
“सबैको भरमा पर्यौ तिमी,
कोही तिम्रो भरमा परेनन् !”
एक चर्चित गायकले गाएको गीतका दूई पङ्क्ति गुनगुनाउँदै चप्लेटी ढुँगामाथि बस्यो कान्छो । दुई वर्षदेखिको खडेरीले कान्छाको परिवार अलपत्र परेथ्यो ।
चेप्टी पनि बेलाबेला बक्बक गर्दै भन्थी, “तिमी लाछिरहेछौ । स्वास्नीलाई सारी दिन सक्दैनौ । पुन्टेलाई खानदिन सक्दैनौ । सेतीलाईअक्षर दिन सक्दैनौ । तिमीसित के बस्नु ?”
खेतबारी थिएन कान्छो र चेप्टीको । कान्छोभन्दा चेप्टीअलि ठुलो दारकी थिई । घाउचोट भन्ने चेप्टीको जीउमा परेकै थिएन । कान्छो पनि एक चोटि दुई आँखा गुमाएको भए पनि पछिल्लो समयमा भने आँखाबाहेक सञ्चै जिउको थियो ।
आँखा गुमेपछि कान्छो चार वर्ष अन्धो भयो । आँखा फिर्ता नभए पनि ऊ पाचौं वर्षदेखि अलि अभ्यस्त भएथ्यो काममा ।आँखा नभए तापनि सेतो लाठ्ठी टेक्न मनाही थियो उसलाई । उसको भित्री मनले लाठ्ठी निषेध गरिदिएथ्यो । जल्दो बल्दो उमेरमा राता लुगामा रँगिएकै कारणले ऊ सरकारले उपलब्ध गराउने सेतो लाठ्ठीको विरोधी थियो । घरका दश भाइ सहोदर दाजुभाइमा सबैभन्दा पछिल्लो थियो कान्छाको जन्मक्रम । कान्छो सबै दाजुभाइको प्यारो थियो । बाबुआमाको ‘नानी’ पनि उही थियो ।
दाजुभाइबीचको अंशवण्डामा बाबुआमाले एक भाग जिउनी लिएर कान्छो सम्हालेपछि अप्ठेरो बढेको थियो । नौजना दाजुहरू सबै जिउनीका नाउँमा रुष्ट थिए । बाबु आमा र कान्छोको घरदलान उनीहरू टेक्दैनथे ।आवतजावत थिएन । सगोलमै हुँदा दुई दिदीहरुको बिहे गरेथ्यो त्यो परिवारले । दिदीहरू र तिनका परिवारको राम्रो आवतजावत थियो कान्छाको घरद्वारमा। चाडपर्वमा दाजुहरू स-परिवार ससुराली जान्थे । दिदीहरू आफन्तको घुइँचो लाग्थ्यो कान्छाको घरद्वारमा। बुढाबुढी बाबुआमा घरका गहना हुन । त्यसैले पनि कान्छो निक्कै सकसमा पर्थ्यो चाडबाडमा । आफन्तजन बाक्लै आँउथे । सगोलमै हुँदा समाज परिवर्तन गर्न हिंडेको कान्छो छुटिनु अघिनै आँखा परिवर्तन गरेर फर्केथ्यो । अन्धो भएपछि दाजुहरुले आआफ्नो चोचोमोचो मिलाइहाले । बाबुआमा कान्छोसगँ मुलघरमा बसे । कान्छो अविवाहित थियो । दुवै कान नसुन्ने चेप्टी फेला पार्यो, बिहे गर्यो ।
कान्छो पेटको समस्याले रातभर नसुत्ने । पेटका छर्राले दिनानुदिन बढ्दो दुःखाई दिन्थे कान्छोलाई । कम्मरमा नाम्लो कस्ने काम उसको दिनचर्या थियो । पेट पाल्न मुस्किल थियो उसलाई । समाज परिवर्तन गर्न जाँदाआँखा परिवर्तन गरेथ्यो कान्छोले ।
कान्छो र चेप्टी कुमालेको माटाका भाँडा बनाँउने उद्योगमा घरछेउमै माटो मुछ्ने जागीरमा लागेथे । चेप्टीले भारी काम गर्थी । कान्छो कमै दाममा हलुकै काम गर्थ्यो । ठुलो खडेरीपछि जेष्ठमासमा वर्षात हुनुअघि ठूलै चट्याङ्ग् पर्यो । कान्छो र चेप्टीको ठाउँको ठाउँ कुमालेकै उद्योगामा प्राणपखेरु उड्यो ।
नौ भाइदाजुहरुले बाबु आमा हेरेनन् । पीडा खप्न नसक्दा तीनमहिनामै बुढी आमाको चोला उठ्यो । दशदिनभित्रै बाबु भिरपाखे खरबारीमा लडेर छरिए । इहलिला समाप्त भयो ।
कान्छो र चेप्टीका दुई सन्तान पुन्टे र सेती राता मान्छेका नाइके खोज्न शहर पसे । अँझै फर्केका छैनन् । पन्ध्र वर्ष बित्यो । त्यो घर बेखबर छ । त्यो गाउँ उदासीन छ ।
