Skip to content


आफ्नो राष्ट्रियता र पहिचान गुमाउनु पर्दाको पीडा कस्तो होला ? हदै भए कल्पनासम्म गर्न सक्छौं हामी । यथार्थमा पीडा अकल्पनीय नै हुन्छ । त्यस्तै ध्रुव सापकोटाको उपन्यास ‘अकल्पनीय’ को घटनावस्तु एउटी यस्ती नारी पात्रसँग गाँसिएको छ जसले आफ्नो राष्ट्रिय पहिचान नै गुमाउनु परेको छ । निर्वासित हुनुपरेको छ । सुरुदेखि अन्त्यसम्म नै उपन्यासकी मूलपात्र पेमाको वरिपरि केन्दि्रत रहन्छ कथावाचन ।

अति निम्न परिवारमा जन्मिएकी पेमालाई भर्खर तोतेबोली फट्कार्दै गर्दा एक निसन्तान तिब्बती दम्पतीले अपहरण गर्छन् । यद्यपि उनीहरूको अपहरणमा खराब नियत भने हुँदैन । उनीहरू पेमालाई अति नै माया गरेर हुर्काउँछन् । उनले तिब्बतमै लामा शिक्षा हासिल गर्छिन् । बाल्यकाल सुखसयलमा नै बित्छ उनको । यतिन्जेलसम्म उनलाई वास्तविकताकाबारे ज्ञान हुँदैन । एक दिन बाबु (आपला) को व्यवहारप्रति शंका लागेर आमा (आमला) ले चियो गर्न पठाउँछिन् पेमालाई । यद्यपि सफल हुँदिनन् उनी । बाबुले चाल पाउँछन् र घर फर्किन भन्छन् । पेमाले नफर्किने अड्डी कसेपछि उनको बाबुले आवेगमा भन्छन्, ‘फर्किने भए फर्की, नत्र जहाँबाट ल्याएको हो त्यहीं पुर्‍याइदिन्छु ।’ पेमाले आफ्नो विगतबारे केही आभाष पाउँछिन् । फर्किन्छिन् र आमालाई गएर सोध्छिन् ।

शरणार्थी हुनुको पीडालाई राम्रैसँग उधिनेका छन् उपन्यासकार सापकोटाले । ६५ खण्डमा वर्गीकृत १९८ पृष्ठ लामो यस उपन्यासमा कल्पनालाई यथार्थपरक ‘कलेभर’ दिइएको छ । कति पाठकलाई त कतै यो उपन्यास नभएर पेमाको बायोग्राफी त होइन भन्ने पनि लाग्न सक्छ ।

यस उपन्यासको मूल पात्रले भोग्ने हरेक प्रकारको दुःखप्रति पाठकको सहानुभूति रहिरहन्छ । एउटी नारी पात्रलाई लेखकले यसरी प्रस्तुत गरेका छन्, मानौं उनी एउटी साहसी सिपाही हुन्, जो जस्तोसुकै युद्ध गर्न तथा पीडा भोग्न तयार रहन्छ । आफ्नो गुम्न लागेको पहिचानको खातिर गरिएको एक किसिमको मानसिक युद्धका रूपमा पनि हेर्न सकिन्छ, यस उपन्यासको कथालाई । चिनियाँ सेनाले तिब्बत माथि उपनिवेश जमाएसँगै तिब्बती नागरिक माथि गरेको चरम अत्याचारको प्रतिफल उनीहरू निर्वासित हुन पुग्छन् ।

पेमाको जीवनसँग जुध्न संयोगान्त तथा वियोगान्त दुवै प्रकारका घटनाहरू झन्डै बराबर आएका छन् । साँच्चै पेमा एउटी गजबकी पात्र हुन्, जोसँग एउटी नारीमा हुनुपर्ने सबै गुणहरू छन् । हतारमा निर्णय नगर्ने उनको बानीले पाठकको मन छुन सक्छ । एउटी छोरी, एउटी पत्नी र एउटी आमा यी तीनै भूमिकालाई राम्रोसँग वहन गर्न सक्षम देखिन्छिन् उनी । पेमाप्रति कतै पनि थकथक लाग्दैन पाठकलाई । बिहेसँगै भुटान पुग्छिन् उनी । पति भारतीय सेनामा जागिरे बन्न पुग्छन् । यहाँबाट चाहिँ कथावाचनले राम्रै गति पाएजस्तो लाग्छ । अवकाश पाउँछन् । लगत्तै भुटानी सरकारले नेपालीभाषी भुटानीलाई देश निकाला गर्छ । पेमाका पति दार्जिलिङका हुन् । त्यसैक्रममा उनको परिवार काठमाडौं आइपुग्छ । (यस बीचमा पेमाको भेट दुवैतिरका बाबु-आमासँग भइसकेको हुन्छ ।)

उपन्यासमा चिनियाँ सेनाले तिब्बती नागरिकमाथि तथा भुटानी सेनाले नेपाली भाषी भुटानीमाथि गरेको चरम अत्याचारलाई उतार्न लेखकले गरेको प्रयत्न प्रशंसनीय छ । यो कुरा गरिरहँदा लेखक, चीन र भुटानप्रति केही पूर्वाग्रही बनेका हुन् कि जस्तो पनि लाग्न सक्छ पाठकलाई । कथावाचनलाई रोकेर बीच- बीचमा लेखकले आफ्नो कुरा गरेको भने पाठकलाई उति मन पर्दैन । यसरी हेर्दा यो उपन्यास ‘मेटाफिक्सन’ (पराख्यान) जस्तो पनि देखिन्छ । उनको लेखन पक्षलाई हेर्दा उति चलाखचाहिँ होइनन् लेखक । खोट लगाउन सकिने त्यस्ता थुप्रै चरहरू छन् जहाँबाट व्याकरणीयदेखि भाषिक त्रुटिहरू छर्लङ्ग देखिन्छन् । कथावाचन गर्दै गर्दा पाठकलाई ध्यानै नदिई लेखकले आफ्नो कुरामात्रै एकोहोरो भुतभुताइरहेझैं लाग्छ कतै-कतै । सम्पादन टोलीको दृष्टि नपुगेको कतै चर्को लाग्ने त कतै खल्लो लाग्ने ठाउँहरू पनि छन् । उपन्यासको गति कतै खहरेजस्तै हुत्तिन्छ त कतै घस्रेजस्तो लाग्छ । निसर्त रूपमा भन्दा राजनीतिक परिघटनालाई सूत्रबद्ध गरिएको यस उपन्यास कथानक (प्लट) को दृष्टिकोणबाट भने अति नै सशक्त देखिन्छ ।

केसाङ र किसानपुत्रको प्रेम प्रसङ्गले उपन्यासलाई स्वादिलो बनाउन थप मद्दत पुर्‍याएको छ । लेखकले भोकविरुद्धको कथा बुन्दै गर्दा, पेमा जेलमा पर्दा, चिनियाँ फौजले गुम्बामाथि गोली बर्साउँदा पाठकको मनमा खिन्नताको तुँवालो मडारिरहन्छ । अनि तिब्बतीहरू निर्वासनमा निक्लँदै गर्दा पछि लागेर गएको आफंैले पालेको कुकुर र आफू चढेर आएको घोडा काटेर खाएको औपन्यासिक यथार्थलाई पचाउन भने अलि कसरत गर्नै पर्ला पाठकले । उपन्यासको सुरुवात जति चाखलाग्दो छ अन्त्यचाहिँ त्यस्तो नलाग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *