शक्ति र समृद्धिकी देवी मनकामनाको प्रसिद्धिबारे तपाईं हामी परिचित नै छौँ । यो मन्दिर ऐतिहासिक एवं धार्मिक जिल्ला गोरखाको दक्षिणी भेगमा अवस्थित छ । मन्दिरको पूर्वमा दुई महत्वपूर्ण दरौदी र मस्र्याङ्दी नदीको नागबेली दृश्य यस मन्दिरका थप आकर्षण हुन् । यस मन्दिरबाट पूर्वमा सुन्तलाको बगैँचा भरिएको ताक्लुङ्ग तीनमाने गाउँ र पश्चिममा अदुवा र सुन्तलाको खानी बक्राङ्ग भोगटेनी पर्दछ ।

गोरखाको एक मात्र नमुना गाविस रहेको मनकामना गाविस पनि यसै देवीको नामबाट राखिएको हो । यी देवीको भाकल गरे चिताएको कुरा पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ । यस्तो विश्वासको एउटा आधार पूर्व गोरखाली राजाहरूले गरेको राज्य विस्तार मनकामना माईको आशीर्वादबाट भएको भन्ने किंवदन्ती हो भन्ने कुरा मनकामना मन्दिरका पुजारी इन्सान थापा मगर बताउनुहुन्छ ।

गोरखा सदरमुकामको पोखरीथोक बजारदेखि १२ किलो मिटर दक्षिण तनहँु आँबु खैरेनीबाट ५ किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । यो क्षेत्र पूर्व-पश्चिम लाम्चिएर रहेको छ र समुद्र सतहबाट १३०२ मिटरको अग्लाइमा अवस्थित छ । मन्दिर परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपूर्ण र हिमचुली र मनास्लुका चुलीहरू देख्न सकिन्छ । मनकामना मन्दिरकै प्राङ्गणबाट दुवै क्षितिजमा देखिने सूर्यादय र सूर्यास्तका मनमोहक दृश्य देख्दा हर्षविभोर नहुने मानिसहरू विरलै भेटिएलान् । अझ नजिकै माथिल्लो भागमा देखिने वाकेश्वरी (वक्येश्वरी), दक्षिणमा चितवनतर्फ देखिने इच्छाकामना र तनहँुतर्फको छिम्केश्वरी डाँडाका तीन चुलीहरू एक आपसमा ‘को भन्दा को कम ?’ भनेर प्रतिस्पर्धा गरेको भान हुन्छ ।

यस स्थानको बारेमा विविध किंवदन्तीहरू रहेकोमा पुजारी इन्सान थापा मगर भन्नुहुन्छ- राजा राम शाह (१६१४-१६३६)को रानी लीलावती वा पुण्यवती देवी अवतारी थिइन् । गुहृय ज्ञान उनका भक्त गोरखानाथ दीक्षित सिद्ध लखन थापालाई मात्र थियो । एकपटक राजा राम शाहले गोरखा उपल्लो कोट दरबारमा आफ्नी रानीलाई देवी र लखन थापालाई सिंहासनमा देखेछन् । त्यसपछि अचानक राजा बिरामी भई स्वर्गीय भए । उनको अन्त्येष्टि मस्र्याङ्दी-दरौदी दोभान राम शाहघाटमा गरियो । तत्कालीन चलनअनुसार राजाको चिन्तामा रानी सती जानुपर्‍यो । भक्त लखन थापा शोक विहृवल भई विलाप गर्दा रानी ‘तिम्रो इच्छा पूरा गर्न तिम्रै गाउँको कˆयाक छेउ फेरि प्रकट हुनेछु’ भनिन् रे ।

त्यसको सात महिनापछि हाल मनकामना रहेको ठाउँमा घनध्वजले जोत्दा एक ढुङ्गामा हलो अड्की त्यसबाट दूध र रगत बग्न थालेछ । दिव्य दृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्वारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवी मन्दिरको स्थापना गरियो । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरी नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता र लालमोहर लगाइदिए । स्मरणीय रहोस् मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौँ पुस्ताका पुजारी हुन् ।

‘गोरखालीहरू लाहुर जाँदा मनकामनाको भाकल गर्ने प्रचलन अझसम्म पनि रहेको छ । पहिलो र दोस्रो विश्व युद्धको बेला लाहुरेहरूको भाकल पूरा गर्ने जिम्मेवारी र उनीहरूको रक्षाको भारले माईको सिलामा पसिना आई रुमालले बारम्बार पुछ्नु परेको कथन पनि छ । यस ठाउँमा सर्वसाधारणदेखि सांसद, मन्त्रीहरूलगायत विदेशीहरूको पनि ठूलो भीड लाग्ने गर्दछ । मन्दिरको पूर्वमा चापको ठूलो रूख रहेको मन्दिरमा चार तले प्यागोडा शैलीमा सुनौला गजुरले सजिएको छ । मन्दिरमा नित्य पूजा बिहान सात बजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि सर्वसाधारणको लागि बलि र पूजा सुरु हुन्छ ।

यस मन्दिरको पूर्वपट्ट िअवस्थित वकेश्वरी मन्दिरमा वाक्य फुट्न नसकेका वा लुला लङ्गडा, बालबालिकालाई दर्शन गराएमा बच्चाको बोली फुट्ने र हातखुट्टा दह्रो हुन्छ भन्ने जनविश्वास रही आएको छ । यस्तै यस मन्दिर परिसरमा पाइने १५ भन्दा बढी देवी देवताहरू, गोरखनाथ गुफा, त्रिवेणी मन्दिर, सुन्तलाको व्यावसायिक खेती, प्राकृतिक र मनमोहक दृश्यले यसको महत्वलाई झन् बढाएको छ । तनहँु जिल्लाको आँबु खैरेनीबाट ३ घण्टाको पैदल यात्रा, गोरखा जिल्लाको अँवुवाबाट १४ किलोमिटर कच्ची सडकबाट र चितवन जिल्लाको चेरेसबाट केबुलकारमार्फत यस मन्दिरमा पुग्न सकिन्छ । नेपालको एक मात्र केबुलकारको यात्राले मनकामना माईको दर्शनलाई सुगम तुल्याउनका साथै धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिकोणले विशेष महत्व पुर्‍याएको छ ।

विक्रम संवत् १९९० सालको भूकम्पले मनकामना मन्दिर ६ इन्च पश्चिमतर्फ ढल्किएर कमजोर भई जीर्ण अवस्थामा पुगेको छ । मन्दिरको जगमा मुसाले प्वाल पारी माटो बाहिर निकाल्दा दैनिक नित्य पूजामा समेत असर पारेको मन्दिरका पुजारी बताउँछन् । वाषिर्क एक करोडभन्दा बढी दान भेटी सङ्कलन हुने यस मन्दिर सरकार, मनकामना क्षेत्र विकास समिति र पुजारीको विवादका कारण अझसम्म जीर्णोद्धार हुन नसकेको कुरा स्थानीयवासी बताउँछन् । बेलैमा यस मन्दिरको संरक्षणको लागि सम्बन्धित सरोकारवालाले ध्यान नपुर्‍याएमा कुनै दिन मन्दिर परिसरमा नै अपि्रय घटना घटी ठूलो जनधनको क्षति नहोला भन्न सकिँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *