लेखनको मापदण्ड लेखनसँगै गाँसिन्छ कि अर्थोकसँग गाँसिन्छ । प्रश्नै गर्न नपर्ने कुरो हो यो । लेखनको माध्यमबाटभन्दा अर्कोकबाट चर्चित र वरिष्ठ हुनेहरूको स्रष्टालाई । लेखनलाई धर्म र कर्म माने पनि धर्म र कर्मको मर्म नबुझ्नेहरूले गर्दा सत्यसत्य भन्नैपर्छ- ‘लेखन’ लेखनका माध्यमबाट मात्र चर्चामा आउँदोरहेनछ । लेखनलाई धर्म र कर्म बनाएर निरन्तर ५० वर्षदेखि साधानारत मोहनराज शर्मा पनि सहजै भनिदिनुहुन्छ-“लेखन त एकतर्फी मात्र भयो, त्यसलाई जोड्ने काम त सञ्चार जगत्ले नै गर्छ ।”
‘लेखन मेरो धर्म, लेखन मेरो कर्म’ भनेजस्तै हुनुहुन्छ मोहनराज शर्मा । ५० वर्षदेखि निरन्तर लेखेको छ लेखेको छ, त्यो पनि विविधविधामा काम लाग्ने र गतिलो मात्र होइन उत्कृष्ट कृति दिन सफल हुनुभएको छ । वि.सं. १९९७ सालको मङ्सिर २५ गते काठमाडौँको धर्मस्थलीमा रुद्रप्रसाद एवं तारादेवी ढकालका जेठा छोराको रूपमा जन्मिनुभएका मोहनराज शर्माको यहाँसम्मको जीवन अर्थात् ७० वर्षको उमेर धेरै सङ्घर्षमा बित्यो । कलिलो उमेरमै आफ्ना बाबु गुमाउनु पर्दाको पीडा र थपिएको व्यवहारले, कलिलो उमेरका दुई छोरा गुमाउनुको पीडा खेप्नुभएको छ उहाँले । आफ्नै बलबुताले नेपाली भाषा र साहित्यको क्षेत्रमा मोहनराज शर्मा आफ्नो जीउडालजस्तै बलियो र दरिलो भएर उभिनुभएको छ । सिर्जना र साधनाको संसारमा गम्भीर भएर लागिपर्दै उहाँ आज नेपाली साहित्यका विशिष्ट साधक बन्नुभएको छ ।
मोहनराज शर्मा भन्न्ाासाथ उहाँको परिचय दिन हम्मे पर्छ । कथाकार, नाटककार, निबन्धकार, समालोचक, हास्यव्यङ्यकार, सम्पादक, प्राध्यापक, अनुवादक, नेपाली भाषाका प्रखर व्यक्तित्व…भन्दै जाँदा अब उहाँले आफ्नो परिचयमा उपन्यासकार पनि थप्दै हुनुहुन्छ । ‘सलिजो’ नामक उपन्यास छिट्टै प्रकाशमा आएपछि मोहनराज शर्मा सफल उपन्यासकारको रूपमा समेत चिनिनुहुन्छ भन्ने धेेरैलाई लागेको छ ।
यतिका विधामा बाँडिनुभएका मोहनराज शर्मालाई मनपर्ने क्षेत्र चाहिँ आख्यान नै हो, त्यो पनि कथानक भएको । उहाँलाई मनपर्ने कुरा कथा-उपन्यास भए पनि नेपाली समालोचना साहित्यमा प्रमुख व्यक्तित्वहरूमध्येका एक मानिनुहुन्छ । गहन र यथार्थवादी समालोचनामा केन्दि्रत उहाँलाई अझ राम्ररी प्रस्तुत गर्न साहित्यकार नरेन्द्रराज प्रसाईंको लेखन अघि सारौँ- “मोराश नेपाली समालोचनाको इतिहासमा अत्याधुनिक र नवीनतम समालोचकीय पद्धति शैली विज्ञानका शुभारम्भकर्तामध्ये एक हुन् । साहित्यिक सृजनात्मक कृतिलाई नेपालीमा शैलीवैज्ञानिक समालोचना प्रणालीका कसीबाट नापजाँच र मूल्याङ्कन गर्ने परम्पराको थालनी गर्नेमध्ये शर्मा पनि एक मानिन्छन् ।” (नेपाली साहित्यका समालोचक र समालोचना, २०५७)
समालोचकको रूपमा शैली विज्ञान’का लागि २०४८ को प्रतिभा पुरस्कार पाउने मोहनराज शर्माले बैकुण्ठ एक्सप्रेस’ नामक नाट्यकृतिका लागि २०४२ सालको मदन पुरस्कार पाउनुभयो । कुशल कथाकारका रूपमा सुपरिचित उहाँले वि.सं.२०४० सालमै मैनाली कथा पुरस्कार पाइसक्नुभएको थियो । लामो समयको प्राध्यापनबाट २०५३ त्रि.वि. दीर्घसेवा पदक पाउने मोहनराज शर्मा प्रचारप्रसार, चाकडी, परिक्रमामा त्यति विश्वास राख्नुहुन्न । तपाईंको योगदानको कदर भएको छ त! भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ- “प्रोफेसर भएर काम गरेँ, त्यसमा विद्यार्थीबाट अति माया पाएँ, बाँकी समय सिर्जनामा रत भइयो, कदर भयो भएन यतापट्ट ित सोच्नै भ्याइन । म फेरि यस्ता कुरामा त्यति वास्ता पनि गर्दिन । असङ्ख्य विद्यार्थी र मनग्गे पाठक पाएको छ, योभन्दा ठूलो कदर अरू के होला र ?”
