Skip to content

कथानकका आधारमा मनोहर पोखरेलको लघुकथाकारिता

  • by
NandaLalAcharya-09

विषय प्रवेश
देखेको लेख्ने र लेखेको नदेख्ने सर्जकहरूमध्ये एक हुन्– मनोहर पोखरेल ।

समाज पढ्दापढ्दै जब कोक्याउँछ तब पोखरेल कलम अघि सार्छन् । समाजले यस दिशामा लाग्नुपछ्र्र भनेर स्पष्ट मार्गचित्र कोर्छन् । यद्यपि समाज त्यता डोहोरिनै सक्तैन । अनेक व्यवधानले रोकेर राख्छन् । तापनि एक दिन रोकिएको बाँध टुट्ने र समाजका घैलामैला सोहोरसार पारेर मिल्कने/बगेर जाने कुरामा आशावादी छन् ।
अतः पोखरेल पाठकका मनमा आशाको संचार गर्ने कलमधारी हुन् । लेखाइमा मात्रै हैन बोलाइमा पनि उत्तिकै प्रभाव छाड्न सफल सर्जक पोखरेल निष्पक्ष द्रष्टा र मधुर वाणीका सम्राट हुन् ।

विशेष गरी मधेश केन्द्रित विषयवस्तुमा कलम चलाउँदै आएका मनोहर पोखरेल (२०२७) पेशाले पत्रकार हुन् । उनी स्थानीय सञ्चार माध्यमका अतिरिक्त इन्सेक र अन्नपूर्ण दैनिकसँग सम्बन्धित छन् । उनी २०७८–०७–०३ गते स्थापना भएको र निरन्तर लघुरचना वाचन हुँदै आएको ‘लघुकथा– पाठ्य–श्रव्य–दृश्य’का व्यवस्थापक तथा विशेष लाइभ वाचक समेत हुन् ।

पारिवारिक नातागोतामा साहित्यिक माहोल एवं राजनैतिक पहुँचमा समेत साहित्यिक वातावरण भएका कारणले पोखरेलले सानै उमेरदेखि नेपाली साहित्यिक रचना सुन्न, पढ्न र बुझ्न पाएका थिए । कानूनका विद्यार्थी भए पनि साहित्य र पत्रकारिताप्रतिको लगावझुकावले उनलाई समाजमा चिनिने अवसर मिलेको छ ।

अर्कातिर सप्तरी जिल्ला नै जन्म र कर्मथलो रहेका कारण मैथिली भाषासँग उनको आमासरहको नातो छ । उनी मैथिलीमा नेपालीसरह प्रयोगव्यवहार गर्न सक्छन् । उनको सारा जीवन नेपालीय मैथिली भाषा र समाज उचाल्नुमा व्यतित भइरहेको छ ।

साहित्य क्षेत्रमा उनको प्रवेश कविता विधाबाट भएको देखिन्छ । पत्रिकामा लामालामा लेखसमाचारहरू लेख्दालेख्दै कथा विधामा उनी अनायासै प्रवेश गरेका थिए । कानूनमा स्नातक उनी कानूनी क्षेत्रमा समेत सक्रिय छन् । साहित्य उनको रहरको खेती हो । कविता, कथा, निबन्ध हुँदै लघुकथामा कलम चलाउँदै आएका पोखरेलको लघुकथा कृति प्रकाशोन्मुख रहेको बुझिन आएको छ ।

उनले चाडबाडको मुखैमा अर्थात् २०७८ भदौ २२ गते कुसेऔँशीको दिनमा लेखी सोही दिन सार्वजनिक गरेका छन्– ‘कुसेऔँशी’ शीर्षकको लघुकथा । त्यसकै कथानकको लघुविश्लेषण तल गरिएको छ ः

१. आरम्भ (कथाको थालनी वा उठान)– बाबालाई सम्झने दिन हो भनेर थरीथरीका कुरा लेखिएका सामाजिक संजालमा केही वास्तविक र केही अवास्तविक कुरा ‘म’ पात्रले बुझ्नु ।

‘कुसेऔँशी’ लघुकथामा आरम्भ– ‘स्टे हेल्दी, स्टे ह्याप्पी पापा ।’ ‘बुवा मेरा लागि संसार हुनुहुन्छ ।’ ‘संसारकै महान् मेरा बाबा ।’ ‘मेरो आदर्श, प्रेरणास्रोत बुवा ।’ ‘सृष्टिकर्ता, अभिभावक, गुरु, जन्मदाता, कर्मदाता ।’

आज एकाविहानै यस्तैयस्तै कतै वास्तविक लाग्ने कतै अतिरञ्जित लाग्ने कुराहरू पढ्न पाइएको थियो, सामाजिक सञ्जालहरूमा ।

२. विकास (कथाको पहिलो सङ्कट र त्यसबाट विकसित अन्य सङ्कट वा समस्याहरू)–
पहिलो सङ्कट– बाबाले अनेक जीवनबोधका प्रसंग सुनाउँदा ‘म’ पात्रले बोध गर्न नसक्नु,
अन्य सङ्कट–
(क) बाबाको स्मरण सुखानुभूतिदिनु,
‘कुसेऔँशी’ लघुकथामा विकास– मैले पनि आफ्ना बाबालाई सम्झेको थिएँ त्यसबेला । उहाँको छत्रछायाँमा बिताएको सुखद् क्षणको झझल्को आएको थियो । मनमा आनन्दको शीतल वर्षा भएको थियो ।
‘मनुबाबु, समयसँग लाप्पा नखेल्नू, जित्न सकिन्न । समयसँग सम्झौता गरेर पाइला चाल्नू, जीवनमा कहिल्यै हारको स्वाद लिनुपर्दैन ।’
त्यसबेला म कुरा नबुझेर अलमलिएको थिएँ । मेरो बालापनलाई सम्झँदै उहाँ थप्नुहुन्थ्यो, ‘समय चिनियो भने सुख घरभित्र पस्छ र दुःख लखेट्छ । समयलाई नै मान्छेले बिस्र्यो भने चैँ उसको जीवन नै दुःखको दलदलमा अड्किन्छ ।’
नबुझेर प्रतिक्रियाविहीन हुँदै मैले आलटाल गरेको देखेर उहाँको पुनः बोली सुनिन्थ्यो, ‘अहिले नबुझेपछि बुझिन्छ । ख्याल गर्दै जानू, गुन्दै जानू । हुन्छ मनुबाबु ?’

३. चरम (थप सङ्कटसहित निर्णायक अन्तिम सङ्कट)– बाबाको निधन हुनु । त्यसपछि
(क) बैँकमा मौज्दात रहेको पैसा पनि रोक्का हुनु,
(ख) बहुमूल्य समान लैजानेहरूले फिर्ता नदिने कुरा गर्नु,
(ग) सापटी लग्ने र पैसा पछि दिन्छु भनेर उधारो जग्गा पास गराउनेलेहरूले पैसा नदिनु ।
‘कुसेऔँशी’ लघुकथामा चरम– त्यसबेला म कक्षा ८मा पढ्थेँ । असोज २९ गते दशैँको अघिल्लो रात अकस्मात हाम्रो घरको आधार स्तम्भ ढलेको थियो । अडिने टेको भाँचिएको थियो । हातमुख जोड्ने आशा टुक्रिएको थियो । अर्थात् मेरा साक्षात् भगवान् बाबाको नश्वर देह सदाको लागि ढलेको थियो ।
त्यसले बैँकमा मौज्दात रहेको पैसा पनि रोक्का भयो । घरका बहुमूल्य समान लैजानेहरूले हाकाहाकी फिर्ता नदिने बताएँ । सापटी लगेकाहरूले बाटो बिर्से । उधारो जग्गा पास गराउनेलेहरू चिन्दै नचिन्ने भए ।

४. ह्रास (सङ्कटसँग जुध्ने स्थिति अर्थात् सङ्घर्षमा कमी)– ‘म’ पात्रलाई बाबाको आवश्यकता खड्कनु ।
‘कुसेऔँशी’ लघुकथामा ह्रास– हुनेलेभन्दा बढी महत्त्व नहुनेले बुझेको हुनुपर्छ । गुमेपछि मात्र महत्त्व बढ्दो रहेछ ।

५. समापन (कथाको टुङ्गयाउनी)– बाबाको आशीर्वचनको अन्तर्बोध हुनु अर्थात् बाबाले पहिले भनेका कुराहरू ‘म’ पात्रले अहिले आएर छर्लङ्ग बुझ्नु ।
‘कुसेऔँशी’ लघुकथामा समापन– मलाई अहिले यसै कुसेऔँसीको दिनले बाबाको आशीर्वचनको अन्तर्बोध गराइरहेको छ ।

उपर्युक्त ढङ्गमा कथानकले आफ्नो परिपथमा फङ्को मारेको हुँदा यो लघुकथा सानो भएर पनि पूर्ण र प्रभावकारी बन्न सकेको छ । बाबाको सम्झनाबाट कथाको उठान भएको छ । बाबाले भनेका आशीवर्चनले कथानकको विकास भएको छ । यसको चरम बाबाको निधनले कथा मार्मिक बनेको छ । त्यसपछिको कार्यव्यापार अँझ संवेदनशील छ । बाबाले दिएको होसको ओखतीको ज्ञात ‘म’ पात्रलाई भएर कथा समापन भएको छ । यसरी उठान, चरम र समापनलाई यस ‘कुसेऔँशी’ लघुकथाको कथानकले सफलतापूर्वक सम्बोधन गरेको छ ।

उनका कथा समाजसापेक्ष सरल हुन्छन् । कुनै न कुनै सन्देश बोकेका हुन्छन् । उनी समानता र समताका पृष्ठपोषकका रूपमा देखिएका छन् । हाम्रोभन्दा राम्रोलाई बढवा दिने उनको चारित्रिक स्वभाव साहित्य त्यसमा पनि लघुकथामा सर्लक्कै छिरेको छभन्दा अतिशयोक्ति नठहर्ला ।

–नन्दलाल आचार्य
२०७८–०५–२३ उदयपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *