाडी चढ्न हिँडेको बेला अनुभव गरेको हुँ, पछि सिकागो एयरपोर्टमा त झनै मज्जा लिन पाइयो तर नेपालको हिमाल त न मैले नजिकबाट देखेको थिएँ, न आफ्ना पैतालाले नै कुल्चिन पाएका थिए । त्यसैले हिमालय पहाडका विषयमा भन्न मेरो मुख लागेको थिएन । म चुपचाप बसेँ, बसिरहेँ ।
त्यहाँ मैले मेरो देशमा माउन्ट एभरेस्टबाहेकका अरू पनि विश्वप्रसिद्ध हिमाल कञ्चनजङ्घा, माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण आदि छन् भनेर नाम लिएँ । उनीहरू हामीलाई भनिरहेका थिए “तिमीहरू कति भाग्यमानी रहेछौ ।”
पेपरवेटले कागजलाई थिचेजस्तो एक चोइली भातले कचक्क किचेका मेरा देशभाइलाई त्यसबेला मैले झलक्क सम्झिएँ । जसका अङ्गप्रत्यङ्गमा अभावले चिहाउँछ । जो धरती ओछ्याएर आकाश ओढेर सुत्छन् । मैले केही त बोल्नै पर्यो भन्ने ठानेर भने “आगो र हिमाल टाढाका आँखालाई मात्र सुन्दर हुन्छन्, तिनीहरूलाई भोग्न पर्यो भने त्यसको पीडा वर्णन गर्न नसकिने हुन्छ ।”
उनीहरूलाई म मनमनै भनिरहेको थिएँ, भाग्यमानी र अभागी भन्ने कुरा त नेपालमा जन्मेका भए थाहापाउँथ्यौ मोरा हो, त्यहाँको जीवन कति कष्टकर छ भनेर ।
तर उनीहरूलाई हामीले मुखले ठीक पार्दै भन्न बिर्सेनौ “धन्यवाद ! धन्यवाद !”
आल्पस, माउन्ट किलोमन्जरोदेखि फुजी पहाडसम्मका मानिसहरू त्यसदिन त्यहाँ आएका रहेछन् । नारितो ताकाहासी एक जापानी महिलाले मेरो नजिकै आएर भनी “तिमी र म दुवै एसियाका हौँ ।” उसले हामीसित पालैपालो हात मिलाई ।
केहीबेरको छलफलपछि हामी उनीहरूसँग भिलेज हेर्न निस्कियौँ । उनीहरू कतिपय मानिसले त हामीसित सम्झनाका लागि अटोग्राफ पनि मागे । अटोग्राफ दिंँदै सबैसित हात मिलायौँ ।
हामीलाई सबैभन्दा पहिले हेरिटेज भिलेजमा सम्मेलनको कुरा बताउने मानिसले भन्यो- “एसियाबाट आउनेले त सजिलै यहाँको भिलेजका विषयका बुझ्न सक्छौ ।”
उसको यो भनाइको अर्थ खोज्न मैले निकैबेर निधार खुम्च्याएँ । उसले अहिलेसम्म पनि तिमीहरूको एसिया महादेश यस्तै छ भनेको पनि हुन सक्छ अथवा अति पुरानो सभ्यता र संस्कृति’ भएका एसियाका मानिसहरू ‘आँ गर्दा अलङ्कार बुझ्छन् भनेको पनि त हुनसक्छ । मैले फेरि सोचें यी दुवै नभएर कुनै तेस्रो पनि हुन के आइतवार ! मैले उसको भनाइलाई सकारात्मक रूपमा लिएँ ।
हुन पनि हाम्रो देशका ग्रामीण क्षेत्रमा अचेल पनि यस्तै कच्ची घरहरू छन् । त्यहाँ भएका कुनै घर त सुदूरपश्चिम नेपालका पहाडी क्षेत्रमा महिलाहरूलाई छुन नभएका बखत रात कटाउन निर्माण गरिएका छाउपडी झुपडी जत्रामात्र पनि थिए ।
हामी हेर्दै अगाडि बढ्यौँ । हाम्रा गाउँमा विश्वकर्मा काकाहरूले, फाली, करुवा, हँसिया, कोदाला, खुर्पा, बञ्चरा र अरू अरू औजार बनाउने आरनजस्तै एउटा आरन थियो त्यहाँ । त्यस आरनमा एक जना अधबैँसे मानिस र एकजना युवती मिलेर फलामलाई तताएर रातो बनाई घनले ठोकेर विभिन्न आकारप्रकार दिनमा व्यस्त देखिन्थे । अमेरिका र युरोपबाट हेरिटेज भिलेजको मजा लिन आएकाहरू खलाँतीले आगो फुकेको देखेर पनि अनेक प्रश्न गरिरहेका थिए । युवती र अधबैँसे पालैपालो उनीहरूको जिज्ञासा शान्त पारिरहेका देखिन्थे ।