प्रकाशनको मितिबाट
(२०१६)गणना गर्ने हो भने ५० वर्षे साहित्यिक यात्रामा उहाँले आफ्नो स्थान बनाइसक्नुभयो, साहित्यका कैयौँ विद्यार्थीहरू आफ्नै पथमा डोर्याउनुभएको छ । गहन अध्ययन, सशक्त प्रस्तुति यथार्थवादी, कुशल कलमका धनी मोहनराज शर्माका च्याँखे धर्ना (२०२४), मि. झप्पु सिंह डबल एम.ए (२०३८) (हास्यव्यङ्य, पुछारको पातो (२०४०) निबन्ध सङ्ग्रह, कोर्रा (२०४०, महाशून्य (२०५०), बैखरी (२०५४) कथा सङ्ग्रह प्रकाशित भइसके । जेमन्त । यमा (२०४१), वैकुण्ठ एक्सप्रेस (२०४०), उताको बाध, (२०६१) नाटक सङ्ग्रह, रस चिनारी (२०२५) नेपाली केही आधुनिक साहित्यकार (२०२६), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास (२०३४), कथाको विकास प्रक्रिया (२०३५), समकालीन समालोचना सिद्धान्त र प्रयोग (२०५५), शैली विज्ञान (२०४८) जस्ता समालोचनाका कृतिहरू मोहनराज शर्माका हुन् । यस्तै, भाषा विज्ञान र नेपाली भाषा (२०५१) शोधविधि (२०५२), शब्द रचना र वर्ण विन्यास (२०३१) वर्ण विन्यास भाषा वैज्ञानिक पद्धति (२०३६)। यतिमात्र होइन महाकवि लक्ष्मीप्रसाद देवकोटाका मायाविनी सर्सी (२०२४) नवरस (२०२४), आकाश बोल्छ (२०२५) छाँगासँग कुरा (२०२६) अनि समसामायिक साझा कथा (२०४१), नेपाली निबन्ध भाग-१ (२०४८), नेपाली हास्यव्यङ्गय कविता
(२०४८), बङ्गलादेशका समकालीन कथाहरू (२०४९) को पनि सम्पादन गरेर सफल सम्पादकको परिचय दिइसक्नु भयो उहाँले । ”एउटा साहित्यकारका रूपमा आधुनिकता र यथार्थ मेरो प्रतिवद्धता हो।
साधना र सिर्जनाको संसारमा मोहनराज शर्मा एउटा सफल साधकका रूपमा परिचित शर्माले त्रिविमा नेपाली पठाउँदा असङख्य छात्र-छात्रालाई मुग्ध पार्नु भएको छ, समालोचकीय मन्तव्य लेख्दा र बोल्दा त्यत्तिकै सशक्त रूपमा प्रस्तुत हुने उहाँको खुवी, सिर्जनशीलता, अध्ययन, साधनाको दाँजोमा न्याय नभएको साधकमा पर्नु हुन्छ । प्रज्ञा प्रतिष्ठानको ५० वर्ष नाघिसकेको इतिहासमा ५० वर्षको साधना गर्ने मोहनराज शर्माको नाम अझै जोडिन सकेको छैन । उहाँ जस्तै कैयौँ यस्ता साधक छन् जो लेखेर साधना गरेर जति नै वरिष्ठ भए पनि ‘राजनीति’ ले डोरिएका र डोर्याएकाहरूको भीडमा उहाँहरू जस्तो ‘प्राज्ञ’ हराउनु हुन्छ र ‘प्राज्ञ’ को दौडमा देखापर्छन अरू नै । ‘दौड’ लाई जित्न साधकले पक्कै सक्दैनन्, साधकलाई दौड्नेहरू र दौडाउनेहरूले परास्त गर्दै आइरहेका छन् ।
