Skip to content


जमानाअनुसारको चाहना र बहाना नभए दुनियाँको सामु गोबरगणेशको उपाधि मिल्छ । सोइपरी जमानामुताविक उखानको बखान नमच्चाए भीडमा आफ्नो स्वर छुट्टै पाराले खुल्दैन । छुट्टै पाराले स्वर नखुले त्यो लबज फलानोको होस् कि ढिस्कानोको, केही माने राख्दैन । आज सबैलाई सबैको सामु आफू बिछट्टै बेग्लो र अग्लो हुनुपरेको छ । चाहे आफ्नै अर्को गोडामा कुर्कुच्चा टेकेर अग्लो भएको स्वाङ रच्नु किन नपरोस् !

अरुभन्दा बेग्लो र मौलिक बन्ने मेसोमा वस्तुस्थिति उल्टापुल्टा बन्नु स्वाभाविकै हो । हाड हेरेर घाँटी छिल्ने अभियान त्यस्तै आधुनिक उल्टाबाजीको उपक्रम हो । यस उल्टाबाजीलाई नयाँ जमानाको ढ्याप्प हस्ते छाप प्राप्‍त छ । घाँटी हेरेर हाड निल्ने किफायती परम्परा पुर्खाको ‘सन्तोषम् परम् सुखम्’ मन्त्रको सीमित भाकासँगै खुम्चिएर बिलाइसक्यो । अबको समय बाकसमा बन्द भएर बस्नेखालको छैन । असीमित दायराको सिकारमा धनु-काण चलाउनु नै अबको खेती बनाउनुपर्ने भइसक्यो । असीमित भोकको यस्तो खन्चुवा खेतीमा आफ्नो घाँटीको हैसियत र औकात हेरी कसले पोपिउसे हाड छानोस् र चित्त बुझाओस् !

आफ्नै हाडे ज्यानलाई लतारेर हिँड्ने र हाडनाताको नाममा असुल्ने कोटिको राइँदाइँ मच्चाउँदै हाडको हैसियत तौलने हामी सबैलाई थाहा छ, हाड ठोस पदार्थ र त्यसमा पनि जब्बर कडा बनौटको जिनिस हो । यस्तो कडा जिनिसलाई ताछतुछ पार्ने लन्ठामा लाग्नुभन्दा चाकरीमा सुरिलो चम्चा घन्काउने गला खोतलेर तन्काउनु कता हो कता सुविधाजनक हुन्छ । यस्तो गुहृय बुझेमा सिन्कोसम्मलाई ठाउँ नभएको आफ्नो घाँटी हेरेर खिन्न हुने कुरै हुँदैन । ठूलै हाड पनि आँटेपछि आँट्यो-आँट्यो, घाँटी आफैँ ताछिएर सोलोढोलो भई नखुली कहाँ धर ?

मानिस असन्तोषी प्राणी हो, यो कति गर्दा पनि मान्दै मान्दैन भनेर आलोचनाको अचानोमा उसले खुकुरीको मार सदियौँदेखि खाइरहेछ । मानिस सन्तोषी प्राणी हुँदो हो त घाँटी हेरेर हाड निल्ने पुर्ख्यौली बिंडो थाम्दैमा ऊ संस्कारी कहलिएर बसिरहने थियो । कहाँको विकासी हाडतिर आँखा लगाउनु र सङ्कुचित घाँटी तन्काउने साहस रच्नु ? यही हाडको आडमा आज मानिसले ठूलठूला आयोजना र महँगा गाडी-महल क्वाप्लाक्कै निलेको छ । यो विकासोन्मूख ऊर्जा हाड हेरेर घाँटी छिल्ने मन्त्रकै उत्तरआधुनिक स्वरूप हो ।

मांसाहारी मुखले थिलथिलो मासुमा मात्रै चित्त बुझाउँदैन, कट्याङकुटुङ हाड पनि खोज्छ । हाडप्रेमको त्यो आनीबानीले घाँटी खुकुल्याएर बिस्तारै र्सवाहारी बन्नमा उत्प्रेरित गर्छ । त्यसपछि त्यो मुखले कस्तै भीमकाय असम्भव वस्तु पनि सहजै आफ्नो औकातअर्न्तर्गत ल्याएर पगाल्छ । हाड र घाँटीबीचको चुरो साइनो यसमै लुकेको छ । अर्थात् खाँदै जानु, अझ धेरै र विचित्र किसिमले खाइरहनु । जीवशास्त्री चार्ल्स डार्बिनको विकासवादी सिद्धान्तसँग यसको पुस्तौनी नाता छ । घाँटी हेर्दैमा औकातको हरहिसाब गदै अनकनाएर बसिरहेको भए कहाँ त्यो विकासवादी सिद्धान्त लागू भएर बोसेआन्द्राजत्रो घाँटी ओढारजत्रो हुन सक्थ्यो र ? अतः हाड हेरेर घाँटी छिल्दै जाने विकासवादी मानवीय प्रक्रियालाई वैज्ञानिक अवधारणाअनुरुप हेरेर आत्मसात् गर्नु नै आजको प्रगतिशील अभियान हुनेछ । ठूलो हाड ताक्नुस्, घाँटी सक्दो सोलोढोलो खोल्नुस् ।

www.clickdhaiba.blogspot.com

3 thoughts on “हाड हेरेर घाँटी छिल्नु”

  1. जोतारे धाइबा जी,
    तपाईं का

    जोतारे धाइबा जी,
    तपाईं का रचना हरु वास्तव मै उत्कृस्ट छन । नियमित पढ्न पाइयोश ।

    प्रकाश पौडेल माइला

  2. yastai ukhaan tukkaamaa
    yastai ukhaan tukkaamaa aadhaarit nayaa nayaa lekhko aashaa gardai yo lekh padhna paayakomaa dherai dherai dhanyabaad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *