सुत्नेले त सपना मात्र देख्छ
उठ्नेले त संसार भोग्छ ।
कुम्भकर्णजस्तै
कस्तो अभागी त हामी
एकदिन उठ्छौ र वर्षौं सुत्छौं ।
आफू उठ्दा
रावणले सीता हरण गरिसकेको हुन्छ
हनुमानको पुच्छर समाएर
रामले सुनको लंका जलाइसकेको हुन्छ ।
कुम्भकर्णजस्तै
कस्तो अभागी त हामी
एकदिन उठ्छौ र वर्षौं सुत्छौं ।
आफू उठ्दा
रावणले विलासिता लुटिसकेको हुन्छ
रामले विजयको पगरी गुथिसकेको हुन्छ
हनुमानले पुरस्कार पाइसकेको हुन्छ
कुम्भकर्ण ?
अहो ! कुम्भकर्ण
अरुकै स्वार्थको निम्ति बलिदान दिइरहेको हुन्छ ।
आफ्नो जिन्दगीको भाग्य अरुकै हातमा सुम्पन्छ
मर्नु बाँच्नुको आयु अरुकै इच्छामा छाडि दिन्छ
कुम्भकर्णजस्तै
कस्तो अभागी त हामी
एकदिन उठ्छौं र वर्षौं सुत्छौं ।
एकदिन उठेपछि
किन हामीलाई निद्रा मात्र लाग्छ ?
सुतौं सुतौं मात्र लाग्छ ?
संसार हेर्न किन हामीलाई अत्यास लाग्छ ?
यकिना अगाध