त्यहाँबाट हामी केही अगाडि बढ्यौँ । त्यहाँ एउटा चर्च थियो । चर्चमा पास्टरले उभिएर प्रवचन गर्ने ठाउँमा एउटा स्टेन्ड थियो । क्याम्पसहरूमा प्राध्यापकहरूले कक्षामा प्रयोग गर्ने टेवलजस्तै टेबलमाथि एकप्रति बाइबल कपडामाथि राखिएको थियो । छोरी साधनाले सोधी, “होइन यो बाइबल पनि त्यसै बेलाको जस्तो पो छ त । मैले त्यसलाई निकै मसिनोसँग हेरे त्यो लेटरप्रेसमा छापिएको प्रति रहेछ ।”
पत्रकारिताको इतिहास पढाउँदा जोहन गुटेनवर्गले विश्वमा पहिलोपटक आधुनिक प्रिन्टिङ प्रेस अर्थात् वाइन प्रेसको आविष्कार गरेको त्यही प्रेसमा विश्वमै सबैभन्दा पहिले तीन सय प्रति बाइबल छापिएको कुरा पढेको मलाई सम्झना भयो । मैले त्यो बाइबल निकैबेर ओल्टाइपल्टाई हेरें । त्यसबेला त्यहाँ हामीबाहेकका अरू कोही पनि नभएका मौकामा सपनाले ब्यागबाट हतारहतार क्यामेरा झिकेर मैले बाइबल हेर्दै गरेको दृश्यलाई कब्जा गरिहालिन् । उनले विस्तारै भनिन् “पछि संस्मरण लेख्दा त यसकै खाँचो हुन्छ त ।” मैले पनि उनका कुरामा सही थापेँ ।
“तिमीले भनेको कुरो सही हो ।”
चर्चबाट हामी अझै अगाडि बढ्यौँ । त्यहाँ एउटा धरान थियो । सपनाले पनि धरान नदेखेको कुरा गरिन् । मैले भने हाम्रो धरान छ नि, पहिलेपहिले त्यहाँ यस्तै धरान नै धरान भएका हुँदा यो ठाउँको नाम नै धरान रहन गएको इतिहास उनीहरूका अगाडि राखिदिएँ । त्यहाँ एउटा गहिरो खाडल खनिएको थियो, खाडलका माथि एउटा ठूलो काठको मुढो तेर्सो पारेर राखिएको थियो । त्यसका बीचमा लामो आरा थियो । त्यसलाई मुढामाथि भएको मानिस र खाडलभित्र भएको मानिसले आलोपालो तान्ने काम गर्दथे । त्यसबाट मुढो चिरिंदै जान्थ्यो ।
हामीले जाँदाजाँदै अन्न राख्ने त्यसबेलाका भकारीहरू देख्यौँ । त्यसबेलाका मानिसहरू आफूलाई चाहिने अन्न हावापानी केही पनि छिर्न नपाउने गरी कसरी सञ्चित गर्दारहेछन् भन्ने हामीले देख्यौँ । हाम्रो तराईतिर घरैपिच्छे बनाइने भकारीसित ती भकारी पनि मिल्दाजुल्दा देखिन्थे ।
हेरिटेज भिलेजभित्र भएको एउटा अग्लो टहरो देखाउँदै सपनाले सोधिन् के रहेछ त्यो टहरो ?
धेरै पहिले अमेरिकीहरूलाई सूचना दिने घर हो । एकजना मानिसले त्यस घरमाथि चढेर बाजा बजाइदिएपछि सूचना लिन वरिपरिका मानिसहरू भेला हुन्थे अनि उनीहरूलाई जानकारी उपलब्ध गराइन्थ्यो । हाम्रा ज्वाइँ प्रकाशले हामीलाई जानकारी गराउनुभयो ।
हामीले त्यहाँ पहिलेको अमेरिकाका पोसाकहरू, ढिकीजाँतो, भाँडाकुँडा आदि धेरै कुरा देख्यौं । आफ्ना पुराना, थोत्रामोत्रा सरसामानहरू देखाएर पनि अमेरिकीहरू विदेशी पैसा तान्न पछाडि पर्दा रहेनछन् जस्तो लाग्यो । हाम्रो देशमा पनि प्रत्येक जिल्लामा त्यहाँको संस्कृति, भेषभूषा, आदिको म्युजियम निर्माण गरेर टाढाबाट आएका पर्यटकहरूलाई त्यसको अवलोकन गराउने, परम्परागत पोसाकमा तस्बिर खिचेको निश्चित रकम लिने हो र त्यसरी प्राप्त भएको रकम आफ्नै समाजको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी आदिमा लगाउने हो भने विकास गर्न सजिलो हुने मैले ठम्याएँ ।
मधुपर्क २०६८ कार्तिक
