Skip to content

हिस्स बुढी हरिया दाँत

  • by
LaxmiRijal

आफ्नै घरबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ मनाइरहेको १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा प्रेषित ‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’

भरखरै सपथ लिएका नवनियुक्त प्रधानमन्त्री गुट निकटस्थ नेताको मुखबाट बधाईका शब्द निस्कँदा पहिले त उनी उमङ्गले उम्लिइन् । कुरा हुँदै जाँदा राजनीतिमा बगाएको पसिनाको उच्च मूल्याङ्कन गर्दै महिला तथा बालबालिका मन्त्री बनाउन लागेको थाहा पाइन् । मोबाइलमा सुनेको त्यस ध्वनिलाई आकार दिएर शिरदेखि पाउसम्म चुम्बन गर्ने मन भयो उनलाई । कल्पनामा डुब्दाडुब्दै आफैँले बोलिरहेको मोबाइल पटकपटक चुम्न पुगेकी थिइन् ।

‘नामकुमारीजी ! बढता खुशी नहुनुस् । आधिकारिक पत्र हातमा नपरुञ्जेल चुपचाप नै रहनुहोला नि ! मिडियाबाजी बन्दै नगर्नुहोला । प्रधानमन्त्रीको निजी सचिवालयबाट पत्र र फोनमार्फत् सूचना आएअनुसार सपथ समारोहमा पाल्नुहोला । मैले अन्त पनि कुरा गर्नुछ !’

प्रतिक्रिया नसुनी नेताले मोबाइल राखेपछि भने उनी झसँग भएकी थिइन् । चार घण्टा बितेपछि मनको बेचैनी शान्त पार्न निजी सचिवालयमा फोन गरिन् । खुलस्त जवाफ आएन ।

प्रधानमन्त्रीलाई सोझै सोध्छु भनेर मन बलियो बनाएर फोन लाइन् । ‘नामकुमारी ! तिमीलाई चाँडै खबर गर्छु । त्यो महिला मन्त्रालय महिलाले नै समाल्नुपर्छ भन्ने हाम्रो ठहर रही आएको छ ।’ अभिभावकीय भूमिका निर्वाह गर्दै प्रधानमन्त्रीले बोलेको प्रेमपूर्ण स्वरले आफू मन्त्री बन्ने निश्चिन्त भएको बुझिन् उनले ।

सपथ समारोहको मिति तय भएको खबर सञ्ंचार माध्यमबाट सुनिन् । घडीको सुई नै निदाउन लागेझैँ लागिरह्यो । घडीतिर समय हेर्दाहेर्र्दै दिन वित्यो । रात छर्लङ्गै भयो । उनी निकटका पत्रकारले स्थानीय अखबार र अनलाइनमा समाचार लेख्न समेत भ्याए । बधाईको ओइरो लाग्यो तर प्रधानमन्त्रीबाट खबर आएन ।

राष्ट्रिय अखबारमा छापिएको मन्त्रीको सपथ लिने सूची हात पर्यो । सिरानदेखि पुछारसम्म आफ्नो नाम कतै भेटिनन् । महिला मन्त्रीको ठाउँमा नाम थियो– हामकुमार !

लक्ष्मी रिजाल
२०७८–०३–३० रुपनगर, सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *