Skip to content


बाज र परेवाहरू
जिउने सङ्घर्षमा भौँतारिएका
शिकारी र शिकारको अवतारमा
अधिकारको परिभाषा खोजिरहेका छन्
जिउने वा जिउनका लागि मार्ने!
जीवनको सत्य र जिउनुको अर्थ
बाँच्न खोज्नेले मात्र जान्दछ
परेवालाई थाहा छ
जिउन कति कठिन छ ?
अरूलाई मारेर बाँच्नेहरूलाई के थाहा
जीवनको मूल्य
भन्छन् आखिर मार्ने पनि बाँच्नकै लागि हो
अनि बाँच्ने पनि मर्नैपर्छ ।
परभक्षी परिभाषित अधिकारको जगत्मा
निर्धा सधैँ सङ्कटमा
अस्तित्व रक्षाको सङ्कट
जिजीविषाको सङ्कट
बलिष्टको मात्र बाँच्ने अधिकार
निर्धाको होइन
प्रकृतिको नियम हो वा नियमको प्रकृति ?
बाँच्न जान्नेले मात्र जिउँछ
नजान्नेको सुरक्षित छ मृत्यु ।
बाज र परेवाको कथा
नौलो होइन,
मार्ने र बाँच्न खोज्नेबीचको
द्वन्द्वको निरन्तरता ।
द्रोणाचार्य बाज चक्रव्यूह बुन्छन्
जयद्रथहरू तरबारमा धार लगाइरहेछन्
उम्किन खोज्दछन् अभिमन्युजस्तै
मात्र असफल प्रयासमा परेवा
शिरच्छेदन हुन्छ अवोध प्राणीको
शोकाकुल उत्तराहरू चुपचाप हेर्न विवश
आˆनै आँखा अगाडि आफन्तको वध
मानवताको बीभत्स चीरहरण
लाशमाथि आँसु झारी पीडा शान्त गर्ने अधिकार पनि छैन
किनकि उसको लाशमा कसैले भतेर
गर्न बाँकी नै छ
विडम्बना!
एकातिर उत्सव, उन्माद विजयको
कसैको लाशमाथि
रोमाञ्चक क्षण
मानव अधिकार, वाक् स्वतन्त्रताको भाषण
अर्कोतिर
शोकमग्न परिवार, भोकको छटपटी मृत्युको पीडा
बिचरा बचेराहरू गुँडमा बाबु पर्खिरहेछन्
भोको पेट भर्ने आशामा
परेवी फर्किन्छे अश्रुधारा लिएर
अनि भक्कानो पार्दै भन्छे-
तिम्रा बाबु सहिद भए
चकमन्न, निस्पट्ट रातको अन्त त हुनु नै थियो
सूर्यका सुनौला किरण अवतरण हुन्छन्
नयाँ बिहानीको वैशाखी टेक्दै
उज्यालो दिनको सन्देश ।
अचम्म! गुँडबाट बचेरा होइनन्
निस्किन्छन् असङ्ख्य अर्जुनहरू गाण्डिव बोकी
हतियारको एकाधिकार समाप्तिको शङ्खघोष
अधिकारको पुनर्परिभाषा, पुनव्र्याख्या
बाँच्ने अधिकारको प्रत्याभूति
लामो निरन्तरताको अन्त्य
लाग्छ, अब बाजका दिन समाप्त भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *