Skip to content


कुरा अलि अघिको हो, वि.सं. २०६१ पुसतिरको म हंसपुर-पोखरा थिएँ । एक बिहानै एक जना प्रौढ व्यक्ति म बसेको घर पुगी हात जोड्दै बोले-

“नमस्कार बाबु !”

“हजुर, नमस्कार,”

मैले नमस्कार फर्काएँ तर उनलाई ठम्याउन भने हम्मे पर्‍यो । निकै नियालेर हेरेँ, देखेदेखे जस्तो त लाग्यो तर निधो गर्न चाहिँ सकिनँ । म घोरिएँ । मेरो स्थिति बुझेका उनले भने-

“बाबु म यहीँ माथि धारापानीको सुवेदी हुँ । बाबुको बुबाले धेरै माया गर्नुहुन्थ्यो । खरखाँचोमा काम चलाउनुहुन्थ्यो । बाबुहरू नेपालतिर लाग्नुभयो । अहिले नचिनिने भइयो को हो- को हो जस्तो ।”

उनले आफ्नो साबुती दिएर पारस्परिक निकटतासमेत स्थापित गरे । अनि मैले भने-

“हामी त दाजुभाइ नै रहेछौँ । त्यतैबाट त यता हंसपुर आएका हौँ हामी । परिवार को को हुनुहुन्छ ? अहिले धारापानीदेखि आउनुभा’को भेटघाट- चिनपर्चीकै लागि हो कि अरू विशेष पनि थियो ?” मेरो सोधाइमा उनी अलमलिए । अनि एकछिनको मौनतापछि विस्तारै बोले- “बाबु, छोरा छुट्टिए। कान्छो छोरो सँगै छ । अहिले बी.ए. पूरा गर्छु भन्छ । पढेर पनि के गर्ने, जागिर पाइन्न, म बाहिर अमेरिकातिर जान्छु, पैसा चाहिन्छ भन्छ ? बाबुले केही गरेर हुने उपाय थियो कि ?”

“ठिकै छ, छोरालाई बीए पूरा गर्न दिनोस् । जाँच पूरा गरेपछि मलाई भेट्ने भन्नुस् । जे सल्लाह, सहयोग दिने हो, सो म गरुँला ।”

हो, आफ्नो देशमा सुव्यवस्थित कल्याणकारी शासन व्यवस्था नभएकोले हाम्रो देशका कैयौँ उत्साही युवाहरू काममाम र शिक्षाको खोजीमा विदेश पलायन भइरहेछन् । यसमा अमेरिकाको रहर बोकेर मरिमेट्नेहरूको लाम निकै ठूलो पाइन्छ । यहाँ एकाबिहानै उनी आउनुको आशय मलाई लाग्यो- सायद मेरो परिवार अमेरिका पुगेको र धेरै समयदेखि उतै बस्तै गरेको खबर उनलाई कसैले दिएर सो आशामा उनी मलाई भेट्न आएका थिए क्यार । मेरो उत्तरले उनी सन्तुष्टिसाथ बिदा भए । यसपछि भेटघाट, कुराकानी केही छैन । सायद उनका छोरा पोखरातिर नै कतै सानोतिनो काम गर्दैछन् क्यार।

विदेश पलायन क्रममा अमेरिकाको रहरमा लोभिने नेपालीहरू प्रशस्त छन् । उनीहरूमा बढ्दै गरेको विदेश पलायनको रहर अधिकांशमा यथार्थ नबुझिकन नै भएको पाइन्छ किनभने विदेशको मिहिनेत, व्यवस्तता र दुःख ठूलाबडा नेपालीका छोरानातिले पछुताउँदै खपिरहेछन् । हुनसक्छ- राम्रो नबुझेर लहैलहैमा परी विदेश पुगेका यिनीहरूले मन नपरीनपरी यो हैरानी खाएको अर्को कुराः सामान्य परिवारमा हुर्के-बढेका राम्रो खानपान र बसोबास थलो नपाएका परिश्रमशील गरिब नेपालीहरूले विदेश पसेर हन्डर-हैरानी खानुखप्नु सामान्य हो र स्वेच्छाको कुरा पनि हो । वास्तवमा नेपाली जीवन अनौठो छ, सहज पनि छ । यो कहिल्यै पिन्चे, रुन्चे र दुःखी देखिँदैन । आफ्नो जन्मथलोमा एकमानाको हम्मेहम्मे नै भए पनि यो जीवन रमाइलो, फुर्सतिलो र हँसिलो पाइन्छ । यसका मूल कारण हो-जीवनको सरलता र सन्तुष्टिगत आदर्श ।

यतिखेर मलाई एउटा पुरानो घटना याद आउँछ । वि.सं. २०४० साल आसपासको कुरा हो- म आफ्नो गाउँ हंसपुर पुगेको थिइँ । हिँउदको याम, गाउँको फुर्सतिलो समय, गाउँले दाजुभाइ हामी गाउँको दोकानमा बसी गफ गर्दैथियौँ । यस्तैमा अमेरिकन स्वयंसेविका (पिसकोर) आइपुगिन् । हामीले ‘नमस्ते’ गर्‍यौँ । ‘हलो ? नमस्ते’ भनी रमाइलोसँग सम्बोधन गर्दै खुसीसाथ नमस्ते फर्काइन् । उनी नेपाल आएको तीन-चार वर्ष भइसकेको रहेछ । मैले उनलाई सोधेँ ”नेपाल घुम्नुभयो ?, कस्तो लाग्यो तपाईंलाई नेपाल ?” उनी मुस्कुराइन्, केही बोलिनन् । मलाई खस्खस् लाग्यो । एकछिनपछि फेरि तपाईंलाई नेपाल मन परेन ?, नरमाइलो, नराम्रो लाग्यो कि ?” मैले सोधेँ । उनी उज्यालो अनुहार पारी मुस्कुराउँदै एकछिनपछि बोलिन् ‘हैनहैन, राम्रो छ, नेपाल धेरै राम्रो । यहाँको मानिस पनि राम्रो, धनी छ, फुर्सतिलो छ । हाम्रो देसको मानिसलाई फुर्सत छैन । काम नगरी बस्न पाउँदैन । खान पाउँदैन । नेपालको मानिस फुर्सतिलो र गफ गरी बसेको देख्ता अनौठो लाग्यो ।” त्यतिखेर अमेरिका नदेखेका र नबुझेका हामीलाई उनको कुराले अनौठो र आश्चर्य लागेको थियो । काम गरेर पनि त फुर्सत हुन्छ, सधैँ असारको पन्ध्र’ कहाँ हुन्छ र भन्ने सम्झेका थियौँ हामीले तर आज यहाँ अमेरिकामा जताततै व्यस्त देख्ता र उनको भनाइ सम्झदा ठिकै महसुस भयो । उनको आश्चर्य स्वाभाविक पनि लाग्यो । वास्तवमा यहाँ फुर्सत भनेको अशक्त बूढाबूढी, रोगी र साना बालबालिकाहरूलाई हो । सोबहेक अरू सबै जाँगरिला छन्, कार्य व्यस्त छन् र उत्साही पनि पाइन्छन् ।

अमेरिका हाम्रो लेखा खानापानमा सहज छ । कतिपयलाई अमेरिकावासी बन्न खोज्ने व्यस्त यी नेपालीहरू बिहान-बेलुकी के खान्छन् ? खाना कहाँ कसरी चल्छ ? यो खस्खस् पनि लाग्न सक्छ । अमेरिकामा खानपानको काम नेपालको जस्तो गह्रौँ छैन । अनि यहाँको नेपाली समाज ‘जातभातको साँगुरो घेरामा नै समाज अडेको छ’ भन्ने कट्टर अन्धविश्वासी पनि देखिनन् । वास्तवमा यहाँ छिरेका सबैजसो नेपालीलाई अमेरिकी प्रभावले छोप्तै लगिरहेछ-

‘देशगुनाको भेष’ भनेजस्तै । त्यसमा पनि नेपालबाट अमेरिका ल्याइएका दस वर्षमुनिका केटाकेटीहरू र यहीँ जन्मे हुर्केकाहरू त खानपान, लेखपढ र बोली-भाषामा समेत अमेरिकन बन्दैछन् । यी केटाकेटी हाम्रो जस्तो दालभात खान खोज्न्दैनन् । यिनका निम्ति नेपाली भोजनका पूर्णतृप्तिको शब्द ‘भात-भान्सा’ होइन, केवल ‘पाक्शाला’ अर्थात् पकाउने थलो ।

किचेन अर्थको ‘भान्सा’ शब्द मात्र हो । अनि यिनीहरूको प्रिय खानामा पिज्जा, चाइनिज फुड, चिकेन स्यान्विज्, चिकेन टेरियाकी, स्यान्विज्, फ्राइज्, मम, मासुच्यूरा इत्यादि हो । वास्तवमा नेपालीको मुख्य खाना दालभात, भारतेलीको रोटी भनेजस्तै अमेरिकनको मुख्य खाना यो भन्ने निश्चित बुझिन । यहाँका मुख्य खाद्यवस्तु मकैका परिकार, गहुँका परिकार, भटमासका परिकार, मासु, माछा, अन्डा, सागपात, फलफूल, दुग्धशालामा तयार भएका विविध खाद्यपदार्थहरू आदि बुझिन्छन् । चामल अमेरिकनका लागि पाक्दैन । यहाँ पानीको हाराहारीमा जुस, कोक, वियर आदि चल्छ । यहाँको जाति जसरी विभिन्न थलोबाट आएका थरीथरीका आप्रवासी छन्, त्यसरी नै खाना पनि यहाँ थरीथरी छन् । निश्चित एउटा मुख्य खाना भन्ने छैन तर एउटा विशेषता मासुको प्रयोग चाहिँ यहाँका प्रायः हरेक खाद्यपदार्थ वा खानामा पाइन्छ ।

हामी खानपान कार्यलाई नेपालीमा ‘भात-भान्सा’ भन्छौँ । यो नेपालीको आफ्नै झर्रो शब्द हो । मतलव हो भोजन (भात) तयार भएको भान्सा अथवा भान्सा प्रवेश गरी भोजनकार्य भइसकेको इत्यादि । नेपालीको मुख्या खाना भात पकाउने पवित्रतम् थलो हो-भान्सा । जसको निश्चित परिधि हुन्छ र त्यहाँ अन्य जनको झ्वास्झ्वास्ती प्रवेश निषेध मानिन्छ । अनि भान्साको परिधिबाहिर पुगेको भात बिटुलो ठहरिन्छ । भात भान्साको निश्चित नियम हो यो । साठी-सत्तरी वर्ष अघिको हाम्रो समाज लोकधर्ममा कट्टर थियो । धार्मिक नियमविरुद्ध कार्य भए-गरेमा ‘भात-भान्सा काढ्ने-हरक हुने’ चलन थियो तर जमाना परिवर्तित हुँदै गयो । जातपातका धरोहर जात दिए हुने र लिए हुने, हिन्दू धर्ममा राणा गए, राजा (शाह) गए । अब मातहतको कुरै के ? काम-माममा लागिपरेका अफिसियल नेपालीको पारिवारिक भेट, गफ बेलुका हो । अनि गफगाफको रमाइलो बिदा-फुर्सदको समय हो । यहाँका प्रायः सबै नै जसो नेपालीहरूको जीवन यस्तै व्यस्तता र सन्तोषमा बितेको बुझिन्छ । सम्भवतः यही स्वतन्त्र सन्तुष्टिले गर्दा नै यिनीहरू खुसी र आनन्दित छन्, रमाएका पाइन्छन् ।

यसरी सोच्ता अमेरिकाको रहर स्वेच्छाको खुसीमा दुःख पचाएर केही गर्छु र देखाउँछु भन्ने धैर्यशील, साहसी र उत्साही युवाहरूको लागि फलदायी रहेछ भन्ने यथार्थ स्पष्ट हुन्छ । उमेर घर्केका प्रौढ, हेरुँ न त भनी अमेरिका छिरेका बूढाबूढी आदिका लागि अमेरिका भौतिक रिमीझिमी हेर्ने- डुल्ने एकछिनका रहरको ठाउँ मात्र हो । जीवन-उत्तरार्द्धको पाटोतिर यात्रा गर्दै रहेका पूर्वीय संस्कारमा हुर्के बढेर मनमष्तिस्क थिचिएकाहरूलाई यहाँको केही पनि मनपर्दो लाग्दैन किनभने यहाँको भौतिकवादी जीवन अलमस्त छ, मोजमस्तीमा नै रमाएको बुझिन्छ । पूर्वीय संस्कृतिको अनुसरणमा रमाएकाहरूलाई यहाँको जीवन अनौठो लाग्छ । हर कुरामा यहाँ जीवन स्वतन्त्र छ- ‘गर्लफ्यान्ड’ भनी तरुनी-तन्नेरी भई दुई-तीन वर्षसँगै बसे, मजा लिए-रमाए, मन मिलेन हिँडे । मन मिल्यो बिहे गरे, केटाकेटी पाए । अनि सानै कुरामा मन मिलेन क्षणिक आवेगमा आई छोडे हिँडे ः कस्तो अनौठो दाम्पत्य जीवन ? जीवनमा पतिपत्नी सम्बन्ध जिन्दगीको रमाइलो लागि गरिएको खेलबाडसरह हो । अनि यहाँको जीवन उत्तरदायित्वहीन, नितान्त व्यक्तिवादी हो । भक्ष्य-अभक्ष्यको यहाँ कुनै वास्ता छैन । यहाँको लक्ष्य बुझिन्छ- जीवन क्षणिक आनन्दको लागि हो र खान, पिउन र मोजमस्तीको लागि हो । यो समाज व्यक्तिवादी सोच भरिएको समूह बुझिन्छ । यसैले यहाँको पारिवारिक जीवन र हाम्रो जीवन तुलना नै गर्न नमिल्ने लाग्छ । हाम्रो संस्कृतिमा पतिको निम्ति जीवन उत्सर्ग गर्ने सती नारीको र पत्नीको नाममा जीवनमा समर्पित गरी विधुर रहने तथा साधु

जोगी बनी जीवन बिताउने पत्नीव्रत पुरुष स-सम्मान वणिर्त छन् र तिनको महिमा उच्च छ तर यहाँ त्यसो होइन । यहाँ त कुन तरुनीले कति पोइ फेरी, त्यसको लेखाजोखा बडो चाख मानेर गरिन्छ । अनि धेरै लोग्ने थकाउने, पोइ फेर्ने स्वास्नीमान्छे अपहेलित होइन, पुरुषार्थी ठानिन्छे ।

खानपानको विषयमा पनि हामी सचेत छौँ । हामीकहाँ जातपात छ, भक्ष्याभक्ष्य छ । अन्तस्करण शुद्धताका लागि सात्विक आहार लिनुपर्छ, सदा आहारविहार पवित्र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । भक्ष्य-अभक्ष्य ख्याल गर्दै अन्तस्करण शुद्धि सोच्ने हाम्रो दर्शनमा कर्मको ठूलो महिमा बताइएको छ । भनिन्छ-कर्मअनुसार संस्कार र संस्कारअनुसार वासना बन्दछ । अन्तस्करण कर्मप्रधान छ । जुन कर्मले आत्मतृप्ति दिँदैन, त्यस्तो कर्म र सोबाट उपार्जित द्रव्यादि वस्तु अपवित्र मानिन्छन् । तिनका उपभोगको प्रभाव आनन्ददायी होइन, दुःखदायी मानिन्छ । दुष्कर्म उपार्जित द्रव्यको उपभोग अग्राहृय र भोज्यवस्तु त्याज्य सम्झिन्छ । साथै पवित्र आर्जन प्राप्त भोज्यवस्तु नै आनन्द र तृप्तिदायी सम्झिन्छन् । पूर्वीय दर्शनमा भक्ष्याभक्ष्यको चर्चा चल्छ तर यहाँ त्यसो होइन आफ्नो स्वाद, इच्छा र रुचिअनुसार खानु नै स्वास्थ्यप्रद मानिन्छ र सो नै उत्तम आहार सम्भिmन्छ । हामी परिवारलाई महत्व दिन्छौँ- मातापिता, छोराछोरी, बुहारी आदि मिलीजुली बसेको आदर्शपूर्ण पारिवारिक जीवन नै अनुकरणीय गृहस्थाश्रम हो भन्छौँ । यहाँ सहजीवन नै छैन, अठार वर्ष पुगेका छोराछोरी स्वतन्त्र हुन्छन्- पाखा लाग्छन्, पारिवारिक स्थिति छिन्नभिन्न बन्छ । अशक्त हुन थालेका बूढाबूढी घरको भार बोकी सुस्ताउँछन् र दिनानुदिन निराश्रय बन्न पुग्छन् । हाम्रो दृष्टिमा यो राम्रो होइन । मानव सामाजिक प्राणी हो । हाम्रो समाज छ, परिवार छ र इष्टमित्र छन् । जीवन सङ्घर्षको यात्रामा सुखदुःख बाँड्ने मानिस चाहन्छौँ हामी । सफलतामा गर्व र गौरव मान्ने, खुसी हुने र सन्तोष लिने आत्मीय व्यक्ति चाहिन्छन् । यही नै सामाजिक जीवनको महìव हो । भनिएको छ- ‘सुखमा खाइलाग्नु, दुःखमा रोइलाग्नु ।’

अमेरिकी जीवन स्वावलम्बी छ र स्वच्छन्दमा तैरिएको छ । यसका आफ्नै गुण र महत्व छन् तर पनि यो व्यक्तिवादी छ र अनुदारताको सीमित रेखामा साँगुरिएको पाइन्छ । यसैले पूर्वीय जीवनदर्शन आदर्श पारिवारिक पृष्ठभूमि र गृहस्थाश्रमको व्यावहारिक जीवनलाई नै महìव दिन्छ । अमेरिकी जीवनयात्रा विलाशितामा भड्किएको स्वच्छन्दको व्यक्तिवादी रमाइलो हो । यो आफन्तबाट टाढिएको छ र स्वार्थलिप्साको घेरामा जेलिएको, नाम मात्रको पारिवारिकतामा अडेको छ । जीवन एक्लो छ, निराश्रयी छ, आत्मीयहीन छ र शून्य छ । परस्पर प्रेम र सद्भाव छैन, आफन्तको निकटता पनि छैन । हाम्रो दर्शनले सिकाएको छ- आत्मीयता, प्रेमको उच्चता र श्रद्धाको महिमा । विदुरपत्नीले अतिथिरूपमा आफ्नो घर कृष्ण आउँदा आत्मीय भावले बडो प्रेमपूर्वक भावविभोर बन्दै केराको गुदी फाली भगवान् कृष्णलाई बोक्रा खुवाएकी थिइन् । कृष्णले खुबै मीठो मानी खाएका थिए । यहाँ खाने-खुवाउने दुवैलाई असीम आत्मीयता प्राप्त थियो । वास्तवमा यसको रहस्य थियो- आत्मीय प्रेमको उच्च निदर्शन यहाँ यस्तो आत्मीय प्रेम कहाँ पाउनु ? यहाँ त डलरको लागि मान्छे मेसिन बनेको छ । पैसा केको लागि र कसको लागि थाहा छैन । केही कमायो, अनि खर्च गर्नको लागि कतै न कतै घुम्न-खान-खेल्न, हेर्न, सयर गर्न चइनमा निस्क्यो-लाग्यो । बस त्यत्ति हो । यहाँ यिनीहरूको स्वयं आफ्ना श्रीमान्-श्रीमतीमा पनि आत्मीयपूर्ण विश्वास छैन । साथै सच्चा हाँसो र आँसु पनि छैन । कमाउँछन्, भौतिक सम्पन्नता र मोजमस्ती छ, भएर पनि साँचो जीवन पाइन्न । बाँच्नुको आनन्द पनि छैन । यसैले यहाँ प्रेम, सद्भाव र सन्तोष होइन, हरिया नोटको मोह छ, आत्मीयता होइन, डलरको रहर छ ।

(फ्लोरिडा, अमेरिका -०६५, असोज २४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *