
दुई दशक अघिदेखि विशेष गरी कविता, गीत, गजल र लघुकथाको फाँटमा फुटकर रूपमा उदाउँदै कृतिकारका रूपमा ‘हमर मनोरथ’ नामक कृति प्रकाशन गराएका देवकरण माझी नेपाली र मैथिली भाषामा सराबरी कलम चलाउने सर्जक हुन् ।
हाल सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडमा अनुगमन अधिकृतका रूपमा कार्यरत् माझीले गैरसाहित्यमा खोजमूलक कृतिका रूपमा ‘लघुवित्त दिग्दर्शन’ (नेपालमा लघुवित्त बैंकिङ इतिहास) २०७८मा प्रकाशित गरेका छन् ।
यस अघि उनी विद्यालय र विश्वविद्यालयमा शिक्षण गर्थे । त्यसबेला उनले लेखेका मैथिली र नेपाली गीत राजविराज क्षेत्रमा ज्यादै लोकप्रिय थिए । विभिन्न नाम गरेका उनका आधा दर्जन जति एलबममा उनका गीतहरू छन् । उनको पहिलो गीत भने ‘सरस्वती बन्दना’ हो । यस छोटो पुस्तक चर्चामा म माझीको ‘लघुवित्त दिग्दर्शन’ पुस्तकभित्र मात्रै घोत्लिन चाहन्छु ।
‘लघुवित्त दिग्दर्शन’ पुस्तकमा पहिलो भागलाई ‘लघुवित्त अध्ययन’ शीर्षक दिइएको छ । यसभित्र नेपालमा लघुवित्त, नेपालमा लघुवित्त कार्यक्रम, लघुवित्तको अर्थ तथा धारणा, लघु्वित्त कार्यक्रमको पहिचान, लघुवित्त वित्तीय संस्थाहरूले गर्ने कार्यहरू, लघुवित्त वित्तीय संस्थाले दिने कर्जा, कर्जा दिने प्रकृया तथा कार्यक्रमबारे जानकारी, लघुवित्त बैंकिङ पहुँच र वित्तीय साक्षरता, नेपालमा लघुवित्त कार्यक्रमको प्रारम्भजस्ता उपशीर्षकहरू दिइएका छन् ।
‘नेपालमा लघुवित्तको विकासक्रम’ शीर्षकभित्र लघुवित्त संस्थाको भिजन तथा परिकल्पना, लघुवित्त संस्थाको मिसन, लक्ष्य र सेवा खर्च, लघुवित्तका प्रमुख उद्देश्य तथा कार्यक्रमहरू, लघुवित्तका प्रमु्ख विशेषता तथा गुणहरू, लघुवित्तका प्रमुख सिद्धान्तहरू, लघुवित्तका चुनौतीहरू, लघुवित्तका सर्त तथा संरचना अर्थात मोडलहरू, गरीबी न्यूनीकरणमा लघुवित्तको भूमिका तथा उपलब्धी, गरीबी निवारणमा लघुवित्त कार्यक्रमको योगदान र भूमिकाजस्ता उपशीर्षकहरू अँटाएका छन् ।
त्यस्तै ‘नेपालमा बैंकिङ सञ्चालन प्रकृया’ नामक शीर्षकभित्र भने बैंक परिचय, बैंकका प्रकार तथा क, ख, ग र घ वर्गका बैंकबारे जानकारी, बैंकका प्रकार तथा कार्यहरू, बैंक खाता र यसका प्रकार, खाताका प्रकारहरु, विशेषता र जर्नन गर्ने नियमहरुजस्ता उपशीर्षकहरूमा चर्चा गरिएको छ ।
अर्को ‘ग्रामीण अर्थतन्त्र सुधारमा लघुवित्त अभियान’ भित्र भने गरीबी ग्रामीण भेगमा लघुवित्तको योगदान, गरीबी निवारणमा लघुवित्तको भूमिका, ग्रामीण अर्थतन्त्र सुधारमा नेपाल सरकारको नीति तथा कार्यक्रमहरू, ग्रामीण अर्थतन्त्र सुधारमा लघुकर्जा कार्यक्रम, लघुकर्जा कार्यक्रममा लघुवित्तको आवश्यक सर्तहरू, कर्जा प्रवाह विश्लेषणका तरिकाहरूका बारेमा उल्लेख छ ।

