
“जय हो ! जय हो !” माइकमा ठुलो आवाज आयो । पण्डितजी व्यासासनबाट बोल्दै अघि बढे । बीचबीचमा पण्डितजीले भन्दै गए, “राधे ! राधे !” उनका छेउमा एक अर्का सहायक पण्डितजी पनि बसिरहेका थिए ।
पण्डितजीहरू ब्यासासनको दक्षिणी भागमा अडेस लाग्दै बस्दथे । उनीहरू दुवै उत्तरतर्फ फर्केर पाठपारायण अनि प्रवचन गर्दथे । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका आयोजक दिलरमण पुडासैनीका दम्पति व्यासासनको पश्चिमपट्टी तल बसेका थिए । अन्य परिवारजन र स्रोताहरू ब्यासासनको अगाडि भुँईमा सुकुल माथि बसेका थिए ।
अर्कोतिर पूराणका सांगीतिक टोलीका सदस्यहरू दलानमा थिए । बेला बेला ती कलाकारहरू बाजागाजा बजाँउथे । भजन किर्तन गर्थे । पण्डितजीको आदेश अक्षरस पालना गर्थे ती सबै कलाकारहरू ।
रातको महात्म्यको पाठ पारामण अलि लामो थियो त्यस दिनको । धन्धुकारीको कथा, आत्मदेवको व्यथा र धन्धुलीको चरित्रको पालो थियो महात्म्यको । प्रवचन गर्ने मूल पण्डितजी रोचक ढंगले कथा प्रवचन गर्दै गए । प्रसंगवस पण्डितजीले भने, “परमात्मामा लीन हुन घर व्यवहार त्याग्नु पर्दछ । माया मोह त्याग्नु पर्छ । धनसम्पति त्याग्नु पर्छ ।”
बीचमा पण्डितजी बोले, “राधे ! राधे !” सबैले बोले, “राधे ! राधे !” पण्डितजीले अगाडि भने, “सवभन्दा ठुलो कुरा त हामी काम बासनाबाट मुक्त हुनु पर्छ । एक्लो जीवन बिताँउन सक्नु पर्छ । इन्द्रियहरुलाई बसमा राख्नु पर्छ । यसबाट मुक्ति प्राप्त हुन्छ ।” यतिकैमा पण्डितजीकी प्राणप्यारी अर्धाङ्गिनीले व्यासासनको पछाडिबाट पण्डितजीलाई कोटयाँउन थालिन् । उनी भन्न थालिन्, “छिटो हिड्नु न ! आफूलाई कस्तो निद्रा लागिसक्यो ! छिटो ……..छिटो……….!!”
पण्डितजी खुत्रुक्क ब्यासासनबाट झरे । पछाडिपट्टिबाट आफ्नो आराम कक्षमा प्राणप्यारीका साथ प्रवेश गरे । पाठ पारायण गर्ने सहायक पण्डितजी प्रवचनको सट्टा महात्म्यको अर्को पाठ पढ्न थाले ।
