जग सारा छाड्थे पाए साथ हजुरको
अँध्यारोमा भर दिने हात हजुरको
मैले त आफ्नो जुनी सारा सुम्पिसकें
नपरोस् है देख्न कहिले घात हजुरको
हजुर टाढा गइदिए म त रोइदिन्छु
नलागोस् है कहिले पनि बात हजुरको
दिलदिमागमा हजुरकै बास हुने गर्छ
मुटुभरि तस्वीर छ खात हजुरको
आँखा खोले पनि हजुर बन्द गरे पनि
दिन पनि हजुरको रात हजुरको
हजुरकै प्रेममा म त पागल भइसकें
लागिसक्यो थाहै नपाइ मात हजुरको