दौडमा पटककै रूचि नभएका मोहनराज शर्मा लेखनको दौडमा अघि नै हुनुहुन्छ, साधनाको सन्दर्भमा अगाडि नै हुनुहुन्छ । बेलाबखतको पुरस्कार छनौट, घोषणा, प्रज्ञा प्रतिष्ठानको गठन आदि सुन्दा पनि गल्नु भएको छैन उहाँ गल्नु त के त्यतापछि त्यति चासो पनि दिनुहुन्न-”मेरो विचार त के भने पद, पुरस्कार….का लागि लेखेको पनि होइन । पुरस्कारमा आफ्नै राजनीति हुन्छ, एक प्रकारको चलन हुन्छ । त्यसैले यी पुरस्कारबाट मान्छे खासै सम्मानित भएको देखिएको छैन । साहित्यमा केही नयाँ कुरा आओस भन्ने मेरो लक्ष्य हो । वास्तवमा यसैले पुरस्कारमा आश पनि हुँदो रहेनछ । ” स्रष्टा पनि समालोचक पनि एउटै व्यक्तित्व उहाँ समालोचकहरूप्रति गरिने गुनासोमा सहमत हुनुहुन्छ ।
”यो त ठीकै भन्छन् होला! त्यसै हुँदो हो र त त्यसैले भन्छन् । विश्व समालोचनाले ठूलो फड्को मारिसक्यो, हामी चाहिँ… हाम्रा समालोचकहरू अधिकभन्दा अघिक अध्ययन गर्दैनन, परिश्रम गर्दैनन्, केही मात्रामा सिर्जनशील हुँदैन भने समालोचना प्राध्यापकीय समालोचना हुन्छ । त्यो फड्कोमा पुग्न त कठोर परिश्रम गर्नैपर्छ । त्यस्ता समालोचक धेरे देखिएका पनि छैनन । नयाँ -नयाँ समालोचनाको पहराले विनिमर्माणवाद, नारीवाद, परालैाकिा समालोचना आदि कक्षाभित्र जाँदैन । यी खाले समालोचकहरू पैदा पनि भएका छैनन् । परम्परागत धारणा लिएर अघि बढ्नै प्रवृत्ति देखिएको छ । त्यसैले गुनासो ठीकै जस्तो लाग्छ । तर यहाँ गुनासोमा पनि विचार गर्नुपर्ने हुन्छ, गुनासो गर्नेले आफ्नो समालोचना भएन भनेर गुनासो गरेको पनि हुनसक्छ । समालोचक पनि त स्वतन्त्र छ, समालोचना गर्ने छनौट त गर्न पाउनु पर्यो नि । त्यसैले प्राध्यापकीय समालोचनबारे उनीहरू जान्दछन् । ”
मोहनराज शर्मालाई धेरैलाई चिनेका छन् र उहाँ स्वयं बढि दौडधूप र चाकडी नगर्ने व्यक्तिको रूपमा आफूलाई चिन्नुहुन्छ र यसैलाई कमजोरी मान्नुहुन्छ । समाजको जीवनको लगातार निरीक्षण गरेर त्यसैमा आधारित भएर लेख्ने स्रष्टाको रूपमा आफूलाई पाउनु भएको छ उहाँले र यसैलाई आफ्नो विशेषता ठान्नु हुन्छ ।
लामो साधना भएर मात्र साधक सम्मानित हुन नसक्ने विचार छ उहाँको लेखनमा दम नभएको लेखनलाई सञ्चार माध्यमले जति सुकै प्रचार गरेर अघि ल्याए पनि त्यो टिकाउ नहुने विचार छ उहाँको । उहाँको कृति हेर्दा लाग्छ सञ्चार जगत्ले ध्यान त्यति नदिए पनि मोहनराज शर्मा ‘दम’ भएको स्रष्टा, टिकाउ हुने स्रष्टा पक्कै पनि हो । जीवनको लामो समय प्राध्यापनमा विताएर कैयौँ विद्यार्थीको माया पाएर बाँकी रहेको समय साहित्यमा लगाएर पठाकको माया पाउने मोहनरजा शर्मा विद्यार्थीको र पाठकको मायाको महत्व देख्नु हुन्छ र यसैलाई जीवनको प्राप्ति ठान्नु हुन्छ, सम्मान मान्नु हुन्छ ।
२०४८ सालको प्रतिभा पुरस्कार (शैली विज्ञानका लागि) पाउनु भयो ।लेखनको मापदण्ड लेखनसँगै मात्र गाँसिनसको संस्कृतिको विकास भएको भए मोहनराज शर्मा जस्ता साधकहरूको कदर हुन सकथ्यो । स्रष्टाको कदर सिर्जना र साधनाको माध्यमबाट हुनुपर्छ । दौड र परिक्रमालाई आधार मान्ने हो भने फेरि पनि प्रश्न गर्नैपर्छ लेखनको मापदण्ड लेखनसँग गाँसन्छ कि अर्थोकसँग ?
