Skip to content


व्यस्त चौबाटोमा-
मौन निःशब्द र स्थिर
ठिङ्ग उभिएको थियो
एउटा सालिक ।
जसको ओठमा –
ढकमक्क फुलेको थियो
दम्भको गुलाबी फूल
अनुहारमा पोतिएको थियो
कृत्रिमताको ओजस्वी आभा
जड सालिकको प्राण प्रतिष्ठा गर्दै
ठड्याउनेहरूले
उत्साहका झ्याली पिट्दै
स्तुति गाउँदै ठड्याएका थिए
उसका सिङ्गो स्वरूप ।
ऊ स्थापित परिधि परिक्रमा गर्दै
फलाक्नेहरूले फलाकिरहेका थिए
उसको बहादुरीको काल्पनिक कथा
सत्य खोज्नेहरूले एकाएक ढाले
महान व्यक्तिको प्रारूपमा उभिएको
भ्रमको एउटा सालिक ।
सालिकः जो मृत थियो
र पनि मध्यरातमा
यदाकदा चलमलाउँथ्यो
र खेल्थ्यो, जीवित हुनुको अभिनयमा
विविध छलकपटका खेल ।
‘मालिक! तपाईं जत्तिको महान्
यो देशमा को छ ?’
भजन गाएर उसका भक्तहरू
हात जोड्दै परिक्रममा गर्थे
उसका परिधि वरिपरि ।
प्रशस्तिसँगै सालिक
आल्हादित मुद्रामा नाच्थ्यो, उफ्रन्थ्यो
टाउको हल्लाउँथ्यो
र कहिलेकाहीँ देखाउँथ्यो
अद्भुत र अपत्यारिला ताण्डवनृत्य
हिजो एकाएक ढाले योद्धाहरूले
अजङ्गको सालिक ।
दुर्भाग्य! आज देख्छु
केही चटकेहरू
सालिक हुने अभ्यासमा छन्
तम्तयारीमा छन्
हात जोड्दै मुन्टो हल्लाउँदै
ठ्याक्कै हिजोकै त्यही सालिकजस्तो
आफू सर्वोच्च हुनुको दम्भमा
अँध्यारोमा पनि चल्मलाइरहेछन्
सालिक हुन खोज्नेहरू हो होसियार!
सचेत मान्छेहरूले फेरि नङ्ग्याउने छन्
तिम्रा कृत्रिम स्वरूपलाई
र फेरि ढाल्नेछन्
हिजोका सालिकझै तिम्रो दम्भ
अन्ततः तिमी-
सालिकको प्रारम्भिक स्वरूप
बालुवा हुनेछौ/माटो हुनेछौँ
हुने छैनन् तिम्रा वरिपरि
तिम्रा जन्तीहरू
न त हुनेछन् तिम्रो मृत्युमा
कुनै मलामी ।

-विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *