Skip to content

सृष्टि र सङ्गीतको मूलरूप


ज्ञानवाचक, सत्तावाचक, लाभवाचक र विचारवाचक विदधातुबाट वेदशब्द बन्ने भएकाले वैदिकमन्त्रहरूलाई विविध ज्ञानको भण्डारको रूपमा लिने गरिएको छ । आदिकल्पमा सृष्टिसत्ता सञ्चालनका लागि स्वयं सृष्टिकर्ता ब्रहृमाजीको मुखबाट उत्पन्न भएकाले वेदका मन्त्रहरू विनिर्गत स्वरूपका हुन् भन्ने भनाइ महाभारतमा आएको छ । सुरुमा वेदको स्वरूप एउटै भए पनि पछि सजिलोका लागि सत्यवती पुत्र व्यासद्वारा ऋक्, यजु, साम र अथर्व गरी चार भागमा विभाजन गरेर संहिताबद्ध गरेका हुन् भन्ने जानकारी श्रीमद्भागवत आदि पौराणिक ग्रन्थहरूले दिएका छन् । आध्यात्मिक आधिदैविक र आधिभौतिक सबै किसिमको ज्ञानगङ्गाको रूपमा प्रवाहित हुँदै आएका वैदिक मन्त्र र वैदिक ग्रन्थहरू मानिसको धर्म, अर्थ, काम र मोक्ष चारै किसिमको पुरुषार्थ सिद्धिको साधन मात्र नभई अखिल विश्व ब्रहृमाण्डकै धर्मका मूलरूप हुन् भन्ने निष्कर्ष अन्वेषकहरूको छ । त्यति मात्र होइन मानव सभ्यता, संस्कृति, साहित्य, कला, सङ्गीत आदि मानवसमाजका प्रायः सबै गतिविधिको मूल स्रोतसमेत वेद नै रहेको तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । व्यष्टि ब्रहृमाण्डदेखि समष्टि ब्रहृमाण्डसम्मको स्वरूप भन्नु नै पृथ्वी जल, तेज, वायु र आकाश आदि पञ्चतत्वका सामूहिक नै हुन् । अग्नि, वायु, सूर्य, वरूण, अश्विनीकुमार आदि चाहे जुनसुकै नाममा किन नहोस् प्रायः यिनै प्राकृतिक तत्वहरूको सेरोफेरोमा घुमेकोले यस मामिलामा वैदिक मन्त्रहरू कति गहिराइमा रहेछन् त्यो पनि पक्कै दोहोर्‍याइरहनुपर्ने विषयमा पर्दैन ।

वैदिक संहिताहरूका कुरो गर्दा सामवेद संहिताको स्थान तेस्रोमा पर्दछ । वैदिक संहिताहरूका नाममा लिंदा ऋक्, यजु र साम नै भनिन्छ र त्रयी भनेर पनि यही क्रमलाई नै जनाउने गर्दछ । तर यो क्रम महत्ताको हिसावले नभई संहिताबद्धताको हिसाबमा निर्धारित भएको बुझिन्छ । महत्ताका हिसाबले त चारै वेदको स्थान त्यति नै गहन छ । त्यसमा पनि विशेषगरी सृष्टि र सङ्गीत क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले सामवेद संहिताको स्थान एक पाइलो अगाडि नै छ भन्नुपर्दछ । ‘वेदानां सामवेदोस्मि’ अर्थात् ‘वेदहरूमा सामवेद भनेको मै हुँ’ भन्ने गीता र भागवतको विभूति योगको प्रसङ्गमा आएको कृष्णको उद्घोषले पनि यही नै तथ्य उजागर गर्दछ । तर रूपपक्षको कुरो गर्ने हो भने अन्य वैदिक संहिताको तुलनामा सामवेद संहिताको स्वरूप सानै देखापर्दछ । यद्यपि केही प्राचीन ग्रन्थहरूमा सामवेदको सय शाखाको उल्लेख पनि नभेटिने होइन । तथापि हाल मूलभूत रूपमा जैमिनीय शाखा र कौथुम राणायनीय शाखा गरी दुई शाखाका ग्रन्थमात्रै देखापर्दछ भन्ने विद्वानहरूको कथन छ । सामवेदका प्रत्येक शाखामा आर्चिक र गान गरी दुई संहिता भए पनि हाल कौथुम गानसंहिता पूर्णरूपमा र जैमिनीय गान संहिता अपूर्णरूपमा मुदि्रत भएको कुरो शिवराज आचार्य कौण्डिन्न्यायनले वैदिक धर्म मूलरूपमा भन्ने ग्रन्थहरूमा उल्लेख गरेका छन् । उनका अनुसार आदित्य ब्रहृमसम्प्रदायको मानिने राणायनीय चरणभित्रको कौथुम शाखाको आर्चिक संहितामा एक हजार ८७५ मन्त्र छन् । यसमा २७२ मन्त्र पुनरूक्त भएकाले त्यसलाई कटाउँदा एक हजार ६०३ मन्त्र मात्र बाँकी हुन आउँछन् । त्यसमा पनि एक हजार ५०४ मन्त्र ऋग्वेदका शैशिरीय शाकलसंहिता र शाङ्खायनीय संहितामा आउने भएकाले बाँकी ९९ मन्त्र मात्र स्वतन्त्र देखा पर्दछन् ।

हाल उपलब्ध तिलकप्रसाद लुइँटेलद्वारा अनुवादित र विद्यार्थी पुस्तक भण्डारद्वारा प्रकाशित सामवेद संहितामा पूर्वार्चिक र उत्तरार्चिक गरी दुई खण्ड छन् । यसमध्ये पूर्वार्चिकमा ६ अध्याय र उत्तरार्चिकमा २१ अध्याय छन् ।

यो संहिता र शिवराजले उल्लेख गरेका उक्त कौथुम राणायनीय शाखाका आर्चिक संहिता एउटै रहेको बलियो अनुमान गर्नसकिने भएकाले हाल प्रचलित सामवेद संहिता पनि यही नै रहेको अनुभूति गर्न सकिन्छ । यद्यपि केही मात्रामा जैमिनीय शाखाका अध्येताहरू पनि भारतको केही प्रान्तमा भेटिएको छ भन्ने उनको भनाइलाई पनि यहाँ बिर्सन हुँदैन । यस संहिताको पूर्वार्चिकको एकदेखि चौथो सम्मका अध्यायमा १२।१२ खण्ड, पाँचौमा ११ तथा छैटौं अध्यायमा पाँच खण्ड छन् । त्यस्तै उत्तरार्चिकको पहिलोदेखि चौथोसम्म आठौं, बाह्रौं र तेह्रौं अध्यायमा ६।६ खण्ड, पाँचौदेखि सातौंसम्म र बीशौं अध्यायमा सात।सात खण्ड, नबौंमा नौ., दसौंमा १२ खण्ड र एघारौं, अध्यायमा तीन खण्ड छन् । त्यस्तै चौधौं, पन्ध्रौं, सोह्रौं, सत्रौं र अठारौं अध्यायमा चार चार खण्ड, उन्नाइसौंमा पाँच र एक्काइसौं अध्यायमा एक खण्ड छन् । अग्नितत्वको उपासनाबाट सुरु भएको (अग्न आ याहि..पूर्वार्चिकको पहिलो अध्यायको पहिलो मन्त्र) सामवेद संहिता सर्वपक्षीय कल्याणको कामना गर्दै (स्वस्तिन इन्द्रो एक्काइसौं अध्याय अर्थात् अन्तिम अध्यायको अन्तिम मन्त्र) सकिएको छ । वास्तवमा सामवेदले मानव जातिलगायत समग्र प्राणीसमुदायको उत्पत्ति, विकास र समुन्नतिको सेरोफेरोमा रहेर सबैको समुन्नत भविष्यको प्रयास गरेको देखिन्छ । सृष्टिको मूल आधार भनेकै अग्नितत्व हो । जसलाई आग्नेय प्राण पनि भनिन्छ र सूर्यको संज्ञा दिन पनि सकिन्छ । सृष्टिपूर्व बरफको रुपमा जमेर बसेको पृथ्वीलाई यसै अग्नितत्वले बिस्तारै गलाएर पानीमा परिणत गरिदिएकोले नै सृष्टि प्रक्रियालाई अगाडि बढ्न सम्भव भएको हो ।

प्रारम्भमा जलसृष्टि भई जलचर, उभयचर, थलचर प्राणी हुँदै मानव सृष्टिसम्भव भएको प्रसङ्ग पूर्वीय दर्शनका कतिपय ग्रन्थमा आएको छ भने नार अर्थात् जलबाट नारायण अर्थात् प्राणीसमुदायको आदिम पुस्ता उत्पत्ति भएको प्रसङ्ग भागवतमा आएको छ । सामवेद संहिताको सुरुकै मन्त्रले सृष्टिको मूल आधार मानिएको पानीको पनि उत्पत्तिकर्ता अग्नि तत्वको उपासना गरेको पाइएबाट यस मामिलामा सामवेदको महत्ता आफैं अनुभूत गर्न सकिन्छ । अर्को कुरा सृष्टिलाई पूर्णता दिन आवश्यक पर्ने समुचित व्यवहार र वातावरणको समेत उल्लेख भेटिएबाट यसलाई सृष्टि र सभ्यता विज्ञानको समेत पूर्ण अङ्ग मान्न सकिन्छ ।

यसबाहेक सामवेद सङ्गीत विज्ञानको मूलस्रोत हो भन्ने भनाइ पनि आफैमा कम वैज्ञानिक छैन । वैदिक वैज्ञानिकहरुका अनुसार सङ्गीत विज्ञानमा सारेगम आदि जुन सातस्वर छन् ती सबैको मूल आधार सामवेद नै हो ।

चाहे रुख वा बोटबिरुवाका कम्पनमा होस् चाहे खोलाको सुसेली, त्यस्तै चाहे चराहरुको कलरवमा होस् चाहे मानव वा कीटपटङ्गलगायतका प्राणीसमुदायका वाक्यविशेष नै किन नहुन् सबै सङ्गीतकै धुनले ओतप्रोत भएका हुन्छन् । सामवेदका मन्त्रहरुले ती सबैको गहिराइमा पुगेर तालबद्ध गराउने प्रयास गरेका छन् । त्यसैले सामवेद सङ्गीतको मूल आधार त हुँदै हो साथै सङ्गीतको पारखी र यसैको माध्यमबाट दुनियाको समग्र आवश्यकता पूरा गरी परमानन्द प्रदान गर्ने साधन पनि हो भन्नुपर्दछ ।

3 thoughts on “सृष्टि र सङ्गीतको मूलरूप”

  1. गजल पढे पछि मात्र कमेन्ट
    गजल पढे पछि मात्र कमेन्ट गर्न सकिन्छ । रित्तो ठाउँ लाई कसरी कमेन्ट गर्ने होला ? कृपया गजल पोस्ट गर्नु
    होला ।

    प्रकाश

  2. Hoina maile Ta gagan ji ko
    Hoina maile Ta gagan ji ko post padna paaune bhaye bhanera khojeko ta…….

    मेरा गजल पढेर सुझाब दिने काम तपाईँको हो है साथी हो………………………………………….

    एकादेशको गगनराज
    गजलशिबिर,राजधानी
    matra bhetiyo…………. gajal kaha luke6 ra ho???????????

    Manoj kafle
    kuwait

Leave a Reply

Your email address will not be published. Required fields are marked *