त्यसैगरी ‘लघुवित्त कार्यक्रम दिगोपनको लागि क्षमता अभिबृद्धि तालिम’मा भने क्षमता अभिबृद्धि बारे जानकारी, क्षमता अभिबृद्धि तालिम योजनाका आवश्यकताहरू, संगठन विकासको लागि क्षमता अभिबृद्धि योजनाका चरणहरू, क्षमता अभिबृद्धि र संगठन विकास बारे सोचनीय सबालहरू, क्षमता अभिबृद्धिको लागि संगठन विकास र कार्यनीति निर्माणजस्ता उपशीर्षकहरूमा चर्चा गरिएको छ ।
पुस्तकको भाग दुईभित्र ‘व्यवस्थापन, वित्तीय र योजना’ अध्याय छ । यसमा व्यवस्थापन, व्यवस्थापनको अर्थ तथा धारणा, व्यवस्थापनका कार्यहरू तथा भूमिका बारे जानकारी, व्यवस्थापनका प्रमुख विशेषताहरू, व्यवस्थापनका तहहरू शीर्षकमा चर्चा गरिएको छ । अर्को भाग तीनमा भने लेखा, लेखाको परिभाषा तथा प्रकार, भौचर, खाता, नगदी रसिद, बिल र भर्पाइ बारे जनकारी, गोश्वारा भौचर तथा डेविट क्रेडिट गर्ने सिद्धान्त र तरिकाहरु, वासलात, नाफा नोक्सान खाता र सन्तुलन परीक्षण बारे जानकारी दिइएको छ ।
अर्को भाग चारमा भने ‘वित्तीय ज्ञान’ अध्यायभित्र वित्तीय ज्ञान, ई बैंकिङ सेवा, शाखारहित बैंकिङ कार्यक्रम, बजेट बारे जानकारी, मौद्रिक नीति बारे जानकारी, विदेशी मुद्रा सटही बारे जानकारी, नागरिक बचतपत्र बारे जानकारी, बैंकिङ कसुर र कानूनी व्यवस्थाबारे जानकारी, सम्पत्ति शुद्धिकरण बारे जानकारी, बीमाको परिचय, आवश्यकता र महत्त्व बारे जानकारी दिइएको छ ।
भाग पाँच नामक अध्यायमा चाहिँ ‘लघुवित्त कार्यान्वयन’ शीर्षकभित्र लघुवित्त कार्यान्वयन, नेपालमा गरीबी न्यूनीकरणका लागि लघुवित्त उदाहरणीय, राष्ट्रिय लघुवित्त नीति, वित्तीय अनुपात बारे जानकारी, बित्तीय संस्थामा प्रयोग हुने अनुपातहरु, आन्तरिक जाँच र आन्तरिक नियन्त्रण, कर्जा सापटको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थाजस्ता उपशीर्षकहरू समेटिएका छन् ।
गुडविल प्रकाशन भएको ‘लघुवित्त दिग्दर्शन’ (नेपालमा लघुवित्त बैंकिङ इतिहास) नामक प्रस्तुत पुस्तकका लेखन/सम्पादन/संकलन देवकरण माझीले भाग ६मा भने ‘परीक्षा उपयोगी वित्तीय सामान्य ज्ञान’ शीर्षकको अध्यायय छ । यसमा लघुवित्त बारे धारणा र पक्षहरु, समसामयिक वित्तीय तथा बैंकिङ सामान्य ज्ञान, बैंकिड क्षेत्रका शब्दहरुको पूर्ण रुप उल्लेख छ । अन्त्यतिर बिना अध्याय विभिन्न तहको पाठ्यक्रम, पुराना प्रश्नावली, विषयगत नमूना प्रश्नहरुको संगालो, वस्तुगत नमूना प्रश्नहरुको संगालो र सन्दर्भ–सामग्री समेटेर पुस्तक तयार पारिएको छ ।
वास्तवमा लघुवित्त भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने उद्योग तथा व्यवसाय गर्न प्रयोग हुने रकम हो भन्ने बुझ्न सकिन्छ । सामान्यतया लघुवित्त आर्थिक तथा सामाजिक रूपमा पछि परेका वर्गको लागि प्रदान गरिने वित्तीय सेवा हो । लघुवित्त भनेको सानो कर्जा, सानो वचत, सानो विमा र सानो राहतसहितको वित्तीय सेवा हो ।
लघुवित्तका लक्षित वर्गमा आर्थिक तथा सामाजिक रूपमा पछि परेका विपन्न परिवार पर्दछन् र वित्तीय कारोवार भने उक्त परिवारको महिलामार्फत गरिएको हुन्छ । लघुवित्तअन्तर्गत पैसाको कारोवार मात्रै नभै कारोवारसँगै विभिन्न सामुदायिक कार्यहरू समेत पर्दछन् । लघुवित्तले आर्थिक तथा सामाजिक रूपमा पछि परेका वर्गलाई आवश्यक तालिम तथा सामुदायिक कार्यसहित आयआर्जनको लागि कर्जा प्रदान गर्ने भएकोले यसलाई गरीबी निवारणको महत्वपूर्ण साधन मानेर विश्व समुदायले लघुवित्तका प्रणेता ग्रामीण बैंक बंगलादेशका अर्थशास्त्री प्रो. डा. मोहम्मद युनुसलाई नोवल पुरस्कारले सन् २००६मा सम्मान गरिसकेको छ ।
लघुवित्तमा सानो आकारमा कारोवार हुन्छ । लघुवित्त संस्थाहरूले सानो कर्जा, सानो बचत, सानो विमा र सानो राहतका कार्यक्रमसहितको वित्तीय कारोवार गर्छन् । लघुवित्तको अवधारणाको जन्म नै गरीबी न्यूनीकरणको लागि भएको हो । गरीबहरू इमान्दार हुन्छन् भन्ने कुरा पनि लघुवित्तकर्मीहरूले प्रमाणित गरिसकेका छन् । लघुवित्तले विना धितो कर्जा प्रवाह गर्छन् । अति विपन्न परिवारलाई आर्थिक क्रियाकलापको सञ्जालमा ल्याउनको लागि लघुवित्त संस्था बाहेक कसैले ऋण दिन सक्दैनन् । यसको कारण गरीबसँग ऋण लिन आवश्यक पर्ने धितो राख्ने सम्पत्ति नै हुँदैन ।
अति विपन्न वर्गसँग कर्जाको लागि धितोमा राख्ने सुनचाँदी, घरजग्गा तथा अन्य सम्पत्ति केही हुँदैन । लघुवित्त संस्थाले अति विपन्न परिवारमा कर्जा प्रवाह गर्दछन् । त्यसैले लघुवित्त संस्थाले समान आर्थिक अवस्था भएका र एउटै बस्तीका महिलाहरूको समूह प्रवेशपूर्व तालिम सञ्चालन गरेर समूह निर्माण गर्छन् । त्यहीं समूहको जिम्मेवारीमा उनीहरूको आवश्यकता अनुसार विनाधितो कर्जा प्रवाह गर्दछन् । नेपाल अधिराज्यभरी ७७ वटै जिल्लाका अधिकांश नगर तथा गाउँपालिकाहरूमा लघुवित्त सेवा पुगेको छ र नपुगेका स्थान र तीनका टोलहरूमा पनि लघुवित्त संस्थाहरू पुग्ने योजनामा छन् । लघुवित्तको कारोवारमा महिलालाई प्राथमिकता दिइन्छ ।
अन्य विपन्न देशमा जस्तै नेपालका अधिकांश नागरिकहरू आर्थिक तथा सामाजिक रूपले पिछडिएका र कहालीलाग्दो वेरोजगारीको चपेटामा परेका छन् । अँझ भन्ने हो भने जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरू जो दुर्गम स्थानमा बस्छन् उनीहरूको अवस्था त झन् दर्दनाक छ । पितृसत्तात्मक सोचले गर्दा आर्थिक श्रोतको सम्पूर्ण हिस्सा पुरूषले ओगटेको पाइन्छ । घरायसी तथा कृषि क्षेत्रका अधिकांश काममा पुरूषको तुलनामा महिलाको झण्डै दोब्बर सहभागिता भए पनि देखिने र गणना हुने सम्पूर्ण क्षेत्रमा पुरूषको आँकडा प्रस्तुत हुने हुँदा नेपाली महिलाहरूको जीवनस्तर कमजोर भएको छ । परम्परागत सोचले गर्दा उनीहरू हेपिएर, थिचिएर तथा शोषित भएर बाँच्न विवश छन् ।
सीमित रूपमा उपलव्ध आम्दानीको श्रोतमा पुरुषको नियन्त्रण भएको तथा घरायसी कार्यमा प्रत्येक्ष संलग्न रहने महिलाले पुरुषले खटाएको रकमको तुलनामा खर्चको मात्रा धेरै हुने हुनाले दैनिक घर व्यवहार चलाउन धौं–धौं परिरहेको पाइन्छ । अँझै विपन्न वर्गका महिला अत्यन्तै कष्टप्रद जीवन जिउन विवश छन् । त्यसकारण लघुवित्त संस्थाले आर्थिक र सामाजिक रूपमा पछि परेका महिलाहरूलाई लक्षित गरी लघुवित्त सेवा सञ्चालन गरेका छन् ।
‘लघुवित्त दिग्दर्शन’ (नेपालमा लघुवित्त बैंकिङ इतिहास) नामक प्रस्तुत पुस्तकका लेखन/सम्पादन/संकलन देवकरण माझीले पुस्तकको ‘आफ्नो कुरामा अगाडि भनेका छन्– ‘आर्थिक हिसावले अपमानित भएका महिलाहरूमार्फत परिवार र समाजमा पैसा भित्रिएपछि ती महिलाहरूको अनुहार हँसिलो भएको देखिएको छ । उनीहरूको सामाजिक हैसियत उच्चो भएको देखिएको छ । समूह प्रवेशपूर्व तालिमको अवधिमा नाम लेख्न नजान्नेहरूलाई आफ्नो नाम लेख्न पनि सिकाइन्छ । मासिक रूपमा आफ्नो परिवारको आम्दानी खर्चको हिसाव राख्न, अनि फजुल खर्च कम गरेर मितव्ययी बन्न पनि सिकाइएको हुन्छ । हरेक वर्ष लघुवित्त संस्थाहरूले समूह तथा केन्द्र प्रमुखहरूको गोष्ठी आयोजना गरेर वार्षिक रूपमा लघुवित्तलाई थप सुधार गर्न सेवाग्राहीको सुझाव लिने कार्य पनि गरिन्छ ।
विगत एक दशकभन्दा बढी लघुवित्त क्षेत्रमा कर्यरत रहेको र दीर्घकालीन रूपमा यो क्षेत्रमा काम गर्ने सोचका साथ उच्च मनोबल बनाएर हाल सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडमा अनुगमन अधिकृतको रूपमा कार्यरत रहेका लेखकले नेपालमा यो लघुवित्त कार्यक्रम शुरूवात भएको पाँच दशकभन्दा बढी भएको भए पनि लघुवित्त सम्बन्धिका पुस्तकहरू बजारमा एकदमै अभाव खट्किरहेको थियो । यस्तो अभाव देखेर उनले यो पुस्तक लेखन तथा सम्पादन गरेका हुन् । यसबाट लघुवित्त क्षेत्रमा जागिर गर्ने, लघुवित्त बारे जानकारी लिने तथा लघुवित्तसँग सम्बन्धित नीतिहरू बनाउने, परिमार्जन तथा संशोधन गर्ने सबैलाई यस कृतिले सघाउने छ भन्दा अतिशयोक्ति नठहर्ला । लघुवित्त क्षेत्रमा जानकारीमूलक पुस्तकको खडेरी परेका बेला लेखन/सम्पादन/संकलन देवकरण माझीले गरेको सफल प्रयत्नका लागि उनलाई हार्दिक बधाई तथा उन्नतिको शुभकामना !
कृति : ‘लघुवित्त दिग्दर्शन’ (नेपालमा लघुवित्त बैंकिङ इतिहास)
लेखक : देवकरण माझी
प्रकाशक : गुडविल पब्लिकेसन प्रा.लि., कलङ्की, काठमाडौं, नेपाल
इमेल : ०१–५२१८५३५, ५२१८५३७
Email: publication.goodwill@gmail.com
संस्करण : वि.सं. २०७८
सर्वाधिकार : लेखक तथा प्रकाशकमा
मूल्य : रु. २७५/–
आवरण/लेआउट : भिभीड क्रिएसन
बागबजार, काठमाडौँ
–नन्दलाल आचार्य
