Skip to content

कागजमा युगको आफ्नो पहिचान कोरी देऊ

  • by


कागजमा युगको आफ्नो पहिचान कोरी देऊ
यस राष्ट्रको गौरव र स्वाभिमान कोरी देऊ ।

जनयुद्धमा जसले दिए आहुति प्राणका
ती देशभक्त सहिदको बलिदान कोरी देऊ ।

कोरी देऊ यी नेपालीको हिमाली सभ्यता
भृकुटी, जनक, सीताको सम्मान कोरी देऊ ।

स्वर्ग पनि गर्दछ, जुन धरतीलाई नमन,
त्यस धरतीको सौन्दर्य र गुणगान कोरी देऊ ।

दास्तान कोरी देऊ, सगरमाथा विजयको
नेपालीहरूको साहसी अभियान कोरी देऊ ।

विभिन्न धर्म, वर्ग र जनजातिको लागि
समान हक र प्रगतिको विधान कोरी देऊ ।

विश्व मानव हितको लागि गौतम बुद्धको
शान्तिको सन्देश र आहृवान कोरी देऊ ।

भरिएछ वीरगाथाले, इतिहास तै पनि
ऐ ‘प्रकाश’ केही नयाँ र महान कोरी देऊ ।

-राजापुर, बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *