“आमा ! आमा ! हेर्नुस् न मलाई दाइले कथाको किताब पढ्नै दिँदैन ।” भन्दै शुभ हातमा एउटा किताब समात्दै दगुर्दै दगुर्दै आमा नर्मदेश्वरीको पछाडि लुक्न गइन् ।

तिनको पछि-पछि आरम्भ “मेरो किताब देऊ” भन्दै दगुर्दै आइपुग्यो ।

दाजु बहिनीको झगडा देखेर नर्मदेश्वरीले सम्झाउने तरिकाले भनिन् – “ल ल किन झगडा गरेको ? किन बहिनीको पछि-पछि दगुर्दै आएको ? बहिनीलाई रुवाउनु हुँदैन । मेरो छोरा त ज्ञानी छ नि हगि ? ल… ल… थुपुक्क बस ।”

दाजुलाई ज्ञानी भनेको सुनेर शुभले आमालाई भनिन् – “दाइले मलाई किताब पढ्न नदिने अनि दाइलाई नै ज्ञानी भन्नुहुन्छ । आमा पनि कस्ती ?” भन्दै आँखाबाट बरर आँसु झारिन् ।

आरम्भले भने हाँस्दै लामो जिब्रो निकालेर तिनलाई जिस्काइरहेको थियो । दाजुले आफूलाई जिस्काएको देखेर शुभ झन् बेस्सरी रुन थालिन् । छोरी रोएकी देखेर नर्मदेश्वरीलाई फसाद पर्‍यो । छोरीको रुवाइ देखेर तिनको मन दुख्यो । तिनले छोरालाई झपार्दै भन्न थालिन् – “बाबु! तिम्रो बानी त राम्रो छैन रै’छ । यसरी दाजु भएर बहिनीलाई रुवाउनु राम्रो होइन । बिचरी बहिनी! त्यसरी रोइरहँदा पनि तिमीलाई माया लागेन ? बहिनीलाई फकाऊ!”

आमाको कुरा सुनेर आरम्भले भन्यो – “मैले बहिनीलाई केही पनि गरेकै छैन । तिनले मेरै किताब लिएर जाने अनि आफैँ रुने! मेरो किताब दिए भै’ हाल्यो नि! मलाई त्यसभित्रका कथाहरू पढ्नुछ । झट्टै देऊ भनेको ।” आरम्भले बहिनीसँग किताब मागेको मागेकै गर्न थल्यो । उता शुभले रुँदै भनिन्- “यो किताब तपाईंको मात्र हो र ? बाबाले मिलेर पढ्नु भनेर भन्नु भा’ हैन ? पहिले मैले पढ्छु अनि तपाईंले पढ्नु होला नि! म अहिले किताब दिन्नँ ।” तिनले किताबलाई पछाडि लुकाउन खोजिन् ।

आँगनमा परेवाहरू यताउता चारा खोज्दै थिए । बीच-बीचमा चराहरू पनि उडेर आएर झ्याप्प आहार टिपेर फेरि भुर्रर्र उडेर जाने गर्दै थिए । शुभ र आरम्भ ‘किताब देऊ’, ‘दिन्न’, ‘किताब देऊ’, ‘दिन्न’ भन्दै लड्दै थिए । शुभ र आरम्भका हजुरबा किसनबहादुर भने त्यहीँ आँगनमै कुर्सीमा बसेर पारिलो घाम तापिरहनु भएको थियो । उहाँ आफ्ना नातिनातिनालाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँले धेरैबेरदेखि दुई दाजुबहिनीको झगडा हेरिरहनुभएको थियो । धेरैबेरसम्म पनि दुई बीचको झगडा शान्त नभएको देखेपछि उहाँले अलि ठूलो स्वरले बोलाउनुभयो- “बाबु आरम्भ! ए आरम्भ! बाबु! सुन्यौ ? बहिनीलाई लिएर मछेउ आऊ । ल छिटो आऊ है ।”

हजुरबाले बोलाउनुुभएको सुनेर आरम्भले शुभलाई भन्यो- “ल ..ल… भैगयो । रुन पुग्यो । हजुरबाले हामी दुवैलाई बोलाउनु भा’को छ । जाम् हिँड ।” बहिनीको हात समात्यो र ऊ हजुरबुबाको छेउ पुग्यो ।

शुभले पनि आफूले लगाएको जामाले आँसु पुछिन् र हजुरबासँग सोधिन् – “हजुरबा! किन बोलाउनु भा’को ?”

हजुरबाले हाँस्दै भन्नुभयो – “अघिदेखि कस्ले गीत गाइरहेको ? हुँ… हुँ…. गरेर पनि कसैले गीत गाउँछ ? गीतको भाका नै मिलेको छैन । आजै सुनेँ मैले यस्तो गीत । ”

हजुरबुबाको कुरा सुनेर आरम्भले भन्यो- “हजुरबा! मलाई थाहा छ ।” अनि उसले बहिनीतिर हेरेर भन्यो – “भनम्! हजुरबा! मैल भनम् ?”

दाजुको त्यस्तो अभिनय देखेर शुभले हात उठाएर पिटुँला जस्तै गर्दै भनिन्- “हो! हजुरबा! हेर्नुस् न मलाई दाइले जिस्काउँछ ।”

हजुरबाले हाँस्दै दुवै नातिनातिनीलाई आफ्नो काखमा राख्नुभयो र भन्नुभयो- “दाजुबहिनी लड्नु हुँदैन । मिलेर बस्नुपर्छ, खेल्न पर्छ, पढ्नुपर्छ बुझ्यौ ? मिलेर बस्यो भने कसैले जित्न सक्दैन, हेप्न सक्दैन । बुझ्यौ ल । अब भन कथा सुन्छौ ?” दुबैले हजुरबाको गाला मुसार्दै भने- “सुन्ने, हजुरबा! सुन्ने ।”

त्यसपछि हजुरबाले भन्नुभयो – “ल, त्यसो भए दुवैजना कहिले पनि झगडा गर्दैनौँ भनेर भन अनि बल्ल कथा भन्छु ।”

दुवैले एकैचोटि भने- अब हामी कहिले पनि झगडा गर्दैनम् ।

हजुरबाले कथा भन्नुभन्दा पहिला खों खों गरेर खोक्दै घाँटी सफा गर्नुभयो र भन्न थाल्नुभयो – “मङ्सिरको महिना थियो । सबै किसानले धान काटेर सुकाउने काम सुरु गरिसकेका थिए । कृष्णमायाले आफ्नो घरको आँगनमा धान सुकाइन् । तिनले हातले धानलाई पातलो हुने गरेर फैलाइन् । धान सुकाएको देखेर परेवाहरू भुर्भुर गरेर धान टिप्न आउन थाले । कृष्णमायाले एउटा टप्के बिरालो पालेकी थिइन् । परेवाहरू धान खान आएको देखेर टप्के बिरालोले बेलाबेलामा म्याउँ…म्याउँ गथ्र्यो । म्याउँ म्याउँको स्वर सुन्नेबित्तिकै परेवा र चराहरू उडेर जान्थे । त्यो देखेर टप्के बिरालोलाई मजा लाग्थ्यो र उसले झन् बेसी म्याउँ म्याउँ गर्दै उनीहरूलाई झम्टने गर्न थाल्थ्यो ।

बिरालो र परेवा र चराहरूको त्यो रमिता कृष्णमायाले दिनदिनै भनेजस्तै हेरिरहन्थिन् । तिनी पनि त्यो दृश्य रमाइलो मानेर हेर्ने गर्थिन् ।

एकदिन कृष्णमायाले आँगनभरि धान सुकाइन् र टप्केलाई भनिन.्- “ए टप्के! यहीँ बसेर धानलाई हेर्दै है । आज मेरो भान्छामा काम छ ।” टप्केले पनि कुरा बुझे जस्तै गर्‍यो र थुपुक्क सुकाएको धानको अगाडि गएर बस्यो ।

केहीबेरपछि धान खान चराहरू आउन थाले । बिरालोले पहिलेको जस्तै झम्टने र म्याउँ म्याउँ गरेर धपाउने गर्न थाल्यो । एकछिनपछि त त्यहाँ परेवा र सुगाहरू पनि ओइरिएर आउन थाले । टप्के एक्लैले उनीहरू सबैलाई धपाउन सकेन । एक हुल उडेर गए अर्को हुल फेरि धान खान ओइरिन्थे । टप्केलाई पर्‍यो फसाद । ऊ म्याउँ म्याउँ गर्दै थाकेर बस्यो । त्यो बसेको देखेर भान्छाबाट भर्खर निस्केको कृष्णमायाले भनिन्- “हेर यो अल्छी टप्के! धान खुवाएर टुलुटुलु हेरेर बसिरहेछ ।” त्यसपछि तिनले छेउमा राखेको लठ्ठी लिएर चरा परेवाहरू धपाउन थालिन् । कृष्णमायाले लठ्ठी लिएर चराहरूलाई धपाएको देखेर ऊ पनि बुरुक्क उफ्रयो र चराहरूको बथानलाई धपाउन थाल्यो ।”

कथा सकेपछि लामो सास तानेर हजुरबाले भन्नुभयो- “देख्यौ त ? एकजनाले नसकेको कुरा दुईजना मिलेर धपाए । ल भन अब कथा कस्तो लाग्यो ?”

दुवैले सँगै भने- असाध्यै राम्रो ।

त्यसपछि हजुरबाले भन्नुभयो- “मेरा नातिनातिनीको नाम पनि असाध्यै राम्रो! राम्रो कामको सुरुआतलाई के भनिन्छ ? थाहा छ ?”

दुवैले ‘नाइँ’ मा टाउको हल्लाए । हजुरबाले दुवैको टाउकोमा हात राख्दै भन्नुभयो- “शुभारम्भ” – शुभ अनि आरम्भ अर्थात् शुभारम्भ । शुभको अर्थ राम्रो र आरम्भको अर्थ हो सुरु । दुवै शब्दलाई एउटैमा राखेर हुन्छ राम्रो सुरुआत । अब त बुझ्यौ ? दुवैले खुसीले ताली बजाउँदै भने -बुझेँ, हजुरबा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *