Skip to content


धत्तेरिका !
एक-दुई अँगालो मात्र भए पनि
अमर-माया पैँचो दिने
कोही छैन
पाएको भए राम्रै हुन्थ्यो नि त
हैन र ?
सके सास छँदै तिर्थेंं
नसके दर्गाहमा तिर्थें
सारा जुनी आफ्नो
साहू तिरेरै त बित्या छ ।
-१)

अतीत क्रमशः गाँस्दै
वर्तमान बाँच्नुको पीडा
फेरि भविष्यका लागि पन्छाइदिएँ
तर यसरी छलेर मात्रै खै
कति पो साध्य होला र !
कहाँ भाग्ने खै ?
ममाथि आफ्नै नियतिले
जालसाजीको मुद्दा हालेको छ
प्रारब्धको कठघरामा उभ्याएर
बकाउन लगाएको बयान
सबैको कानमा परिसकेको छ
आ, जेसुकै होस्,
जडाउरीमा पाएको जीवन त हो नि ।
-२)

सुख-दुःख भनेको त
बाउन्न पत्ती आधाआधा पारी
पर्रर्र फिटेर मिसाएको जस्तो पो रहेछ ।
भाग्य भनेको पनि
छुक-बिच्छुक हेर्न टिन्न माथि फालेको सिक्का
भुइँमा झरेपछि हेरेको जस्तै पो रहेछ
मज्जा त हेर भाइ !
चुरोटको धुवाँ फुरुरुरु चक्काचक्का पारेर
छोड्दा पनि हुने रहेछ
एकछिन मात्र किन नहोस्
अब त हुँदै भएन
म फोर्छु फोर्छु यो ऐना
छ्याः
कस्तो विकृत अनुहार हेर्दैछु म ।
-३)

जुगौँ भइसक्यो
एउटा फुक्का हाँसो
धित मर्नेगरि हाँस्न नपाएको
हाँस्न त हाँस्छु
तर यसभन्दा पहिलेजस्तै
नराम्रो सम्चार सुन्नु पर्‍यो भने नि ?
अहिलेसम्म त्यस्तै भइराख्या छ
एकछिन मात्र पनि व्यथित हुन नपाए
छटपटी लाग्छ
मनको घाउ पनि निको नभइदिए हुन्थ्यो
दिन काट्न गार्‍हो हुन्छ क्या !
मैले भनेकै थिएँ नि
खतम छ खतम बाबै
जिन्दगी ।
-४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *