Skip to content


‘हाम्रो देश गाउँले बनेको छ
हामी गाउँ जानुपर्छ’
धेरै वर्षदेखि सहर पसेको
एक कविले यो कुरो सुनिरहेको थियो ।
एक दिन ऊ गाउँ फर्कियो
गाउँ साँच्चै रमाइलो थियो
स्वच्छ हावापानी
रुखपात, फलफूलको प्रचुरता
आडम्बरहीन मानिसहरू
प्रदूषणबाट मुक्त!
तर छरछिमेककाहरू, आफन्तहरू
कोही बोल्दैनन् थिए
नदेखेका, नचिनेका जस्तो
सोधखोज पनि गर्दैनन् थिए ।
निकै समय बितेपछि
एक दिन एक जनाले भन्यो-
त्यस्तो ठूलो सहरमा बसेको तपाईं
गाउँ र्फकनुभयो,
यहाँ के छ र
अभाव, असुविधा र अप्ठ्याराहरूबाहेक
गाउँलेले असल/खराब चिन्दैनन्
तपाईं त कवि मान्छे
व्यर्थ छ यो ठाउँ बस्नु… ।
हिजै मात्र उसले देखेको थियो-
एउटा नौलो कुकुरलाई कसरी
गाउँका कुकुरहरू मिलेर
रगताम्मे पारेर खेदेका थिए ।
ऊ जन्मेको-हुर्केको त्यो गाउँ
सपनामा पनि गाउँ नै पुग्ने ऊ
उसको एउटा सानो घर थियो
एक टुक्रा बारी थियो
उसको लागि त्यो स्वर्गभन्दा प्यारो थियो ।
उसले कलम-कापी थन्क्यायो
कुटो, कोदाली झिकेर बारीमा पस्यो ।
तल्लो गराको बारीमा पनि
अर्कै मानिस काम गर्दै थियो
तर त्यो मानिसलाई केही थाहा थिएन
जीवन र जगत्को रहस्य ।
कविले चारैतिर हेर्‍यो
मुसुक्क हाँस्यो
अनि कोदाली चलाउन थाल्यो
सुखदुःखको, साँच्चैको
असली कविता रच्न थाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *